नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनलाई लिएर विपक्षी दलहरूले तालमेलको भ्रम फिँजाउन सक्ने भएकाले होसियार रहन सचेत गराएका छन् । बुधबार पोखरामा आयोजना गरिएको कार्यकर्ता भेटघाटमा उनले विपक्षी दलहरूले आफूले फाइदा लिने उद्देश्यले नेकपासँग तालमेल भएको भनी प्रचार गर्न सक्ने भएकाले होसियार रहन आग्रह गरेका हुन् ।
सानाठुला गरी २६ घटक जोडिएर नेकपा बनेको र पार्टी दिनप्रतिदिन मजबुत बन्दै गएको उनको भनाइ छ । ‘निर्वाचनमा नेकपाले कसैसँग समीकरण गर्दैन । आफ्नो बलमा उभिएर जनताको विश्वासको जगमा टेस्ट हुन चाहेको छ । र, त्यो परीक्षामा पार्टी उत्तीर्ण हुनेछ,’ उनले भने । देशका १६४ स्थानमा पार्टीको उम्मेदवार रहेको बताउँदै उनले निर्वाचनको अन्तिम समयसम्म अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्क्रिय गराउने हल्ला फैलाउन सक्ने भएकाले सचेत रहनुपर्ने उनले बताए ।
प्रचण्डले सूर्यभन्दा तारा धेरै माथि पुगिसकेको दाबीसमेत गरे । उनले उम्मेदवार, नेतासँगै कार्यकर्तालाई आफ्नो पार्टी र चुनाव चिह्न राम्रोसँग बुझाएर–चिनाएर अघि बढ्न निर्देशन दिए । समानुपातिकतर्फ नयाँ ठाउँमा केही नयाँ पार्टीको माहोल भए पनि अन्य स्थानमा भने नेकपाको माहोल राम्रो बनेको दाबी गर्दै उनले निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने बताए ।
अहिले देशभर पार्टीको नेता–कार्यकर्तामा आफ्नै चिह्नमा मत हाल्न पाइयो भन्ने खुसियालीसँगै पार्टीका पक्षमा लहरसमेत बढेकाले पहिलो शक्ति बन्ने दिशातर्फ पार्टीउन्मुख रहेको दाबीसमेत प्रचण्डले गरे ।