भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ जगातीमा ऐतिहासिक सम्पदा भेटिएपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम रोकिएको छ । सडकखण्ड चौडा पार्ने क्रममा जगाती क्षेत्रमा सम्पदा भेटिएपछि अध्ययनका लागि भन्दै हाल सडक विस्तारको काम रोखिएको हो । क्षेत्रस्थित सडकको दायाँबायाँ ऐतिहासिक फल्चा र हिटी छन् । ती ऐतिहासिक सम्पदा जोगाएर काम गर्नुपर्ने भन्दै स्थानीय र सम्पदाप्रेमीले सडक विस्तारको काम रोकेका हुन् ।
सम्पदा सडकको बिचमै पर्ने भएकाले त्यसको विकल्प के गर्ने भन्ने सम्बन्धमा निष्कर्ष अझै निस्किएको छैन । दायाँबायाँ रहेका ढुंगेधारा नहटाउँदा सडक साँघुरो हुने तथा अवरोध हुने सडक विभागको भनाइ छ । तर, त्यसलाई जोगाएर सडक विस्तार गर्नुपर्ने अडान स्थानीयवासी, सम्पदाप्रेमी र पुरातत्वविभागको छ ।
स्थत शिख्वं फल्चा र शिख्वं हिटी मल्लकालीन सम्पदा हुन् । हिटीमा प्रयोग भएको पुरानो इँटाले मल्लकालीन भन्ने प्रमाणित गरेको छ । सूर्यविनायक–१० मा पर्ने बाचामरी हिटी पनि सडक विस्तारको चेपुवामा परेको छ । यो सम्पदा पनि सडक विभागले अन्तै सार्नुपर्ने औँल्याएको छ । तर, सम्पदा एक ठाउँबाट अर्को ठाउँमा सार्न नमिल्ने भन्दै विरोध भइरहेको छ । बाचामरी हिटी पुनर्निर्माणका लागि वडा कार्यालयले चालू आर्थिक वर्षका लागि ८० लाख बजेटसमेत विनियोजन गरेको छ । तर, सडक विस्तारका क्रममा मासिने भएपछि वडाले काम थालेको छैन । विभाग र वडाबिच सार्ने वा त्यस ठाउँलाई छाडेर सडक विस्तार गर्ने भन्ने सम्बन्धमा सहमति जुटिसकेको छैन । गत मंगलबार हिटीमा डोजर चलाउन थालिएपछि सम्पदाप्रेमीले विरोध गरेर रोकेका छन् ।
सडक विभागले भने सडकको बीचमा भएका संरचना छाडेर सडक बनाउँदा जोखिम हुने भन्दै त्यसलाई हटाउनुपर्ने धारणा अघि सारेको छ । ‘त्यहाँ पहिले नै हेरिटेन एसेसमेन्ट गरेको हो, खन्दा इँटाहरू भेटिए, त्यसलाई अन्त सार्ने गरी हामीले कुरा गरिरहेका छौं,’ सडक विभागका महानिर्देशक विजय जैसीले भने, ‘सडकको बीचमा त्यसलाई छाडेर विस्तार गर्न मिल्दैन, थुप्रै ठाउँमा सडक विस्तार हुँदा वर पिपलका रुख त हामीले काटेका छौं, त्यहाँका सम्पदा पनि अन्यन्त्र सार्ने भन्ने सवालमा छलफल भइरहेको छ ।’
ठेकेदार कम्पनीले सम्पदामाथि नै डोजर चलाउन थालेपछि त्यसलाई रोकिएको सम्पदाप्रेमी यादवलाल कायस्थले बताए । उनका अनुसार सडकखण्डको जगाती क्षेत्रमा ढुंगेधारा र फल्चा छन् । ती ऐतिहासिक सम्पदा मासिन दिन नहुन गृह मन्त्रालय, पुरातत्वविभाग, सडक विभाग, सूर्यविनायक नगरपालिकालगायतको ध्यानाकर्षण गराइएको छ । ‘विकासका नाममा ऐतिहासिक सम्पदा मास्नुहुँदैन, त्यो सम्पदा त्यही ठाउँमा सुरक्षित राखेर सडक बनाउनुपर्छ, सम्पदा अन्त सारेर त्यस्तै बनाउँछौँ भन्नु मुर्खता हो, प्राचीन स्मारक ऐनले पनि सम्पदा सार्न दिँदैन, जहाँ छ त्यहीँ कलात्मक तरिकाले बनाउनुपर्छ, सडकको नजिकै ढुंगेधारा छ, त्यहाँ पानी आउँछ, बटुवालाई सहज हुन्छ,’ उनले भने, ‘तर, सजाउनुपर्ने सम्पदा हटाउन खोज्नु सम्पदामाथिको प्रहार हो ।’ यस क्षेत्रमा सम्पदा अन्त सारियो भने गलत नजिर बस्ने र अन्य स्थानका सम्पदा पनि यसैगरी सार्नेक्रम बढ्ने कायस्थको भनाइ छ ।