जनताले गरेको विश्वास जिम्मेवारीबोधका साथ निभाउन निर्देशन, अटेरी गरे पदबाटै हटाउने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिम्मेवारीबोधका साथ काम गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको दुईदिने अभिमुखीकरणको समापन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास आफूहरूमाथि गरेकाले जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिएका हुन् ।
‘नेतृत्व र जनतासँग ठुलो पर्खाल छ । कैयौँ नेताहरू जनतासँग नजिक हुनै चाहँदैनन् । किनकि उनीहरूलाई आफ्नो मान्छे हो भन्ने नै लाग्दैन । आज हामी घरघर नमस्कार गरेर पुगेका छौँ । भोलि तिनले गरेको नमस्कार नफर्काउने ठाउँमा हामी पुग्छ सक्छौँ, होसियार, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्,’ उनले भने ।
लामिछानेले अबको पाँच वर्षमा प्रत्येक दिन जनताले खुसियाली मनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘यो पाँच वर्षलाई अन्य सामान्य चुनावमा चुनिएजस्तो सोच्नुभयो भने त्यसले अप्ठेरो परिस्थिति सिर्जना गर्छ । राजनीति यस्तै हिसाबले चल्नेवाला छैन । सर्लक्कै काँचुली फेर्ने हो । यसैका लागि जनताले अभिमत दिएका हुन् । हामी कानुन बनाउन आएका हौँ । कानुन बनाउने प्रमुख जिम्मेवारी जनताले दिएका हुन् । कुन दफाले कहाँ अड्काएको छ, थाहा हुनुपर्छ । अध्ययन हुनुपर्छ,’ उनले भने ।
लामिछानेले शक्तिको दौड बन्द गर्न पनि निर्देशन दिए । ‘यसपटक शक्तिको दौड, यताउता, यसलाई भनेर हुन्छ कि, उसलाई भनेर हुन्छ कि, यसो भेटेर फोटो खिचेर हुन्छ कि, यो पसल बन्द गर्नुहोला । यसरी चल्दैन साथीहरू । कानुन निर्माताका रूपमा हाम्रो जिम्मेवारी अत्यन्त गहन छ,’ उनले भने । संविधान निर्माणको लामो समयपछि थुप्रै कानुन बन्न नसकेको, विभिन्न बाधा–अड्चन भएको भन्दै अब नेपाली जनताले कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट लगभग दुईतिहाइ बहुमत दिएकाले काम गर्नुपर्ने उनले बताए ।
लामिछानेले नागरिक सचेत भइसकेकाले आफूहरूलाई विश्वास गरेको बताए । ‘हरेक गतिविधि जनताले हेरेका हुन्छन् । कसैकसैले जनताको चेतनास्तरमा चुनौती दिन्छन्, जनता नै खराब भए भन्छन्, होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लोपटक हामीलाई २०–२१ सिट होइन, एकैपटक दुईतिहाइ दिन सक्थे । तर, जनताले यी नयाँलाई एकपटक हेरौँ, यिनीहरू नमात्तिऊन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी निमिट्यान्न नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे । तर, नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो । शक्ति प्राप्त गरिसकेपछि आँखामा आउने पट्टी हामीले खोल्न सक्नुपर्छ । होइन भने पुराना दललाई नागरिकले ३६ वर्ष कुरे । तपाई–हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैन । यो कुरामा निर्धक्क हुनुहोला । किनकि जनता अब्बल चेतनामा आएको छ,’ उनले भने ।
