पाथीभरामा भेटीको सुनचाँदी रिफाइन गरिँदै

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा भक्तजनले चढाएको भेटी फागुनमा मात्रै ३१ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ । भेटीसँगै संकलन भएको सुनचाँदी रिफाइन (प्रशोधन) सुरु गरेको छ, जसले आगामी दिनमा लिलामीमार्फत आम्दानी बढाउने तयारीसमेत देखाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा चढाइएको सुन तथा चाँदीको रिफाइन कार्य बुधबारदेखि सुरु गरेको जनाएको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार हाल करिब ६७ तोला सुन र ४३ केजी चाँदी प्रशोधन प्रक्रियामा लगिएको छ । कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २५ पुस ०८० देखि हालसम्म भक्तजनले चढाएको सुनचाँदी संकलन गरी अहिले रिफाइन गर्न थालिएको हो ।

जिल्लाकै सुनचाँदी व्यवसायीको प्राविधिक सहयोगमा यो प्रक्रिया अघि बढाइएको र करिब एक साताभित्र प्रशोधन सकिने अनुमान गरिएको छ । यसअघि रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन भने समितिले भण्डारण गरेर राखेको छ, जुन हाल लिलामी प्रक्रियामा छ । चाँदी भने अघिल्लो चरणमै लिलामी भइसकेको छ । पछिल्लो चरणमा प्रशोधन भइरहेको सुनचाँदी पनि लिलाममार्फत व्यवस्थापन गर्ने समितिको योजना छ । फागुनमा मात्रै १८ हजार ६५२ भक्तजन मन्दिर पुगेका थिए ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा संकलन गरिन्छ र सुरक्षित रूपमा लाहाछाप लगाएर फेदी हुँदै सदरमुकाम फुङलिङस्थित कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी र सिसिटिभी निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने गरिएको समितिले जनाएको छ ।

धार्मिक आस्था र आर्थिक व्यवस्थापन जोडिएको पाथीभरा अब ‘भेटी–रिफाइन–लिलामी’ मोडेलमार्फत संस्थागत आम्दानी बढाउने दिशामा अघि बढिरहेको देखिन्छ । वर्षभरि देश–विदेशबाट हजारौँ भक्तजन आउने यस तीर्थस्थलमा भेटी व्यवस्थापनलाई अझ पारदर्शी र प्रभावकारी बनाउने चुनौतीसमेत उत्तिकै देखिएको छ ।

See More On

सुझावित समाचार