एकातिर देउवाको कार्यशैली, अर्कोतिर युवाको असन्तोष सामना गरिरहेको छु : शेखर कोइराला

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले पार्टीभित्र पुस्तान्तरणको अभियान धेरै अघिदेखि चलाउँदै आएको बताएका छन्। विशेष महाधिवेशन सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो लड्ने शैली शान्त र मधुरो रहेको बताए।

‘मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरा कैयन शैलीहरूसँग मेरा साथीहरू असहमत भएको म बुझ्थेँ । तर, पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अघि बढ्न चाहिनँ,’ उनले भनेका छन्।

पुस्तान्तरणको अभियान चलाउने क्रममा आफूले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्दै अर्कोतिर युवाहरूको असन्तोषको सामना गरिरहेको बताएका छन्।
‘म एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नुपरिरहेको छ भने अर्कोतिर ऊर्जावान युवाहरूको असन्तोषको सामना गरिरहेको छु,’ उनले भने।

जेन–जी आन्दोलनपछि मूलधारका पार्टीहरूको नेतृत्वबारे प्रश्न उठेको उल्लेख गर्दै उनले त्यसपछि यसमा कांग्रेसभित्र संगठित प्रयत्नहरू भएका बताए। देशको आन्तरिक सुरक्षामा सेना नै उतार्नुपर्ने अवस्था सिर्जना भएको स्मरण गराउँदै कोइरालाले फेरि यस्तो अवस्था आउन नदिनेबारेमा सोच्न आग्रह गरेका छन्।

‘यस किसिमको अवस्था पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा सहिदप्रति न्याय गरेको ठहर्छ। के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रका लागि बलिदान, संघर्ष, यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौँ ?’ उनले प्रश्न गरेका छन्।

विशेष महाधिवेशन पक्षधरले पार्टी विधानको कार्यान्वयन गर्ने संकल्प गरिरहेका बताउँदै कोइरालाले पार्टी एक राख्नुपर्नेमा जोड दिएका छन्। ‘के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको विगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ ?’ उनले भिडियो सन्देशमा भनेका छन्।

सुझावित समाचार