पहिरोले घर पुर्‍यो, हावाहुरीले छानो उडायो, तर बेसहाराको पीडा सुनेनन् जनप्रतिनिधिले

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

सिंहदरबार गाउँ पुगेको एक दशक पुग्न लाग्यो । तर, नागरिकलाई दुःख पर्दा स्थानीय सरकार कतै नभेटिँदा अधिकार अझै सीमित ठाउँ र व्यक्तिमा रहेको पुष्टि भएको छ। विषय हो एउटा असहाय परिवारको सीमाहीन पीडाप्रति जनप्रतिनिधि कहिल्यै सुनिएनन्। बलेफी गाउँपालिका– ७, चिम्लिङबेँसी बिरौटाकी गीता पराजुलीले गत वर्षदेखि वडाध्यक्ष गृवेन्द्र चौलागाईंलाई पहिरोले पुरेको घर र हालसालै हावाहुरीले उडाएको घरको छानोबारे पटकपटक सहयोग गरिदिन आग्रह गरिन् । यद्यपि, जनप्रतिनिधि चौलागाईंले सहयोग गर्ने वचन दिएर ढाँटिरहे । 

गत साल असार ३ गते घरनजिकै पहिरो गएर आधा घर पुर्याे । बर्खाभर पराजुली परिवार गाउँलेको शरणमा बसे । दुःख गरेर पहिरो पन्छाएपछि बस्नलायक बनाएको घरको यही चैत २ गते बेलुका आएको हावाहुरीले छानो उडायो । उमेरले ५० पुगेकी गीतादेवीको श्रीमान् नवराज अपांग छन्। दुईमध्ये कान्छो छोरा पवन सुष्त मनस्थितिका छन् । जेठो छोरा खाडी मुलुक गएको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि विदेशमा रहेको छोरा पनि कामविहीन भएर सुरक्षाका लागि महिना दिनदेखि कोठामा थुनिएर बसेको छ । ‘धेरै पीडाबिच मैले घरको छानो जोड्न सहयोग गरिदिनुस् भनेर वडाध्यक्षलाई पटकपटक अनुरोध गरेँ । तर, सुनुवाइ भएन,’ गीताले भनिन् । दिनहुँ हावाहुरी आउँदा आकाशको तारा गनेर सुत्नुपरेको उनले सुनाइन् । 

सहारा दिने मानिस नभएपछि कसैले हेरेनन्– उनले अर्काे पीडा पनि यसरी सुनाइन् । पराजुली परिवारले विगत २० वर्षदेखि गाईपालन गरेर दुध बेच्छन् । घरको आयस्रोत भनेको दुध बेचेर आउने थोरै रकम हो । त्यही रकम जम्मा गरेर जेठो छोरालाई गीताले विदेश पठाइन् । कमाइ राम्रो नभएकोले विदेश जाँदा लागेको केही ऋण अझै चुक्ता भएको छैन । गाउँमा वडा सरकारले पशुपालन गर्नेलाई अनुदान र बिमा कार्यक्रम ल्यायो । तर, गीताको परिवारलाई न अनुदान दिए न त बिमा ।

‘घरमा तीन–तीनजना सरकारी जागिर र पर्याप्त धन हुनेलाई गाई र भैँसी पाल्न अनुदान दिए। बिमा गर्न सहयोग गरे। तर, मजस्तै गरिब र घरमा अपांग भएका बेसहारालाई वडाले अपमान गर्याे,’ गीताले भनिन् । घरवास नभएर आपतमा पर्दा स्थानीय सरकारले भरथेग गरेन भने यस्तो सरकार हामीलाई किन चाहियो ? उनले प्रश्न गर्दै भनिन्, ‘सुनेकी छु, ठाउँठाउँमा त स्थानीय सरकारले जनताको घर बनाएको र रोजगार दिएको । धेरै पीडा पर्दा जनप्रतिनिधिले साथ दिनुपर्नेमा उल्टै अपमान गरेकोले बाध्य भएर मिडियाको सहारा लिएको उनले बताइन् । 

वडाध्यक्ष चौलागाईंले वडामा विपतको बजेट थोरै हुने भएकोले स्थानीयको माग पूरा गर्न नसकिएको बताए । ‘बर्खामा पहिरो जाँदा पनि मैले सहयोग गरेँ । अहिले पनि प्रहरी लगेर सबै रिपोर्ट तयार गरेको छु,’ उनले भने, ‘केही दिनमा त्यहाँ पुगेर सकेको सहयोग गरौँला ।’ समयमै वडाध्यक्षले सुनुवाइ नगरेपछि नयाँ पत्रिकाले बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङसँग सम्पर्क गर्दा आफूलाई यस विषयमा थाहा नभएको बताए । ‘स्थानीयको पीडा वडाले सुनुवाइ गर्नुपर्ने हो । के भएको रहेछ, गीता पराजुलीको घरको अवस्था बुझ्न तत्काल त्यहाँ जान्छु,’ उनले भने । 

सुझावित समाचार