काठमाडौं ५ मा एमाले पाँचौँ र कांग्रेस चौथो जितको खोजीमा छन् । उनीहरूलाई रास्वपाले कडा चुनौती दिइरहेको छ । ०७९ को निर्वाचनमा कांग्रेसका प्रदीप पौडेलले जित निकाल्दा एमालेका ईश्वर पोखरेल निकटतम प्रतिद्वन्द्वी थिए । निर्वाचनमा तेस्रो मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा रास्वपाले सबैभन्दा धेरै समानुपातिक मत पाएको थियो । त्यसबेला चौथो मत ल्याएको राप्रपाले पूर्वअध्यक्ष कमल थापालाई प्रतिस्पर्धामा उतारेको छ । काठमाडौं उपत्यकामा हेभिवेट नेताबिच भिडन्त भइरहेको निर्वाचन क्षेत्र पनि यही हो । यस क्षेत्रमा ७८ हजार ११४ जना मतदाता छन् ।
०४८ देखि ०७९ सम्मको सातपटकको निर्वाचनमा चारपटक एमाले र तीनपटक कांग्रेसले यो क्षेत्रबाट जित निकालेका छन् । एमालेबाट ०४८ मा पद्मरत्न तुलाधर, ०५१ र ०५६ मा तत्कालीन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारी र ०७४ मा ईश्वर पोखरेल विजयी भएका थिए । कांग्रेसबाट ०६४ र ०७० मा नरहरि आचार्य र ०७९ मा प्रदीप पौडेलले जित हासिल गरेका थिए । ०७९ को निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मत पाएर विजयी भएका थिए भने एमालेका पोखरेलले १० हजार १९० मत ल्याएका थिए । रास्वपाका डा. प्रणयशमशेर राणाले पाँच हजार ४७७ मत प्राप्त गरेका थिए । राप्रपाका रामप्रसाद उप्रेतीले तीन हजार १६२ मत पाएका थिए । यसपटक प्रमुख दल, अन्य दल र स्वतन्त्रसहित २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपाल कम्युनिस्ट पार्टीकी कल्पना शर्मा, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, गतिशील लोकतान्त्रिक पार्टीबाट निशा अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अशोकविक्रम जिसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विष्णु श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट मिरा गुरुङ, संयुक्त नागरिक पार्टीबाट श्यामकाजी सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का निमेश खनाल, जय मातृभूमि पार्टीबाट वसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट ज्ञानेन्द्र प्रजापति, त्रिमूल नेपालबाट रमेश तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) (एकल चुनाव चिह्न)बाट युवराज काफ्ले, आम जनता पार्टी (एकल चुनाव चिह्न)बाट कोमल पौडेलले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा क्यामुना मिजार, ढकबहादुर कार्की, धर्म डंगोल, प्रभा श्रेष्ठ र रमिता सापकोटा छन् ।
काठमाडौं ५ मा महानगरपालिकाका चारवटा वडा (वडा नम्बर २, ३, ४ र ५) समेटिएको छ । गत स्थानीय निर्वाचनमा यी चारैवटा वडा एमालेले जितेको थियो । ०७४ मा पनि ती वडा एमालेले नै जितेको थियो । त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत ३, ४, ५, ६ र ७ वडा पनि यस क्षेत्रमै पर्दछन् । यीमध्ये ३ नम्बर वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए भने ४ र ५ कांग्रेस तथा ६ र ७ एमालेले जितेका थिए ।
टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडामध्ये नगर प्रमुखसहित वडा नम्बर २, ३, ४, ५, ७ नम्बर एमालेले तथा उपप्रमुखसहित ६ नम्बर वडा कांग्रेसले जितेको थियो । पछिल्लो स्थानीय चुनावमा १५ वटा वडामध्ये ११ वटा एमालेले र तीनवटा कांग्रेसले तथा एउटा मात्र स्वतन्त्रले जितेका कारण पनि एमालेको प्रभाव क्षेत्रका रूपमा मान्न सकिए पनि पछिल्लो संसदीय निर्वाचनमा एमालेले धक्का व्यहोरेको छ ।
कांग्रेस उम्मेदवार पौडेलले सांसद निर्वाचित भएर आफूले क्षेत्रमा गरेको काम, पार्टीलाई रूपान्तरण गर्न खेलेको भूमिका, परिपक्व पार्टीको नयाँ एजेन्डा र राष्ट्रिय योगदान नै विजयीको आधार भएको बताए । ‘निर्वाचित भइसकेपछि मैले क्षेत्रको विकासमा खेलेको भूमिका प्रस्टै छन्, हामीले पार्टीलाई पनि रूपान्तरण गरेर देश बदल्न खोजिरहेकाले एजेन्डाहरू पनि प्रस्ट रूपमा सार्वजनिक गरेका छौँ,’ उनले भने, ‘त्यसैले नीति र नेतृत्व अद्यावधिक गर्दै प्रस्ट एजेन्डाका साथ रूपान्तरित पार्टीका रूपमा मतदातामाझ गएका कारण जनतामा भरोसा बढेको छ, अरू पार्टीभन्दा ज्येष्ठ पार्टीका रूपमा उठाएका एजेन्डा र परिपक्वतालाई मतदाताले रुचाउनुभएको छ, त्यसैले पुनः विजयी गराउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।’
एमाले उम्मेदवार पोखरेलले जनप्रतिनिधि हुँदा या नहुँदा ४० वर्षदेखि क्षेत्रको विकास निर्माणदेखि सामाजिक सम्बन्धहरूमा नजिकबाट जोडिएका कारण मतदाताले आफ्नो उम्मेदवारीप्रति नै सकारात्मक प्रतिक्रिया जनाइरहेकाले पनि जितप्रति विश्वस्त रहेको बताए । ‘पहिलो, जनप्रतिनिधि हुँदा या नहुँदा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको फेहरिस्त क्षेत्रभित्रका सबैतिरका मतदातालाई राम्रोसँग थाहा छ, दोस्रो– अरू कतिपय उम्मेदवारजस्तो मतदाता नामावली पनि यहाँ नभएको म टुरिस्ट उम्मेदवार होइन । ४० वर्षदेखि यही क्षेत्रमा कहिले उम्मेदवार त कहिले राजनीतिक कामका हिसाबले मात्र होइन, सामाजिक सम्बन्धका हिसाबले पनि नजिकबाटै जोडिँदै आएकाले जनताले अपार माया गरिरहनुभएको छ,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा मैले खेल्दै आएको भूमिकाबारे पनि मतदाताबाट राम्रै प्रतिक्रिया पाइरहेका कारण विजयी बन्ने कुरामा आशावादी मात्र होइन, म पूर्ण विश्वस्त छु ।’
रास्वपाका उम्मेदवार सस्मित पोखरेल समानुपातिकतर्फको पछिल्लो निर्वाचनको पहिलो मत, वैकल्पिक शक्तिहरू जन्मिएको क्षेत्र र आफू स्थायी बासिन्दा पनि भएकाले जित्ने आधार बलियो रहेको बताउँछन् । ‘संगठन बनेर विस्तारित नहुँदा पनि अघिल्लो निर्वाचनमा हामीले यो क्षेत्रमा पहिलो मत ११ हजार पायौँ, अहिले त संगठन पनि विस्तारित भइसकेको छ, अर्को यो वैकल्पिक नयाँ शक्ति जन्मिएको र तत्कालीन विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय रहेको क्षेत्र पनि हो,’ उनले भने, ‘म यहीँ सुकेधारा ४ नम्बर वडाको स्थायी बासिन्दा हुँ, यहीँ हुर्किएँ, ७८ हजारमध्ये सबैभन्दा बढी मेरै वडामा २० हजार मतदाता हुनुहुन्छ, लाजिम्पाट, टोखा, हाँडीगाउँलगायत क्षेत्रबाट पनि राम्रै सपोर्ट रहेकाले म विजयी हुन्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु ।’ राप्रपा उम्मेदवार कमल थापाले स्थानीय मुद्दासँगै राष्ट्रियता र भ्रष्टाचार नियन्त्रणका लागि हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको विषयलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचार गरिरहेका छन् ।
