- सरकार बनाउन मधेशको जनमत निर्णायक मानिन्छ, तर रास्वपाले १६ सिट जितिसकेको छ भने अन्य क्षेत्रमा पनि जितउन्मुख छ
प्रत्यक्षतर्फ नै बहुमतनजिक पुगेको रास्वपा मधेश प्रदेश नै क्लिन स्विपउन्मुख छ । संघ सरकार बनाउन मधेशको जनमत निर्णायक मानिन्छ । ३६ लाख ३६ हजार मतदाता रहेको मधेशमा आठ जिल्ला, ३२ निर्वाचन क्षेत्र छन् । तर, रास्वपा १६ क्षेत्रमा विजयी भइसकेको छ भने बाँकी १६ वटा क्षेत्रमा जितउन्मुख छ ।
धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि मत उनलाई नै धेरै रहेको स्रोत बताउँछ । यद्यपि, मतपरिणाम सार्वजनिक गरिएको छैन ।
०७९ को प्रतिनिधिसभा चुनावमा यो प्रदेशमा एमालेले नौ, कांग्रेसले सात, जसपाले ६, लोसपाले तीन र अन्य साना दल र स्वतन्त्रले सात सिट जितेका थिए । तर, यसपटक मधेश प्रदेशका निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले मात्र होइन मधेशकेन्द्र्रित दल जसपा, जनमत पनि प्रतिस्पर्धामा छैनन् ।
सार्वजनिक नतिजाअनुसार सप्तरी ४ मा सीताराम साह, सिराहा ४ मा तपेश्वर यादव, धनुषा ३ मा मनीष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो र महोत्तरी २ मा दीपककुमार साह विजयी भएका छन् । त्यस्तै, सर्लाही १ मा नितिमा भण्डारी (कार्की), २ मा रबिन महतो, रौतहट १ मा राजेशकुमार चौधरी र ४ मा गणेश पौडेल विजयी भएका छन् ।
त्यस्तै, बारा १ मा गणेश धिमाल, ३ मा अरविन्द्र साह, ४ मा रहवर अन्सारी, पर्सा १ मा वुद्धिप्रसाद पन्त, पर्सा २ मा सुनीलकुमार कानू र ४ मा टेकबहादुर शाक्य विजयी भएका छन् ।
धनुषा ३ बाट निर्वाचित भएका रास्वपा प्रवक्ता मनीष झाले मधेशका मतदाताले दिएको जिम्मेवारीलाई पूरा गर्न डेलिभरीमा जोड दिने बताए । ‘परिवर्तनको उद्घोषमा हामीले देखेको कुरा प्रमाणित भयो,’ झाले भने, ‘मधेशको नाउँमा राजनीति धेरै भयो । हामीले मधेशलाई अधिकार दिने नाउँमा क्याम्पेनिङ गर्यौँ, सफल भयो ।’
रास्वपाले चुनावी सभा पनि मधेशबाट सुरु गरेको थियो । मनोनयन दर्ताको अघिल्लो दिन ५ माघमा जनकपुरधाममा परिवर्तन उद्घोष सभा आयोजना गर्दै रास्वपाले चुनावी अभियान थालेको थियो । त्यहाँ रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गरेपछि मधेशको चुनावी माहोल रास्वपातिर मोडिएको विश्लेषण गरिएको छ ।
मधेश मामिलाका जानकार रोशन जनकपुरीले रास्वपाप्रति देशभरिमा देखिएको लहर मधेशमा पनि कायम रहेको बताए । ‘यो मधेश राजनीतिको एजेन्डा पराजित भएको छ । नेपालको राजनीतिमा नयाँ मोड लिएको छ,’ उनले भने ।
डा. नरेश मण्डलले स्थिरताका लागि मधेशले रास्वपालाई मत दिएको बताए । ३३ वर्षीय युवा रहेका मण्डलले भ्रष्टाचारमुक्त देश र सेवाप्रवाहलाई प्राथमिकतामा राख्न नैै मधेशमा रास्वपाको पक्षमा मतदान भएको बताए ।
मधेशमा देखिएको लहरले परिवर्तनप्रतिको धारणालाई उजागर गरेको अर्थशास्त्री इन्दुशेखर मिश्रले बताए । पुरानो सत्ताले सेवाप्रवाहमा काम गर्न नसक्दा देशले नयाँ अवसर खोजिरहेको वेलामा रास्वपालाई देखेको उनको भनाइ छ ।
