- भारत र श्रीलंकामा एक महिनासम्म चल्ने प्रतियोगितामा नेपालले भोलि दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने
आइसिसी टी–२० विश्वकपको दसौँ संस्करण शनिबारदेखि भारत र श्रीलंकामा सुरु हुँदै छ । २० टोली सहभागी प्रतियोगिता एक महिनासम्म चल्नेछ । पहिलो खेलमा नेदरल्यान्ड्सले टेस्ट राष्ट्र पाकिस्तानको सामना गर्दै छ । यो खेल श्रीलंकामा हुनेछ । भारतमा भने इडेन गार्डेन र वानखेडे रंगशालामा दुई खेल हुनेछन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुन लागेको हो । पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । त्यसको १० वर्षपछि नेपालले दोस्रोपटक पछिल्लो सिजन खेलेको थियो ।
नेपाल र इंग्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । भारतको चर्चित यो रंगशालामा नेपालले पहिलोपटक खेल्न लागेको हो । समूह ‘सी’मा रहेको नेपालले आफ्ना चारवटै खेल नै यही मैदानमा खेल्नेछ ।
नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलोपटक विश्वकप खेल्दै छ । त्यसपछि २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग भिड्ने तालिका छ ।
आइसिसीले दोस्रोपटक सबैभन्दा धेरै २० टिम विश्वकपमा सहभागी गराएको छ । यसअघि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको प्रतियोगितामा पहिलोपटक २० टिमलाई सहभागी गराइएको थियो । त्यसअघि सन् २००७ देखि २०१२ सम्म १२ टिम र सन् २०१४ देखि २०२२ सम्म १४ टिमले विश्वकप खेल्ने गरेका थिए ।
अहिले सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पुग्ने आठ टिमले अर्काे विश्वकपमा सिधै स्थान बनाउनेछन् ।
यसपटक विश्वकपमा दुई–दुईपटकका च्याम्पियन इंग्ल्यान्ड, भारत र वेस्ट इन्डिज तथा समान एकपटक च्याम्पियन भएका अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका सहभागी छन् । यस्तै, एकपटक उपविजेता भएका न्युजिल्यान्ड, दक्षिण अफ्रिकासँगै अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, जिम्बावे, नामिबिया, ओमान, क्यानडा, युएई र नेपाल सहभागी छन् ।
नेपाल एसिया प्यासिफिकबाट छनोट
नेपालसँगै ओमान र युएई एसिया प्यासिफिकबाट विश्वकपमा छनोट भएका हुन् । नौ टिम सहभागी हुँदा २१ खेल भएका थिए । नेपालले समूह ‘बी’मा कुवेतलाई ५८ रन तथा जापानलाई पाँच विकेटले हराउँदै समूह विजेता बनेर सुपर सिक्समा स्थान बनाएको थियो । सुपर सिक्सको शीर्ष तीन स्थानमा रहेका नेपालसँगै ओमान र युएई पनि विश्वकप छनोट भएका हुन् । कतार, जापान र सामोआसँगै पपुवा न्युगिनी, कुवेत र मलेसिया विश्वकपमा स्थान बनाउन सफल भएनन् ।
विवादरहित हुन सकेन विश्वकप
बंगलादेश र भारतबिचको भूराजनीतिक विवादका कारण विश्वकप सुरुमै विवादमा पर्यो । बंगलादेशले आफ्ना खेलाडी मुस्तफिजुर रहमानलाई आइपिएलमा नखेलाएको रिस विश्वकपसम्म पुर्याएको भारतको आरोप छ । बंगलादेशले आफ्ना खेलाडी र समर्थकको सुरक्षाको कारण देखाउँदै भारतमा नखेल्ने निर्णय गर्यो ।
उसले पाकिस्तानझैँ सबै खेल श्रीलंका भए मात्रै आफूले खेल्ने अडान लियो । आयोजक आइसिसीले सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिने र भारतमा खेल्न जानुपर्ने बतायो । बंगलादेशले त्यसलाई अस्वीकार गरेपछि आइसिसीले उसको स्थानमा स्कटल्यान्डलाई अवसर दिएको छ ।
