भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँग सोमबार टेलिफोन संवाद गरेका छन् । मोदीले साँझ सामाजिक सञ्जाल एक्समार्फत दुई नेतासँग भएको टेलिफोन वार्ताबारे सार्वजनिक गर्दै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले करिब दुईतिहाइ नजिक सिट जितेर सरकार गठनको तयारी गरिरहेका वेला भारतीय प्रधानमन्त्रीले नेताद्वयसँग संवाद गरेका हुन् । सरकार गठनअघि नै फोनमार्फत रास्वपा नेतृत्वलाई बधाई दिने उनी पहिलो विदेशी सरकार प्रमुख बनेका छन् । मोदीले ताजा जनादेशअनुसार नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको सन्देश दिएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो । नेपालको निर्वाचनमा उहाँहरूको विजय तथा रास्वपाको प्रभावशाली सफलताप्रति दुवै नेताहरूलाई बधाई दिएँ,’ मोदीले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत र नेपालको पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि भारत प्रतिबद्ध रहेको सन्देश पनि दिएँ ।’ साथै, मोदीले थप भनेका छन्, ‘हाम्रा संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु ।’