लामिछानेले स्वार्थ समूहबाट टाढा रहन र आफूलाई केन्द्रमा राखेर गुटबन्दी नगर्न पनि निर्देशन दिए । ‘कानुन निर्माताका रूपमा अब तपाईंहरूको दौड स्वार्थ समूहको घरघरमा होइन, गुट बनाएर कांग्रेस–एमालेलाई जितिँदैन साथीहरू हो, कुनै गुट बनाउनुपर्दैन । घन्टीका मुनि सबै अटाउन सक्छौँ, घन्टीसँग त्यति तागत छ, कहीँ गुट बनाउनुपर्दैन । र, आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसद्मा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो मकेन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देशकेन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना दलभन्दा पनि बत्तर हुन्छ,’ उनले भने, ‘त्यसकारण आफूलाई केन्द्रमा नराख्नुस् ।’ सभापति लामिछानेले पार्टीबाट निर्वाचित सहिदकी आमालाई देखाउँदै इमानदार बन्न सांसदहरूलाई निर्देशन दिए । ‘यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला । कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुअघि, एक कप चिया खानुअघि, उसको एक घुट्को पानी खानुअघि सहिदकी आमालाई सम्झिनुहोला । आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् सहिदकी आमा । सामान्य कुरा होइन,’ उनले भने ।
सभापति लामिछानेले बिचौलियाबाट सावधान हुन सांसदहरूलाई सचेत गराउँदै सामूहिक एकतामा जोड दिए । ‘यो देशमा बिचौलियागिरीको बिगबिगी छ । मैले छोटो समयको राजनीतिमा जुन देखेँ, त्यो अनुभव सुनाउँदै छु । तपाईंहरूलाई बिचलित गराउन, प्रभावित गराउन मानिसहरू दौडिन्छन् । यो देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ । हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ । अब यिनीहरूबिच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ–ठाउँबाट प्रयास भइरहेको छ । त्यस्ता ठाउँबाट बच्नुपर्छ । हामीलाई फुटाउने, गिराउनेहरूको बिगबिगी छ । हामीविरुद्ध पनि धेरै मत आएको छ । अन्य नेता छन्, प्रतिपक्षीको कमी रहँदैन । विरोधीहरूको कमी रहँदैन । फरक यति हो कि हामी कति बलियो छौँ, आफू बलियो हुनुपर्छ, अरूलाई दोष लगाएर हुँदैन । अर्काले फुटायो, विदेशीको चाल, उसको चाल भनेर हुँदैन । यस्ता शब्दलाई हामीले मेटाउनुपर्छ,’ उनले भने ।
विभिन्न पार्टीबाट आएर सांसद भएकाहरूलाई कुनै लघुताभाषमा नरहन अपिल गर्दै लामिछानेले पुरानो प्रवृत्तिबाट टक्टकिएर आउन अनुरोध गरे । देश पुरानै अवस्थामा नरहोस् भनेर कलिला भाइबहिनीले रगत बगाएको स्मरण गराउँदै उनले सहिदहरूले रगत बगाएर आएको चुनावको जनादेश ऐतिहासिक जिम्मेवारी रहेको बताए । ‘यहाँ जथाभावी अभिव्यक्ति दिने, देशलाई मनोरञ्जनको विषय बनाउने, हल्काफुल्का प्रस्तुत हुने छुट कसैलाई पनि छैन । मलाई पनि छैन । जनताले हेरिरहेका छन्, भोट दिएका जनताको शिर निहुरिने काम कसैको अभिव्यक्ति, क्रियाकलापबाट हुनुहुँदैन । प्रत्येक मतको इज्जत हुनुपर्छ,’ उनले भने ।
लामिछानेले वैदेशिक सम्बन्ध, अर्थतन्त्रजस्ता विषयमा अभिव्यक्ति दिँदा देशलाई दीर्घकालीन असर नपर्ने गरी दिन र हल्का टिप्पणीमा ख्याल गर्न निर्देशन दिए । लामिछानेले भूमिका परिवर्तन नगर्नेलाई सांसद पद छोडेर जान चेतावनी पनि दिए । ‘होइन जो–कोहीलाई अझै पनि म अभियन्ता नै हुँ, पेसाकर्मी हुँ, हिजोकै जस्तै अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ । केही पनि फरक पर्दैन,’ उनले भने, ‘तर, होइन अब म जिम्मेवार हो मेरो भूमिका फेरिएको छ, देशका कानुनहरू फेर्नुपर्नेछ, नयाँ कानुन ल्याउनुपर्नेछ, मलाई मत दिएका जनताको घरघरमा खुसियाली आउनुपर्नेछ, चुलो बल्नुपर्नेछ, प्रभाव पर्नुपर्नेछ, उनीहरूले मैलेजस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ कुनै सोर्सफोर्सविना भन्ने महसुस तपाईंहरूले गराउनुपर्छ ।’ लामिछानेले आकस्मिकबाहेक सकेसम्म आफ्नो उपचार सरकारी अस्पतालमै गराउन सांसदहरूलाई अनुरोध गरे ।
