१ माघ बिहानीको झिसमिसेमै हरेक घरमा बच्चाहरू कराउन थाल्छन् । कोही झ्यालबाट टाउको बाहिर निकालेर, कोही आँगनमै आएर त कोही घरको छतमा चढेर । सबैको एकै स्वर र उस्तै लय हुने गर्दछ, ‘का कौवा का झुनमुने खा, आ कौवा आ झुनमुने खा ।’
सुदूरपश्चिम पहाडमा १ माघमा मनाइने ‘नरहरि’ पर्वमा कागलाई झुनमुने खुवाउने चलन छ । पुस मसान्तमा पकाइएको पहिलो झुनमुने (विशेष रोटी) माघे संक्रान्तिको बिहानै कागलाई खुवाइन्छ । स्थानीय रैथाने रोटीका रूपमा रहेको झुनमुने रोटी कागलाई खुवाउन बिहानीको झिसमिसेमै बालबालिकाले ‘का कौवा का...’ भन्दै काग बोलाउँछन् । पुसलाई पापी महिना र माघलाई धर्मी महिना भन्दै धर्मी महिनाको पहिलो पाहुना कागलाई विशेष रोटी झुनमुने खुवाएर स्वागत गर्ने मौलिक परम्परा भएको जानकारहरू बताउँछन् । कागले झुनमुने टिपेर नलग्दासम्म प्राय: बोलाइरहने चलन रोचक छ ।
व्यासाचार्य खेमराज ओझाका अनुसार पुस मसान्तको साँझदेखि माघको पहिलो दिनको साँझसम्मको अवधिलाई नरहरि भनेर परिभाषित गरिएको छ । माघको चिसोमा बिहानै नजिकको तीर्थ वा कुवा, पँधेरामा नुहाउने चलन छ । त्यसपछि गरिने विभिन्न कार्यहरू धार्मिक चलनसँग जोडिएको पाइन्छ । नरहरि शब्दले पनि यही कुराको संकेत गरेको प्राध्यापक वासुदेव पाण्डेय बताउँछन् । ‘माघको चिसोमा बिहानै नुहाएर नर (मानिस) नै हरि (देउता)सरह हुने भएकाले यो पर्वलाई नरहरि भनिएको हो,’ उनले भने, ‘चिसो याममा नुहाउन सहज नहुँदा नुहाएर मानिस पनि पवित्र हुने भएर नरहरि भनिएको हुनुपर्छ ।’ यसको शास्त्रीय वा धार्मिक मान्यता फरक हुन सक्ने उनले बताए । यो पर्वमा घरबाहिर रहेका परिवारका सदस्यहरू सकेसम्म घरमा आउँछन् भने कर्मघर गएका चेलीहरू माइतीघर आउने गर्दछन् । उनीहरूलाई नयाँ लुगा दिने, दक्षिणा दिने र नरहरिको दिन माइतीघरमा रमाइलो गर्ने गरिन्छ ।
झुनमुने यहाँको मौलिक परिकार हो । यो प्राय: नरहरिमा मात्र पकाउने चलन छ । पुस मसान्तमा स्थानीय खेत, जंगलबाट तरुल खनेर ल्याउँछन् । वन तरुललाई पिसेर चामलको पिठोसँग मिसाइन्छ । त्यसपछि तावामा घिउसँग झुनमुने रोटी पकाइन्छ । सुरुमा पाकेको झुनमुने कागलाई छुट्याएर बाँकी परिवारका सदस्यले खाने गर्दछन् । झुनमुनेसँगै तलेमाणासमेत पकाइन्छ । तलेमाणा झुनमुनेकै विकसित रूप हो । झुनमुने पातलो र छिद्रछिद्र भएको हुन्छ भने तलेमाणा विभिन्न पत्रपत्र मिलेर बन्ने मोटो रोटी हो । पुस मसान्तमा झुनमुनेलगायत मिठोमसिनो खानेकुरा खने र भोलिपल्ट पनि विभिन्न नियमका साथ नरहरिलाई रमाइलो पर्वका रूपमा मनाइने चलन रहेको व्यासाचार्य ओझाले आफ्नो पुस्तक ऐतिहासिक सुदूरपश्चिमेली समाज नामक पुस्तकमा समेत उल्लेख गरेका छन् ।
नरहरिको दिन (१ माघमा) कुनै पनि घरायसी काम नगर्ने चलन छ । यो दिन कुनै काम गर्दा खैरो लाग्छ भनेर भनिन्छ । नरहरि पर्व सुदूरपश्चिम पहाडको मौलिक पर्व भए पनि पहाडबाट तराईका जिल्लाहरूमा बसाइँसराइले गर्दा लोप हुँदै गएको छ । बैतडीबाट कैलाली बसाइँ सरेर गएका हेमराज जोशीको बुझाइमा पनि मानिसहरू तराई झरेसँगै नरहरिको मौलिकता नासिँदै गएको छ । ‘पहाडमा धुमधामका साथ नरहरि मनाइन्थ्यो, काग बोलाउँथे । यता त काग पनि आउँदैनन्, नरहरिको असली मान्यता पनि हराउँदै गएको छ,’ जोशीले भने ।