नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो दाबी गरेका हुन्।
२० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिएको उनको भनाइ थियो। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरूले निर्वाचनमा नतिजा निकाल्ने उनले विश्वास व्यक्त गरे।
संयोजक प्रचण्डले जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको जिकिर गरे। जेन–जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिस्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह ती पार्टीका उम्मेवारहरूका गतिविधिका कारण बिस्तारै कमजोर हुँदै गएको र उनीहरूका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको प्रचण्डले बताए। मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारीसाधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा बिस्तारै कमजोर बन्दै गएको उनको भनाइ थियो।
गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको जित सुनिश्चितजस्तै भएको संयोजक प्रचण्डले बताए। संवादपछि अब डा. भट्टराई र नेकपाबिचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनको विश्वास छ।