बिहीबार हेटौँडा आएका नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले जेन-जी आन्दोलनमार्फत जनताले महसुस गर्ने खालको परिवर्तन नभएको भन्दै देशका लागि निर्णायक रूपमा लड्नुपर्ने समय आएको बताए।
प्रसाईंले आगामी २१ फागुनमा गर्ने भनिएको निर्वाचन बहिष्कार गर्न पनि आह्वान गरे। अहिलेको प्रमुख आवश्यकता चुनाव नभएर व्यवस्था र नेतृत्वप्रति जनताको असन्तोषलाई सम्बोधन गर्नु भएको उनको भनाइ थियो।
प्रसाईंले जेन-जी आन्दोलनलाई हाइज्याक गरेर वर्तमान सरकार गठन गरिएको आरोप लगाए। ‘सुशीला कार्की नेतृत्वको सरकार पश्चिमाहरूको डिजाइनमा बनेको हो। फेरि पनि निर्वाचनमार्फत पश्चिमी शक्तिहरूले आफ्नो इशारामा चल्ने व्यक्तिलाई नेपालमा प्रधानमन्त्री बनाउन खोजिरहेका छन्,’ उनले भने।
नेपाललाई युक्रेनजस्तो बनाउने र धेरै ‘जेलेन्स्की’ उत्पादन गर्ने दुष्प्रयास भइरहेको उनको दाबी छ। देशको सार्वभौमिकता र जनताको हितविपरीत हुने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै उनले त्यसविरुद्ध लड्न तयार रहन आग्रह गरे।
कार्यक्रममा प्रसाईंले हेटौँडामा भइरहेको सडक विस्तारप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे। बस्तीको बिचबाट सडक विस्तार गर्नु कुनै पनि हालतमा सही नहुने भन्दै उनले मुख्य राजमार्ग बाइपास हुँदै लैजानुपर्ने धारणा राखे। सरकारले बस्ती नै उठिबास गराउने शैली अपनाएको आरोप लगाउँदै उनले विश्वका कुनै पनि देशमा बस्तीको बिचबाट राजमार्ग विस्तार गर्ने प्रचलन नरहेको बताए।
प्रसाईंले सडक विस्तारका कारण हेटौँडाका व्यवसायी दोहोरो मारमा परेको बताए। एकातर्फ सडक विस्तारले व्यवसाय विस्थापित भएको र अर्कोतर्फ बैंकको उच्च ब्याजदरले आर्थिक भार थपिएको उनको भनाइ थियो। हेटौँडाका अधिकांश व्यवसायी गम्भीर आर्थिक संकटमा रहेको उल्लेख गर्दै प्रसाईंले सडक विस्तार प्रभावितले क्षतिपूर्ति पाउन ठुलो आन्दोलन नगरी सम्भव नहुनेमा सचेत गराए।