छैटौँ टाइगर कप : महिलातर्फको उपाधि न्यु डायमन्डलाई

पुरुषतर्फको फाइनलमा गण्डकी र पर्वत भिड्ने

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

न्यु डायमण्ड स्पोर्टस् क्लबले छैटौँ टाइगर कपको महिलातर्फको उपाधि हात पारेको छ। विभागीय नेपाल पुलिस क्लबमाथि ३–० को सोझो सेटमा सहज जित हात पार्दै न्यु डायमन्डले उपाधि चुमेको हो।

पुरुषतर्फको उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले पर्वत जिल्ला भलिबल संघसँग प्रतिस्पर्धा गर्नेछ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा प्रतियाेगिता जारी छ।

शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको महिलातर्फको फाइनल खेल न्यु डायमन्डले २५–११, २५–२२ र २५–१६ ले आफ्नो पक्षमा पार्दै पहिलोपटक प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। हारसँगै पुलिसले लिग चरणको खेलमा भएको हालको बदला लिनसमेत चुकेको छ।

मंगलबार सम्पन्न लिग चरणको खेलमा न्यु डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो। न्यु डायमन्डले २५–११, २५–१९ र २५–२० ले खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो। तेस्रो स्थानका लागि बिहीबार सम्पन्न खेलमा पाहुना टोली थाइल्यान्डले एपिएफलाई पराजित गरेको थियो।

उपाधिसँगै न्यु डायमन्डले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेता पुलिसले तीन लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो भएको थाइल्यान्डले दुई लाख ६ हजार ६६६ रुपैयाँसँगै सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन्।

महिलातर्फ न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद २६ हजार ६६६ नगद हात पार्दा विधागत रूपमा सर्भरमा प्रतिभा माली, लिबिरोमा शान्तिकला तामाङ, सेटरमा प्रगति नाथ, ब्लकरमा सुनिता खत्री, स्पाइकरमा पथैया र प्रशिक्षकमा कुमार राई उत्कृष्ट घोषित हुँदै जनही नगद ११ हजार ६६६ रुपैयाँ प्राप्त गरे।

जारी प्रतियोगितामा शुक्रबार सम्पन्न पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा घरेलु टोली गण्डकी प्रदेशले पर्वत जिल्ला भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्याे। प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकी दोस्रो सेटमा २२–२५ ले पछि परेको थियो। तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको गण्डकी चौथो सेटमा २३–२५ ले पछि परेको थियो। खेलको अन्तिम एवं निर्णायक पाँचौँ सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै गण्डकीले फाइनलमा स्थान सुरक्षित गरेको छ।

शनिबार हुने उपाधि भिडन्तमा गण्डकी र पर्वत भिड्नेछन्। पुरुषतर्फ सहभागी ६ टोलीमध्ये समूह चरणका खेल सकिँदा गण्डकी ११ अंकसहित शीर्ष स्थानमा छ। पर्वत र नेपाल पुलिसको समान १० अंक रहे पनि सेटका आधारमा पर्वतले अन्तिम दुईमा स्थान बनाउँदा तेस्रो स्थानका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो। अंकतालिकामा एपिएफ क्लब पाँचौँ र जितविहीन पाहुना टोली माल्दिभ्स छैटौँ स्थानमा छन्।
 

सुझावित समाचार