उच्चपदस्थलाई धम्क्याएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग निकटता देखिएको छ । बयानका क्रममा अधिकारीकै निर्देशनमा आफूले विभिन्न व्यक्तिलाई विदेशबाट धम्क्याएको बताएका छन् । पाठकलाई गत २८ माघमा नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी ल्याएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका उच्चपदस्थलाई उनले विदेशबाटै इमेल पठाएर धम्की दिनुका साथै सामाजिक सञ्जालमा पनि भौतिक कारबाहीको चेतावनी दिएका थिए । आयोगले प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याएको वेला उनले धम्की दिएका थिए । अधिकारीले नै पाठकलाई धम्क्याउन उक्साएको मात्र नभई पैसा नै दिएकोसमेत प्रारम्भिक छानबिनमा खुलेको हो ।
‘धम्क्याउन आफूलाई १० करोड दिन्छु भनेका थिए, दुई करोड रुपैयाँ दिइसकेका भनेर उनले बयान दिएका छन्,’ जिल्ला प्रहरीपरिसर काठमाडौंका एक अधिकारीले भने, ‘उनको बयानअनुसार थप प्रमाण संकलन गर्देछौँ ।’ पाठकको मोबाइलबाट पनि अधिकारीसँगको सम्बन्ध खोतल्ने प्रयास भइरहेको प्रहरी स्रोतले जानकारी दियो।