आयोगले सोध्यो २१ वटा स्पष्टीकरण, तर जवाफ पाँचवटाको मात्र

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लागू गरेको आचारसंहिता नमान्ने विभिन्न राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले शनिबार दिएको जानकारीअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत माघ ४ गते राति १२ बजेदेखि लागू भएको छ। 

तर, आचारसंहिता नमान्ने २१ वटा स्पष्टीकरणमा पाँचवटाको मात्र जवाफ पाएको आयोगले जनाएको छ। आचारसंहिता कार्यान्वयन तथा निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएकोमा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ। 

साथै, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ र २३ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २(ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सतहत्तर वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक–फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको पनि आयोगले जनाएको छ। 

निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा क्रियाशील रहेको आयोगले जनाएको छ । 
 

सुझावित समाचार