चलचित्र निर्माणका नाममा सरकारी बजेट दुरुपयाेग, ढकारीका अध्यक्षसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

चलचित्र निर्माणका नाममा सरकारी बजेटको दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ढकारीका अध्यक्ष प्रकाशबहादुर साउद, निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद, आरजे ट्वान्टी फोर न्युज एवं नवइन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्सालविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले बजेट नै विनियोजन नभई अन्धपथ चलचित्र निर्माणका लागि सम्झौता गरेको, खरिद कारबाहीको तयारी नगरी ०८१/०५/१८ मा सम्झौता गरेको तथा उक्त कार्यलाई ढाकछोप गर्न ०८१/०७/०६ कार्यपालिका बैठकले सम्झौतालाई अनुमोदन गरेको, १५ लाख पाँच हजार रुपैयाँको सम्झौता विनाप्रतिस्पर्धा सोझै खरिद कार्य गरेको अख्तियारले जनाएको छ।

त्यसैगरी, कानुनले तोकेको सीमा २० प्रतिशतभन्दा बढी ३५ प्रतिशत पेस्की दिने सर्त राखी ५८ प्रतिशत पेस्की दिएको, अग्रिम पेस्की जमानत नलिई पेस्की दिन नहुनेमा बैंक जमानतविना नै पेस्की दिएको, आरजे ट्वान्टी फोर न्युजसँग सम्झौता गरी नवइन्द्रेणी फाउन्डेसनलाई भुक्तानी गरी १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।

सुझावित समाचार