बिहीबार : १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

१२ चैतमा सांसदको शपथ तय, भोलिपल्ट नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतका लागि तय गरेको छ। बिहीबार संसद् सचिवालयले दलका प्रतिनिधिहरूसँग छलफल गरेर शपथ तय गरेको हो। 

१२ गते बिहान संसद्को ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र दिउँसो २ बजे ज्येष्ठ सदस्यबाट अन्य सांसदहरूले शपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ। 

त्यसलगत्तै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदको शपथलगत्तै पार्टीले संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन  गर्नेछ। रास्वपाले एकल बहुमत ल्याएकाले संसदीय दलको नेताबारे जानकारी राष्ट्रपतिलाई गराएपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्। जसअनुसार १३ चैतमा नयाँ प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ। सर्वसम्मत रूपमा बालेन्द्र शाहलाई संसदीय दलको नेता छान्ने पार्टीको तयारी छ। 

कान्तिपुर सहकारीका अध्यक्ष तामाङविरुद्ध एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर, १३ जना प्रतिवादी

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर तामाङविरुद्ध एक अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। तामाङसहित १३ जनालाई प्रतिवादी कायम गरेर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको।

हाल केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारामा थुनामा रहेका तामाङविरुद्ध ९९ करोड ८० लाख ४८ हजार रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ। उनी तामाङ पशुपति सेभिङ कोअपरेटिभका अध्यक्षसमेत हुन्।

सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुन्छ : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष दिनु न्यायसंगत नहुने तर्क गरेका हुन्।

सभापति थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। राजीनामा स्वीकृत गर्ने नगर्ने बारे निर्णयका लागि शुक्रबार १ बजे बैठक बोलाइएको छ।

‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक । तर, यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामापत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,’ शर्माले भनेका छन्।

विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन–१ की अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी–६ की संगीता लामा र लिशंखुपाखर–७ का विनोद लामा रहेका छन्।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय प्रस्थान ह्यान्ड ब्यागेज चेकिङका क्रममा उनीहरू विदेशी मुद्रा बाहिर लैजान खोज्दै गर्दा पक्राउ परेका हुन्। उनीहरूको साथबाट क्रमशः १० हजार, १० हजार र ८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको हो।

तीनैजनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : सुमनसँग धरौटी माग, खड्कालाई साधारण तारेख

विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा विशेषमा उपस्थित दुईजनाको निवेदनमाथि आदेश गरेको छ। जसमध्ये एकजनालाई धरौटीमा राख्ने र अर्कालाई साधारण तारेखमा राख्ने आदेश भएको छ।

बिहीबार रतिशचन्द्र लाल सुमन र हरिबहादु खड्का उपस्थित भएका थिए। विशेषका अनुसार सुमनसँग पाँच लाख रुपैयाँ धरौटी मागको आदेश भएको छ भने खड्कालाई साधारण तारेख दिइएको छ। उनीहरुको निवेदनमाथि विशेषका सदस्यहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सुनुवाइ गरेको हो।

सुमन चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडसमेतबाट सम्भाव्यता अध्ययन प्रतिवेदनउपरको छलफलमा सहभागी हुनुका साथै प्रतिवेदन स्वीकार गरेका थिए। प्राधिकरण सञ्चालक समितिबाट भएको निर्णय प्रक्रियामा समेत उनको संलग्नता देखिएको थियो। उनी प्राधिकरणका तत्कालीन महानिर्देशक हुन् भने सञ्चालक समिति सदस्य सचिव समेत हुन्।

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दाको सुनुवाइ लम्बियो, महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउने आदेश

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दामा सुनुवाइ लम्बिएको छ। चार दिन लगातारको सुनुवाइपछि सर्वाेच्च अदालतले महान्यायाधिवक्ताको यससम्बन्धी पछिल्लो निर्णय झिकाउने आदेश दिएको छ। अब ९ चैतमा मुद्दाको सुनुवाई हुने भएको छ । 

न्यायाधीशहरू शारंगा सुवेदी र सुनिल पोखरेलको इजलासले २ माघमा महान्यायाधिवक्ताबाट भएको टिप्पणी आदेशको प्रतिलिपि झिकाउने आदेश दिएको हो। 

सस्तोमा विदेश घुमाउने भन्दै २ करोड ७२ लाख रुपैयाँ ठगी गर्ने ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

सस्तोमा विदेश घुमाउने प्रलोभनमा ठगी गरेको आरोपमा श्रीटेल होलिडेजका सञ्चालक पक्राउ परेका छन्। सप्तरी घर भई भक्तपुर बस्ने २६ वर्षीय विवेक रेग्मी र अन्य ६ भारतीयलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

उनीहरूले विभिन्न मलमा स्टल राखेर चिठ्ठा भराउने र सस्तो विदेश भ्रमणको चिठ्ठा परेको भन्दै झुक्याई पैसा हाल्न लगाउँथे । यसरी धेरै व्यक्तिसँग दुई करोड ७२ लाख रुपैयाँ ठगी गरिसकेको खुलेको छ। विदेश पनि नपठाउने र पैसा फिर्ता माग्दा पनि नदिएपछि पीडितहरूले उजुरी दिएका हुन्। उनीहरूले तीन सय २८ जनालाई ठगी गरिसकेको प्रहरीले जनाएको छ। 

आयोगले राष्ट्रपति पौडेलसमक्ष बुझायो निर्वाचन प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्।

श्रम स्वीकृति नलिई नेपालमा खेल्ने विदेशी खेलाडीमाथि अध्यागमनद्वारा कारबाहीको तयारी

नेपालमा सञ्चालित महिला तथा पुरुष फुटबल लिगमा श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेलाएपछि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। आजदेखि अनुगमन गर्ने र श्रम स्वीकृति नलिई खेल्नेउपर कारबाही गरिने अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए। 

विभागले बिहीबार अखिल नेपाल फुटबल संघलाई पत्राचार गरी श्रम स्वीकृति लिएर मात्र विदेशी खेलाडीलाई खेलाउन निर्देशन दिएको छ। पर्यटक भिसामा रहेर विदेशीले नेपालका फुटबल लिग खेल्दै आएको सूचनाका आधारमा विभागले छानबिन र कारबाही अघि बढाउन लागेको हो। 

भोलि दाङ–नेपालगन्ज र पर्सि विराटनगर–धरान–धनकुटा क्षेत्रमा भीषण हावाहुरीको चेतावनी

जल तथा मौसम विज्ञान विभागले शुक्रबार पश्चिम तराई र शनिबार पूर्वी तराईमा भीषण हावाहुरीको चेतावनी दिएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार  शुक्रबार अपराह्नतिर (१–२ बजेतिर) दाङ, बाँकेको नेपालगन्जसहितका क्षेत्रमा तीव्रगतिको हावा चल्ने देखिएको छ। 

शनिबार पूर्व क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उनले बताइन्। पोखरेलका अनुसार हावाको गति प्रतिसेकेन्ड झन्डै ३३ मिटर (प्रतिघण्टा ११९) किलाेमिटरका दरले चल्ने सम्भावना छ। ‘यस्तो हावाहुरीले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ,’ उनले भनिन्, ‘शुक्रबार र शनिबार सजग हुनुपर्ने देखिन्छ।’

सुझावित समाचार