नेकपा उम्मेदवार कल्पना शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन तथा रास्वपाका उम्मेदवार पोखरेलले उत्तरदायित्व, पारदर्शिता र प्रत्यक्ष संवादमार्फत जवाफदेही प्रतिनिधित्व स्थापित गर्ने गरी सार्वजनिक सुनुवाइ गर्नेलगायत सवाललाई प्राथमिकतासाथ उठाएर चुनावी प्रचार गरिरहेका छन् । काठमाडौंको बाहिरी चक्रपथ क्षेत्रको वसुन्धरा, सामाकोशीसँगै टोखा हुँदै उत्तरतिरको शिवपुरी निकुञ्जको जलाधारसम्मको भौगोलिक क्षेत्र यस क्षेत्रभित्र पर्दछ ।
उम्मेदवारहरूको आ–आफ्नै दाबी
प्रदीप पौडेल, कांग्रेस उम्मेदवार
नीति र नेतृत्व अद्यावधिक गर्दै प्रस्ट एजेन्डाका साथ रूपान्तरित पार्टीका रूपमा मतदातामाझ गएका कारण जनतामा भरोसा बढेको छ । अरू पार्टीभन्दा ज्येष्ठ पार्टीका रूपमा उठाएका एजेन्डा र परिपक्वतालाई मतदाताले रुचाउनुभएको छ, त्यसैले पुनः विजयी गराउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।
ईश्वर पोखरेल, एमाले उम्मेदवार
४० वर्षदेखि यही क्षेत्रमा कहिले उम्मेदवार त कहिले राजनीतिक कामका हिसाबले मात्र होइन, सामाजिक सम्बन्धका हिसाबले पनि नजिकबाटै जोडिँदै आएकाले जनताले अपार माया गरिरहनुभएको छ । राष्ट्रिय राजनीतिमा मैले खेल्दै आएको भूमिकाबारे पनि मतदाताबाट राम्रै प्रतिक्रिया पाइरहेकाले विजयी हुनेमा पूर्ण विश्वस्त छु ।
सस्मित पोखरेल, रास्वपा उम्मेदवार
संगठन बनेर विस्तारित नहुँदा पनि अघिल्लो निर्वाचनमा हामीले यो क्षेत्रमा पहिलो मत ११ हजार पायौँ, अहिले त संगठन पनि विस्तारित भइसकेको छ, अर्को यो वैकल्पिक नयाँ शक्ति जन्मिएको र तत्कालीन विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय रहेको क्षेत्र पनि भएकाले निर्वाचित हुनेमा आशावादी छु ।
कमल थापा, राप्रपा उम्मेदवार
हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना, भ्रष्टाचारको अन्त्य र सुशासनका माध्यमबाट आर्थिक समृद्धिको एजेन्डा नै मेरो जितको मुख्य आधार हो । यिनै एजेन्डामा जनताको राम्रो रेस्पोन्स पाएको छु, उहाँहरूले स्पष्ट एजेन्डा बोक्ने पार्टी राप्रपालाई परिवर्तनका पक्षमा मत दिएर मलाई विजयी गराउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
मतदाताका मुद्दा : खानेपानी, अव्यवस्थित बस्ती र स्वास्थ्यसम्बन्धी पुरानै सरोकार
काठमाडौं ५ मा अनियमित खानेपानी, दोस्रो चरणको चक्रपथ विस्तारका कारण अव्यवस्थित र धुलाम्य सडक, स्वास्थ्य र गुणस्तरीय शिक्षाको पहुँचजस्ता परम्परागत मुद्दा नै मतदाताले मुख्य समस्या रहेको बताएका छन् । ‘भौतिक पूर्वाधारतर्फ टोखा सुरुङमार्ग र विष्णुमती, टुकुचा खोलाआसपास हरियालीसहितको करिडोर निर्माण अघिल्ला निर्वाचनदेखिकै मुख्य मुद्दा हो ।
६ किमि सुरुङबाट नुवाकोट जोडिँदा १५ मिनेटमै आवतजावत गर्न सकिने मात्र होइन, सम्पूर्ण उत्पादन बजारीकरण हुने, काठमाडौंको बाक्लो जनघनत्वलाई विस्तार गर्न सकिने पनि उत्तिकै सम्भावना छ,’ टोखाका स्थानीय बुद्धिजीवीसमेत रहेका डा. दीपेन्द्र श्रेष्ठले भने, ‘गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जनताको सरल पहुँचजस्ता सामाजिक मुद्दा, बेरोजगारी समस्याको समाधान तथा आर्थिक सामाजिक मुद्दा पनि यस क्षेत्रका केही मुख्य समस्या हुन् ।’ उनले टोखा क्षेत्रको लिच्छविकालीन संस्कृति, मठमन्दिर, जात्राको संरक्षण, बुढानीलकण्ठलाई पशुपतिजस्तै धार्मिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्ने, दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत मुआब्जाको समस्या समाधान तथा खानेपानी समस्या समाधानका विषयमा पनि जनताको प्रत्यक्ष सरोकार रहेको जानकारी दिए ।
