मनाङबाट कांग्रेसका गुरुङ तेस्रो कार्यकालका लागि निर्वाचित

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

हिमालपारिको जिल्ला मनाङबाट नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङ सुवेदीलाई एक हजार ९६१ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनले दुई हजार ४१५ मत ल्याउँदा सुवेदीले ४५४ मत मात्र पाइन्। अर्का उम्मेदवार मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले जम्मा नौ मत मात्र पाए । यहाँ एमाले र रास्वपाका उम्मेदवार थिएनन्।  जिल्लामा सात हजार मतदाता रहेकोमा ४२.८६ प्रतिशत मत खसेको थियो ।

जितसँगै तेस्रोपटक संसदीय यात्रा तय गरेका गुरुङ यसअघि ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएकोमा ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मतान्तरले पराजित भएका थिए । ०७९ को निर्वाचनमा उनी दुई हजार ५७५ मत ल्याएर विजयी भएका थिए ।

भ्रष्टाचार आरोपमा मुद्दामा दोषी ठहर 
निर्वाचित गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । समाज कल्याण परिषद्सँग लिजमा लिइएको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ ०७५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकोमा १६ फागुन ०७९ मा अदालतले उनीसँगै अन्यलाई दोषी ठहर गरेको थियो ।

भ्रष्टाचार आरोपमा दोषी ठहर भएपछि उनी निलम्बनमा परेका थिए । निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएकोमा १६ चैत ०८० मा उनको सांसद पद निलम्बन नहुने फैसला सुनाएपछि उनको निलम्बन फुकुवा भएको थियो । उनको मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

गोलाप्रथापछि पाएका थिए एमालेको समर्थन  

उनले ९ माघमा भएको गोलाप्रथापछि नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिं गुरुङको साथ पाएका थिए । उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका गुरुङलाई सघाउने निर्णय भएको थियो ।

भ्राताङमा भएको भेलामा तीन उम्मेदवारबिचमा सहमति नजुटेपछि लामा गुरुहरूको आग्रहपछि उनीहरूकै  रोहवरमा ९ माघमा ‘चिट्ठा’ थुत्ने निर्णय भेलाले गरेको थियो । ‘चिट्ठा’ कांग्रेसका उम्मेदवारलाई परेपछि उनीहरू दुईजना पछि हटेका थिए ।

‘चिट्ठा’मार्फत लेनदेन मिलाइएको मनाङमा प्रतिनिधिसभा सदस्यको छिनोफानाेसँगै अब हुने प्रदेश सभाको निर्वाचनमा भने जिल्लाको दुवै क्षेत्र कांग्रेसले एमालेलाई छाड्नुपर्ने सहमति भएको थियो । दुवै निर्वाचनका लागि भनी ‘चिट्ठा’ थुतिएकाले अब हुने प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार नउठाई एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी ९ माघको भेलाले निर्णयसमेत गरेको थियो । निर्वाचनका समय हुन सक्ने झैझगडालगायतका कुराहरू देखाउँदै लामागुरुहरूले उम्मेवारहरूलाई सहमतिमा ल्याउने प्रयासपछि ‘चिट्ठा’मार्फत अन्तिम निर्णय गरेका थिए ।
 

सुझावित समाचार