लामिछानेले काम गर्न नसक्ने, अनुशासनमा नबस्ने सांसदलाई सिट संख्या घटे पनि पार्टीले फिर्ता बोलाउने स्पष्ट पारे । ‘सरकार दुईतिहाइको छ, संख्या घट्ला, सरकार अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ,’ उनले भने । लामिछानेले स्वतन्त्रता र अनुशासनको दायरा पातलो रहेको भन्दै अनुशासनसहितको स्वतन्त्रता उपयोग गर्न सांसदहरूलाई अनुरोध गरे ।
जनताले ठुलो आशा र अपेक्षाका सात मत दिएको भन्दै त्यसको जिम्मेवारीबोध प्रत्येक दिन हुनुपर्नेमा उनले जोड दिए । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले देश बचाउ भनेको स्मरण गर्दै यो ठुलो जिम्मेवारीको महसुस सबैले गर्नुपर्ने उनको भनाइ छ । रास्वपाभित्र देशको सिंगो अनुहार रहेको, व्यवसायी, विद्यार्थी, जेन–जी पुस्ता, युवा, महिला, सीमान्तकृत समुदाय, सामाजिक अभियन्ता, कवि, कलाकार, मोडल, रोल मोडल सबैजना रहेको भन्दै सबैलाई एउटै धारमा लान अनुशासनको ठुलो खाँचो रहेको लामिछानेले बताए । नागरिकले ठुलो अभिमत दिएकाले जगेर्ना गर्नु कर्तव्य भन्दै लामिछानेले संसद्को अधिवेशन चलेको वेलाबाहेक सांसदहरूको भेट जनतासँग हुनुपर्ने, आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्न निर्देशन दिए ।
सभापति लामिछानेले पार्टीले सबैको क्षमता बुझे को र मूल्यांकन गरिरहेको भन्दै मन्त्रीको लबिङ नगर्न सांसदहरूलाई निर्देशन दिए । ‘तपाईंहरूमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर, कृपया मन्त्री बनाइदिनुस् भनेर वा मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनुहोला । किनकि अहिलेसम्म केही पनि थाहा छैन । पार्टीले क्याबिनेटमा क–कसलाई पठाउने भन्ने निर्णय आज यतिखेरसम्म गरेको छैन । पार्टीले सही निर्णय गर्छ । तपाईंले कसैलाई भन्नुपर्दैन । हामीलाई तपाईंको विज्ञता, क्षमता थाहा छ । कैयौँ साथीहरू देखिएको–देखियै गर्नुहुन्छ, कैयौँ साथीहरू छेकिएको–छेकियै गर्नुहुन्छ । पार्टीले छेकिएका साथीहरूलाई पनि हेरिरहेको छ । चर्चामा आएका र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ,’ उनले भने । अर्काे चुनावमा भोट माग्न नपाउने गरी काम गर्न उनले निर्देशन दिए ।
सभापति लामिछानेले देशको ठुलो समस्याका रूपमा रहेको सामाजिक न्यायका लागि लड्नुपर्ने बताए । भौतिक पूर्वाधारभन्दा सामाजिक न्याय नै ठुलो विकास भएको भन्दै मान्छे बस्ने समाज बनाउन सामाजिक न्यायको पैरवी गर्नुपर्नेमा जोड दिए । ‘हामी समावेशी हुन चाहन्थ्यौँ । तुलनात्मक रूपमा रास्वपाले अन्य दलभन्दा धेरै महिला साथी उठायौँ । तर, पर्याप्त होइन । म दु:खका साथ क्षमायाचना गर्दै भन्छु– हाम्रो पार्टीभित्र राई–लिम्बू समुदायको प्रतिनिधित्व प्रतिनिधिसभामा हुन सकेन । सभापतिको हिसाबले क्षमा माग्न चाहन्छु,’ उनले भने ।