पाल्पाको माथागढी गाउँपालिका– ७, झडेवासस्थित कच्ची सडकखण्डमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । हिजो साँझ करिब ६ बजे झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गरेको लु.२ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बताए।
दुर्घटनामा परी गम्भीर घाइते भएका अर्घाखाँचीकाे शीतगंगा नगरपालिका– ४, सिठारा बस्ने वर्ष २६ का चिन्ताबहादुर सुनार, जिल्ला अर्घाखाँची शीतगंगा नगरपालिका– ४, सिठारा बस्ने वर्ष २६ का सुनिल विक र जिल्ला रुपन्देही देवदह नगरपालिका– २, खेरेनी बस्ने वर्ष २६ का सुनील नेपालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
अर्का घाइते तानसेन नगरपालिका– १०, पटुवा बस्ने ३३ वर्षीय राजन चिदीलाई थप उपचारका लागि भैरहवा पठाइएकोमा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।