राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कैलाली ५ का उम्मेदवार आनन्दबहादुर चन्दले आफू निर्वाचित भएर गएपछि यो क्षेत्रलाई देशकै उत्कृष्ट र नमुना निर्वाचन क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । धनगढीमा मंगलबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले समाज परिवर्तन गर्नका लागि आफू राजनीतिमा आएको बताए।
प्राध्यापन पेसा छोडेर राजनीतिमा आएका चन्दले निर्वाचन क्षेत्र यस्तो हुनुपर्छ भनेर उदाहरणका रूपमा कैलाली ५ लाई आफूले विकास गर्न खोजेको बताए । ‘आफूलाई परिवर्तन गरिसकियो, समाज परिवर्तन गर्छु, समाजका लागि केही गर्नुपर्छ भनेर राजनीतिमा आएको हुँ,’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रलाई देशकै उत्कृष्ट क्षेत्र बनाउँछु, दोस्रो हुन्छु भनेर सोचेकै छैन । नेता भनेको यस्तो हुनुपर्छ, निर्वाचन क्षेत्र भनेको यस्तो हुनुपर्छ, यसरी काम गर्नुपर्छ भनेर उदाहरण बनाउन चाहन्छु।’
चन्दले आफ्ना लागि मात्र नसोचेर आफ्नो मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने सोचाइले विगतमा अमेरिकाको पढाइपछि आफू नेपाल फर्किएको बताए। चन्दले यहाँको शिक्षा, स्वास्थ्य, कृषि, खेल, पर्यटनलगायत पूर्वाधार विकासको योजना आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेका छन्। सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्ने, गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठनको सुरुवात गर्ने तथा सेती र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एकीकृत स्वास्थ्य शिक्षा इकोसिस्टमका रूपमा विकास गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
सेती र दशरथचन्द विश्वविद्यालय मुख्य केन्द्र अस्पताल बनाएर यो क्षेत्रका फूलबारी, गदरिया, उर्मा, भादालगायत ग्रामीण स्याटेलाइट क्लिनिक स्थापना, सिकलसेलका बिरामीले सरकारबाट पाउँदै आएको उपचार सेवा शुल्क वृद्धिलगायत योजना प्रतिबद्धतापत्रमा समावेश गरिएका छन्। उच्च शिक्षालाई रोजगार र सिपसँग जोड्ने गरी विश्वविद्यालय, प्राविधिक कलेज र तालिम दिने संस्थालाई एकीकृत शिक्षा सिप प्रणालीका रूपमा विकास गर्ने, बिचमै विद्यालय छोडेकाहरूलाई लक्षित गरेर सिपमूलक रोजगार तालिम केन्द्रको स्थापना गर्ने, शिक्षा, सिप र उद्यमशीलतालाई जोड्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना चन्दले अघि सारेका छन्।
चन्दले यो क्षेत्रबाट आफू जनप्रतिनिधिका रूपमा निर्वाचित भएर गएपछि धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको योजनालाई सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनाका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बहुउद्देश्यीय खेलमैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, मध्यम तथा ठुला खालका उडान भर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नति गर्ने योजनालाई पनि उनले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा समावेश गरेका छन्। उनले जनप्रतिनिधिका रूपमा आफूले नियमित जनसंवादको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सुदूरपश्चिमको स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारीको अवस्था, सडक कालोपत्रे, पर्यटन, पूर्वाधार विकास, आर्थिक विकास आदिको अवस्था राष्ट्रिय आँकडाभन्दा निकै कमजोर रहेको आँकडा प्रस्तुत गर्दै उनले निर्वाचित भएर गएपछि यो क्षेत्रको मात्र नभएर सुदूरपश्चिमकै आवाज सदनमा उठाउने बताए । मुक्त कमैया हलिया, अल्पसंख्यक, विपन्न र सीमान्तकृत समुदायलाई सिपमूलक तालिममार्फत आयआर्जनसँग जोड्ने, यहाँको एकीकृत सहरी जलनिकास गुरुयोजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना उनले अघि सारेका छन् । त्यस्तै, कैलाली ५ लाई कृषि व्यापार केन्द्रको रूपमा विकास गर्ने, यो क्षेत्रलाई औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, सहरी क्षेत्रमा सडकबत्ती, फुटपाथ, साइकललेन र नाली निर्माणको मापदण्ड बनाउने चन्दको प्रतिबद्धतापत्रमा उल्लेख छ।