जुम्ला सदरमुकाम खलंगा रहेको चन्दननाथ नगरपालिकाका विभिन्न सडकमा बत्ती जडान गरिएपछि आवतजावतमा सहज भएको छ । पैदलयात्रुलाई सहज पार्न र चोरीका घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकबत्ती जडान गरिएको हो । नगरपालिकाभित्रका १० वटा वडामध्ये पहिलो चरण बजार क्षेत्रमा दुई सयवटा सडकबत्ती जडान भएको चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतले बताए । बजार क्षेत्रका विभिन्न चोक, गल्ली, सबै क्षेत्रमा प्राविधिक इस्टिमेटअनुसार दुई सय बत्ती जडान गरिएको छ ।
‘बजार क्षेत्रमा सडकबत्तीका लागि विद्युत् प्राधिकरणले विगतमा केही काम गरेको थियो । अहिले चन्दननाथ नगरपालिकाले चार हजार मिटर केबुल तार विस्तार गरी सडक बत्ती जडान गरेको छ । बत्तीको क्षमता ५० वाट छ । बत्ती जडानपछि बजार क्षेत्र रातिमा पनि उजेलिएको छ,’ उनले भने । दुई सयवटा बत्ती, प्राविधिक खर्च, जडान, चार हजार मिटर तारलगायतका लागि १७ लाख ५० हजार खर्च भएको इन्जिनियर महतले बताए ।
चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले पहिलो चरणमा बजार क्षेत्रमा सडकबत्तीको दिगोपन, प्रभावकारिता, संरक्षणको परीक्षण हुने बताए । बजार क्षेत्रमा सफल भएमा नगरका सबै वडामा सडकबत्ती जडान गरिने उनको भनाइ छ ।
सडकबत्ती जडानसम्बन्धी केही काम प्राधिकरण गरे पनि नागरिकको मागअनुसार सडकबत्तीको पूर्ण काम नगरपालिकाले गरेको छ । नगरपालिकाका १० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । यद्यपि, राष्ट्रिय प्रसारणलाइनदेखि चुकेनी विद्युत्को लाइन पनि गाउँगाउँमा विस्तार भइसकेको छ । तर सडकमा बत्ती नहुँदा रातिको समयमा आवतजावत गर्न निकै असहज हुने गरेको छ ।
आगामी आर्थिक वर्षमा सडक पुगेका सबै वडाका बस्तीमा सडकबत्ती जडान गर्ने गरी बजेट तर्जुमा गरिने चन्दननाथकी उपमेयर रामदेवी खड्काले बताइन् । सरकारी लगानीमा बनेका संरचना दिगो नहुने, स्थानीयमा अपनत्व नहुने भएकाले दिगोपनमा ध्यान दिनसमेत सुझाव दिएकी छन् । हिउँद लागेसँगै जुम्लामा चोरीका घटना बढेको, ट्युसन पढ्ने विद्यार्थीलाई कठिनाइ भएको अवस्थामा साँझ ६ देखि बिहान ६ बजेसम्म बल्ने गरी सडकबत्ती जडान भएपछि स्थानीयले सहज महसुस गरेका छन् ।