कांग्रेस सभापति नै धरापमा
कांग्रेस सभापति गगनकुमार थापा यसपटक चुनाव लड्न काठमाडौंबाट सर्लाही ४ पुगे । तर, उनीमाथि रास्वपाका अमरेशकुमार सिंह भारी पर्दैै छन् ।
जनमतका अध्यक्ष सिके राउतले ०७९ को चुनावमा सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । तर, अहिले त्यही क्षेत्रमा रास्वपाका रामजी यादव जितउन्मुख छन् । दोस्रोमा जसपाका उमेशकुमार यादव हुँदा राउत तेस्रोमा छन् ।
राउतसँग हारेपछि निर्वाचन क्षेत्र परिवर्तन गरेका जसपा अध्यक्ष सिके राउत सप्तरी ३ मा उम्मेदवार बने । तर, त्यहाँ पनि रास्वपाका अमरकान्त चौधरी दोहोरो मतान्तरले अगाडि छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्न सर्लाही ३ पुगे । तर, त्यहाँ पनि रास्वपाका नरेन्द्र साह कलवार उनीभन्दा तेहेरो मतान्तरले अगाडि छन् ।
पूर्वमन्त्रीसमेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह रौतहट ३ मा जितका लागि संघर्ष गरिरहेका छन् । यहाँ रास्वपाका रवीन्द्र पटेलले जसपाका गोविन्द चौधरीलाई दोब्बरले पछाडि छाडेका छन् । साह तेस्रोमा छन् ।
पराजित भए ठुला नेता
मधेशमा ठुला नेताहरू पराजित भएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधवकुमार नेपाल रौतहट १ मा पराजित भएका छन् । रास्वपाका राजेश चौधरी विजयी हुँदा नेपाल चौथो रहे ।
धनुषा ३ मा रास्वपा प्रवक्ता मनीष झाले कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका छन् । एमाले नेतृ जुलीकुमारी महतो तेस्रोमा खुम्चिन पुगिन् ।
महोत्तरी १ मा रास्वपाकै प्रमोदकुमार महतोले नेकपाका गिरीराजमणि पोखरेल र एमालेका लक्ष्मीमहतो कोइरीलाई हराएका छन् । सर्लाही २ मा रास्वपाका रविन महतोले नेकपाका महिन्द्रराय यादवलाई हराएका छन् ।
कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा ३ मा पराजित भएका छन् । त्यहाँ रास्वपाका अरविन्द्र साहले जितेका छन् ।
जसपा छाडेर एमालेबाट चुनाव लड्न पुगेका पूर्वमन्त्री प्रदीप यादव पर्सा १ बाट पराजित भएका छन् । त्यहाँ रास्वपाका वुद्धिप्रसाद पन्तले चुनाव जिते । रास्वपाका सीताराम चौधरीले सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीलाई पराजित गरेका छन् ।
उम्मेदवारी खारेज हुँदा पनि मत पाए साहले
धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनले नै अग्रता लिइरहेका छन् । मतगणना जारी छ । तर, मतपरिणाम सार्वजनिक गरिएको छैन ।
निर्वाचन आयोगको निर्णयअनुसार रास्वपाको चुनाव चिह्न घन्टीमा मत परेको मतपत्रलाई गणना गरेर छुट्टै अभिलेखमा राखिँदै छ ।
बैंकको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले १८ फागुनमा साहको उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजविरुद्धको रिट सर्वाेच्च अदालतमा विचाराधीन छ । यहाँ एमालेका रामचन्द्र मण्डल, कांग्रेसका रामपल्टन साहलगायत उम्मेदवार छन् ।