१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै इन्डोनेसिया

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

इन्डोनेसिया १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल र अन्य लोकप्रिय अनलाइन प्लेटफर्ममा प्रतिबन्ध लगाउने तयारी गरेको छ । युवाहरूलाई अनलाइन दुव्र्यवहारबाट जोगाउने उद्देश्यले प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

देशका सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हाफिदले ‘उच्च जोखिम’ भएका प्लेटफर्ममा १६ वर्षमुनिका बालबालिकाका अकाउन्ट २८ मार्चदेखि निष्क्रिय पारिने घोषणा गरे ।

‘यो युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, बिगो लाइभ र रोब्लोक्सजस्ता प्लेटफर्मबाट सुरु हुनेछ,’ हाफिदले भने । प्रतिबन्धले इन्डोनेसियालाई ‘उमेरअनुसार डिजिटल ठाउँमा बालबालिकाको पहुँच ढिलाइ गर्ने पहिलो गैरपश्चिमी देश’ बनाउनेछ । प्रभावित प्लेटफर्मबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

‘हाम्रा बच्चाले बढ्दो वास्तविक खतराको सामना गरिरहेका छन् । पोर्नोग्राफी, साइबरबुलिङ र अनलाइन घोटालाको सम्पर्कदेखि लिएर लतसम्म, जुन सबैभन्दा महत्वपूर्ण चिन्ताको विषय हो,’ हाफिदले भने ‘सरकारले अब एल्गोरिदम–सञ्चालित प्लेटफर्मको विशाल समूहविरुद्ध एक्लै लड्नु नपरोस् भनेर कदम चालिरहेको छ ।’

बालबालिकाको परोपकारी संस्था युनिसेफले २०२३ मा रिपोर्ट गरेको थियो कि सर्वेक्षण गरिएका ५१० इन्डोनेसियाली बालबालिकामध्ये लगभग आधाले सामाजिक सञ्जालमा यौन तस्बिरको सामना गरेका थिए ।

‘दुई बच्चा, विशेषगरी किशोर छोराको साथ काम गर्ने आमाको रूपमा मेरो छोराले डिजिटल संसारमा के गरिरहेको छ भनेर निरन्तर निगरानी गर्न मसँग धेरै समय छैन,’ ४२ वर्षीया अमान्डा कुसुमोले प्रतिबन्धको समाचारको प्रतिक्रियामा बिबिसीलाई भनिन् ।

‘यस्ता सरकारी नियमसँगै यसले अभिभावकको रूपमा हाम्रो चिन्तालाई कम गर्न मद्दत गर्छ,’ उनले भनिन्, ‘म विश्वस्त छु कि सरकारको निर्णयले अन्तत: बालबालिका र अभिभावक दुवैका लागि सकारात्मक फाइदा ल्याउनेछ ।’ अमान्डाका १७ वर्षीय छोरा म्याट जोसेफले प्रतिबन्धको पक्ष र विपक्ष दुवै तर्क देखेको बताए ।

यसैबिच, इन्डोनेसियाको बाल संरक्षण एजेन्सीले सरकारका योजनाको अध्ययन नगरेसम्म यसमा टिप्पणी गर्न नसकिने बताएको छ । नीति अनुसन्धान तथा वकालत संस्थान (इएलएसएएम) का नुरुल इज्मीले नियमनको अन्तिम मस्यौदामा पहुँच गर्न सकेनन्, तर सामान्यतया बालबालिकाको सुरक्षा भनेको उमेर प्रतिबन्ध मात्र होइन भन्ने कुरा औँल्याउँदै युरोपेली संघले बालबालिकालाई लक्षित गरी प्रोफाइलिङ विज्ञापनमा प्रतिबन्ध लगाएको कुरा औँल्याए । 

सुझावित समाचार