आफूविरुद्ध झुटा विवरण तयार गरी संगठित रूपमा दुस्प्रचार गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेका छन्। खासगरी पछिल्लो समय धर्मसँग जोडेर आफूविरुद्ध बनावटी विवरणहरू बनाएर सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै उनले छानबिनका लागि उजुरी दिएका हुन्।
‘झुटा र बनावटी विवरणहरू जोसुकैले सजिलै सम्पादन गर्न मिल्ने विकिपिडियाजस्ता वेबसाइडमा हिजो एक दिनमा मात्र १३५ पटक गलत इन्ट्री गराउँदै, स्क्रिनसट लिँदै व्यापक रूपमा नक्कली सामग्री फेसबुक र एक्समा प्रसारण गरिएको छ,’ उनको उजुरीमा भनिएको छ।
मुख्यतः बागमती प्रदेश सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र अर्का मोहन लामा रुम्बाले यस्तो दुस्प्रचार गरेको भन्दै उनीमाथि अनुसन्धान गर्न अनुरोध गरिएको छ। डा. वाग्ले तनहुँ १ का उम्मेदवार हुन्। बिहीबार तनहुँका मतदातासँग कुरा गर्दै उनले आफ्नो निष्कलंक छविबाट आत्तीएर यस्ता दुष्प्रचार भइरहेको बताए।