वसुन्धाराका मतदाता केशव रायमाझीले भने टिचिङजस्ता ठुला सरकारी अस्पताल हुँदाहुँदै पनि सेवाग्राही महँगो शुल्क तिरेर निजी अस्पताल धाउनुपर्ने समस्या रहेको भन्दै अब जित्ने उम्मेदवारले समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘टिचिङजस्ता सरकारी हस्पिटल भए पनि जनताको सहज पहुँच नभएर निजी अस्पतालमै धाउनुपर्ने बाध्यता छ । मेलम्ची खानेपानीको पाइप जोडिए पनि खासगरी वसुन्धारा क्षेत्रमा हप्तामा एक दिनबाहेक पानी आउँदैन । टिचिङपछाडि, धोबीखोला किनार र रानीबारी क्षेत्रको सुकुमवासीको स्थानान्तरण र मागको यथोचित सम्बोधन भएको छैन । यसबाहेक सर्वसुलभ र गुणस्तरीय शिक्षा र रोजगारीका समस्या पनि प्रमुख समस्याकै रूपमा रहेका छन्,’ रायमाझीले भने ।
महाराजगन्जका मतदाता रवीन्द्र श्रेष्ठले मेलम्ची खानेपानीमार्फत अनियमित खानेपानीको समस्या सम्बोधन हुनुपर्ने नै प्रमुख सवाल रहेको बताए । ‘चक्रपथ विस्तार भइनसक्दा सडक जाम र धुलोको समस्या छ । हप्तामा कति दिन मेलम्चीको पानी आउने कुनै टुंगो छैन । रोजगारीको आम समस्या छँदै छ,’ उनले भने । तर, पहिलेभन्दा हावादारी कुराभन्दा पनि यसपटकको निर्वाचनबाट जनताका सवाल सुन्ने परिपाटी सबै पार्टीका उम्मेदवारमा देखिनु सकारात्मक रहेको उनको भनाइ छ ।
‘उम्मेदवारहरूमा अब हावादारी कुरा गरेरभन्दा पनि वास्तविक समस्या पहिचान गरेर, तलका कुरा सुनेर जानुपर्छ भन्ने सचेतना आएको देखिन्छ । त्यसैले सबै टोलमा कोणसभा गर्नेभन्दा पनि अहिले खासगरी युवाहरूलाई अलि केन्द्रित गरेर उनीहरूसँग अन्तक्र्रिया गर्ने, समस्या सुन्ने काम उम्मेदवारहरूले गरिरहेका छन्,’ उम्मेदवारहरूको चुनावी प्रचार शैलीको अनुभव सुनाउँदै उनले भने ।
टोखाका सत्यनारायण डंगोलले सरकारी सेवालाई पारदर्शी र चुस्त–दुरुस्त बनाउने सवालदेखि युवापुस्तामा खस्किँदंै गएको सांस्कृतिक विचलन सामाजिक समस्या र मुद्दाका रूपमा देखिएको भन्दै त्यसलाई समाधान गर्ने नेतालाई मात्र मत दिन सकिने बताए । ‘नापी, मालोपतलगायत जनता प्रत्यक्ष जोडिने सरकारी निकायले गर्ने औचित्यविनै ढिलाइ, आलटालमाथि अनेकन् प्रश्न छन्, अनियमितताको गुनासा कर्मचारीतन्त्र परिवर्तन नहुनु अहिलेको प्रमुख समस्या हो,’ डंगोलले भने, ‘अर्कोतिर सामाजिक रूपमा सांस्कृतिक मूल्य–मान्यता खस्किँदै गएको छ । खासगरी युवा पुस्ता सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण सूचनाका पछि कुद्ने, अग्रजलाई सम्मान नगर्ने, कुरै नसुन्ने, अमुक विषय उठाएर मर्यादा नाघेर असभ्य र अशिष्ट भाषा र शैलीमा गालीगलौज गर्ने प्रवृत्ति टोलटोलमा हुर्किन लागेकाले कतै समाज अराजकतातिर त गइरहेको होइन भन्ने महसुस गरेका छौँ । यसको समाधान पनि उम्मेदवारहरूले राजनीतिक तहबाट पनि खोज्नुपर्ने देखिन्छ ।’