यही कारण देखाएर पाकिस्तानले भारतविरुद्धको श्रीलंकामा तय भएको खेल नखेल्ने निर्णय लिएको छ । भारतले भने मैदानमा पुग्ने बताएको छ । यस्तो अवस्थामा भारतले ‘वाक ओभर’ पाउनेछ । सदाबहार प्रतिद्वन्द्वी मानिने भारत र पाकिस्तानबिचको यो खेल नभएको अवस्थामा आइसिसीलाई २५ करोड अमेरिकी डलर आर्थिक क्षति हुने अनुमान गरिएको छ ।
सुपर–८ मा पुग्ने नेपालको लक्ष्य
नेपालका कप्तान रोहितकुमार पौडेलले पहिलोपटक विश्वकपको सुपर–८ मा पुग्ने योजना सुनाएका छन् । ‘यसअघि दुवैपटक समूह चरण पार गर्न सकेनौँ । यसपटक सुपर–८ मा पुग्ने योजना बनाएका छौँ,’ वानखेडे रंगशालाको बिसिसिआई भवनमा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘खेलाडीको आत्मविश्वास पनि छ । यसपटक टेस्ट राष्ट्रलाई हराउँदै नयाँ कीर्तिमान रच्छौँ ।’
नेपाल–इंग्ल्यान्ड खेलका टिकट ‘सोल्डआउट’
वानखेडे रंगशालामा आइतबार नेपाल र इंग्ल्यान्डबिच हुने खेलको टिकट ‘सोल्डआउट’ भएको आयोजक आइसिसीले जनाएको छ । करिब ४० हजार क्षमताको रंगशालामा अनलाइन टिकट पाइएको छैन । मुम्बईसहित भारतका अधिकांश ठाउँमा नेपाली भएकाले पनि प्रतियोगिताअघि नै टिकट बिक्री भएको अनुमान गरिएको छ । आइसिसीका अनुसार नेपाल र आयोजक भारतको खेलका टिकट ‘सोल्डआउट’ भएका छन् ।
कति पाउँछ विजेताले पुरस्कार ?
८ मार्चमा समापन हुने विश्वकपको पुरस्कार राशि भने आइसिसीले सार्वजनिक गरेको छैन । गत वर्ष भारतले विश्वकप उचाल्दा २.४५ मिलियन डलर पाएको थियो । जुन अघिल्लो वर्षको बढी हो । यसपटक पनि पुरस्कार राशि वृद्धि गर्ने आइसिसीको योजना छ ।
त्यस्तै, गत वर्षको उपविजेता दक्षिण अफ्रिकाले १.२८ मिलियन अमेरिकी डलर पाएको थियो । सेमिफाइनलमा पुगेका इंग्ल्यान्ड र अफगानिस्तानले सात लाख ८७ हजार पाँच सय डलर पाएका थिए । त्यस्तै, सहभागी टिमले दुई लाख २५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए ।
बंगलादेश प्रतियोगिताबाट ‘आउट’, पाकिस्तानले पनि भारतविरुद्ध नखेल्ने
बंगलादेश र भारतबिचको भूराजनीतिक विवादका कारण विश्वकप सुरुमै विवादमा पर्यो । बंगलादेशले आफ्ना खेलाडी मुस्तफिजुर रहमानलाई आइपिएलमा नखेलाएको रिस विश्वकपसम्म पुर्याएको भारतको आरोप छ । बंगलादेशले आफ्ना खेलाडी र समर्थकको सुरक्षाको कारण देखाउँदै भारतमा नखेल्ने निर्णय गर्यो । उसले पाकिस्तानले झैँ सबै खेल श्रीलंकामा भए मात्रै आफूले खेल्ने अडान लियो । आयोजक आइसिसीले सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिने र भारतमा खेल्न जानुपर्ने बतायो । बंगलादेशले त्यसलाई अस्वीकार गरेपछि आइसिसीले उसको स्थानमा स्कटल्यान्डलाई अवसर दिएको छ । यही कारण देखाएर पाकिस्तानले भारतविरुद्धको श्रीलंकामा तय भएको खेल नखेल्ने निर्णय लिएको छ । भारतले भने मैदानमा पुग्ने बताएको छ । यस्तो अवस्थामा भारतले ‘वाक ओभर’ पाउनेछ । सदाबहार प्रतिद्वन्द्वी मानिने भारत र पाकिस्तानबिचको यो खेल नभएको अवस्थामा आइसिसीलाई २५ करोड अमेरिकी डलर आर्थिक क्षति हुने अनुमान गरिएको छ ।