चुनाव र सार्वजनिक बिदाका कारण पाँच दिनदेखि बन्द सेयर कारोबार सोमबार खुल्दै छ । पछिल्लोपटक गत मंगलबार अर्थात् १९ फागुनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुला थियो । २१ फागुनमा भएको चुनावका लागि सरकारले २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको थियो । त्यसपछि २३ गते शनिबार र २४ गते नारी दिवसका कारण सार्वजनिक बिदा भयो । सोही कारण करिब सोमबारदेखि भने नियमित रूपमा सेयर कारोबार खुला हुनेछ । नेप्से बन्द हुनुअघि १९ फागुनमा ३८.५२ अंकले वृद्धि भएर २७१२.४९ अंकमा रहेको छ ।
चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याइसकेको छ । योसँगै अब मुलुकले पाँच वर्षसम्मको स्थायी सरकार पाउने आशा गरिएको छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । लगानीकर्ता छोटेलाल रौनियारले आफूहरू आशावादी भए पनि अब बन्ने सरकारले उचित नीति ल्याउनुपर्ने बताए । ‘विगतमा सरकार निकै अस्थिर भयो । मुलुकले राजनेता पनि पाएन । तर, अब स्थिर सरकार आउने अवस्था बन्यो । मुलुकले राजनेता पनि पायोजस्तो छ,’ उनले भने, ‘रास्वपाले बहुमत ल्यायो भने कांग्रेस पनि सुध्रिएको जस्तो देखिन्छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्छ भन्ने अपेक्षा छ । तर, अब बन्ने सरकारले उचित आर्थिक नीति लिन आवश्यक छ ।’
रास्वपाको वाचापत्रमा सेयर बजार
रास्वपाले चुनावअघि ल्याएको वाचापत्रमा पुँजी बजारलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । लगानी संरक्षण गर्ने, नेप्से पुनर्संरचना गर्ने, इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नेलगायतका नीति घोषणा गरेको छ । यसैगरी, आइपिओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँट, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने बताएको छ ।
‘पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ । धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिनेछौँ । नेप्से र सिडिएससीको पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउनेछौँ र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्नेछौँ,’ रास्वपाको वाचापत्रमा भनिएको छ, ‘पुँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानुनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेछौँ ।’ यस्तै, पुँजी बजार कर नीति लगानीमैत्री बनाउने पनि रास्वपाको वाचापत्रमा उल्लेख छ । यसैगरी, गैरआवासीय नेपालीलाई सेयर कारोबार दिने, कमोडेटी मार्केट सञ्चालनमा ल्याउने र पुँजी बजारका उपकरणलाई विविधीकरण गर्ने घोषणा रास्वपाको छ ।
‘संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बिमा, म्युचुअल फन्ड आदि संस्थाहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्नेछौं । पुँजी बजार कर नीति स्थिर र लगानीमैत्री हुनेछन् भने ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाई पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पुँजी जुटाउने वैकल्पिक साधनको विकास गर्नेछौँ,’ रास्वपाको वाचापत्रमा भनिएको छ, ‘गैरआवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति तर्जुमा गर्नेछौँ । वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउनेछौँ । विभिन्न किसिमका फन्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास गरी पुँजी बजारलाई आधुनिक र विविधीकृत बनाउनेछौँ ।’ साना लगानीकर्ताको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने पनि रास्वपाको वाचा छ ।