जेन–जी आन्दोलनमा भएको दमन र सिंहदरबारलगायत सरकारी संचरनामा क्षति पुर्याउने कार्यको विरोध गर्दै आफूलाई सुशासन र परिवर्तन पक्ष र शक्तिका रूपमा उभाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि अनपेक्षित धक्का खाएको छ । माओवादी र एकीकृत समाजवादलगायत २२ पार्टी मिलेर बनेको नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुँदा सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेता पराजित भएका छन् ।
गत निर्वाचनमा नेकपाले प्रत्यक्षमा माओवादी र एकीकृत समाजवादीको गरी कुल ४२ सिट जितेको थियो । त्यतिवेला कांग्रेससहितको गठबन्धन थियो । यो निर्वाचनमा भने सात सिट जित्ने स्थिति देखिएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र महिन्द्र राय यादवलगायतले पनि चुनाव हारेका छन् ।
वर्षमान पुन रोल्पाबाट निर्वाचित भएका छन् । महेन्द्रबहादुर शाही कालीकोटबाट निर्वाचित भए । रमेश मल्ल (सल्यान), गोपाल शर्मा (रुकुम पश्चिम), युवराज दुलाल (सिन्धुपाल्चोक २), धनबहादुर बुढा डोल्पाबाट विजयउन्मुख छन् । संसद्मा ६० प्रतिशतभन्दा बढी पुगेका वामपन्थी दल अहिले कमजोर बनेका छन् ।
निर्वाचन परिणाम अपेक्षाकृत नरहेको र यसमा ‘पोलिटिकल वेभ’ले असर गरेको नेकपा नेताहरूको प्रतिक्रिया छ । ‘मुख्य त पोलिटिकल वेभले काम गर्यो । नयाँ र पुरानाको भाष्य खडा गरियो । पुरानालाई हेरियो, नयाँलाई हेर्नुपर्छ भनेर भाष्यको असर नेकपामा पनि पर्यो,’ नेकपा नेता लीलामणि पोखरेलले भने, ‘जेन–जी आन्दोलनमा उठाइएको सुशासन, सामाजिक न्याय, रोजगारी र समृद्धिको एजेन्डा हाम्रो थियो । मूल मुद्दा हामीले नै उठाएका थियौँ ।’
उनले भूराजनीतिक स्थिति दुरुपयोग गर्ने भूमण्डलीय राजनीतिक चलखेल पनि निर्वाचन हारको कारण रहेको दाबी गरे । राजनीतिक ध्रुवीकरणको प्रक्रियामा रहेको र त्यसको परिणाम आउन केही समय लाग्ने नेकपाको बुझाइ छ । ‘हामी राजनीतिक ध्रुवीकरणको प्रक्रियामै छौँ । फरक राजनीतिक दल र समूह समाहित भएको हो । यसले परिणाम निकाल्न केही समय लाग्छ । यो ध्रुवीकरण अझै अघि बढ्छ र आगामी दिनमा परिणाम ल्याउँछ,’ पोखरेलले भने ।
जेन–जी आन्दोलन हुँदा नेकपा (तत्कालीन माओवादी, एकीकृत समाजवादी प्रतिपक्षमा थिए । जेन–जी आन्दोलनपछि पार्टी एकता भयो र नेकपा बन्यो । त्यसमा विभिन्न २२ दल र समूह थपिए । तत्कालीन सरकारले गरेको गलत गतिविधिको निराशा र आक्रोशको असर नेकपामाथि पनि परेको उनी बताउँछन् । निर्वाचनको परिणाम स्विकारेर अगाडि बढ्नुको विकल्प नभएको उनी बताउँछन् । ‘निर्वाचन परिणाम स्वीकार गर्नुपर्छ । परिणामले गम्भीर ढंगको राष्ट्रिय बहस खडा गरेको छ । नयाँ ढंगको असर पार्ने देखिएको छ,’ उनले भने, ‘नयाँ राजनीतिक शक्तिको समग्र नीति र कार्यक्रम हेर्छौँ र अगाडि बढ्छौँ ।’