रास्वपा प्रवेश गर्दै रहबरले भने– मधेशले परिवर्तनको शक्ति खोजेको छ

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेकपा छाडेर रास्वपा प्रवेश गरेका रहबर अन्सारीले मधेशले परिवर्तनको शक्ति खोजेको बताएका छन्। जनकपुरधामस्थित तिरहुतियागाछीमा आयोजित परिवर्तन उद्घोष सभाबाट औपचारिक रूपमा रास्वपा प्रवेश गरेका अन्सारीले मधेशले बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताए।

‘यो दुनियाँले अहिलेसम्म नदेखेको मधेशी अनुहार यो देशको नेतृत्वको केन्द्रमा रहनका लागि मधेशका छोरा बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहान्छ,’ उनले भने।

रास्वपा सभापति रवि लामिछानेको त्याग र मधेशी छोरा बालेन्द्रको क्षमताको प्रशंसा गर्दै अन्सारीले भने, ‘मधेशले दुःख चिनेको छ, मधेशले संघर्ष गरेको छ, मधेशले परिवर्तनको शक्ति खोजेको छ।’

नेताहरूले भाषण गरेर बाँडेका मधेशीका सपनाको अवमूल्यन भएको उल्लेख गर्दै अन्सारीले त्यो सपना रास्वपाले पूरा गर्ने जिकिर गरे। मधेशबाट विकासको विगुल फुक्ने सपना बोकेर आफू रास्वपा प्रवेश गरेको बताउँदै उनले भने, ‘मधेशी जनताको सपना यही जमिनमुनि गााडिएको छ, र यो जमिनभित्रको सपना यहाँको इमानदार नेतृत्वले निकालेर ज्वालामुखीझैँ विकासको विगुल फुक्ने सपना बोकेर म पनि रास्वपामा आएँ।’

सुझावित समाचार