नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापका लागि आज सत्ताराजनीतिभन्दामाथि सार्वभौम सम्पूर्ण नेपालीको जागरुक सतर्कतासहित ऐक्यबद्धताको खाँचो रहेको औँल्याएका छन् । बुधबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै कोइरालाले राजनीतिक परिदृश्यमा उदाएका नयाँ चुनौतीहरूको सामना गर्न सम्पूर्ण एकताको विकल्प नभएको उल्लेख गरे ।
उनले यसका लागि नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । राष्ट्रिय एकता र मेलमिलापले मात्र देश र देशवासीको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौँ भनी बिपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्देश्य र साझा प्रतिबद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा रहेको बताए ।
उनले जसरी बिपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगन्य भन्ठानेर ऐतिहासिक निर्णय लिएर प्रवासबाट स्वदेश फर्कनुभएको थियो, आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्त्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प छैन भने ।
कांग्रेसभित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुड्किलो मात्र होइन, राष्ट्रको आवश्यक तत्त्व हो भनी हामी सबैले मनन गर्न जरुरी छ भन्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने खतरा हुने बताए ।
आजकै दिन लोकतान्त्रिक आन्दोलनका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरू ‘राष्ट्रिय मेलमिलापको’ सन्देश दिएर आठ वर्ष भारतको प्रवास जीवन त्यागी नेपाल फर्किएका थिए । यसै दिनलाई राष्ट्रिय मेलमिलाप दिवस भनेर मनाइँदै आइएको छ ।