चालू आर्थिक वर्ष ०८२/८३ को पुस महिलो सातासम्ममा झण्डै २ खर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागकाअनुसार ७ पुससम्ममा संस्थागत, व्यक्तिगत, लगानी, मूल्य अभिवृद्धि, अन्तःशुल्कसहित समग्र आन्तरिक राजस्व एक खर्ब ९६ अर्ब पाँच करोड रुपैयाँ संकलन भएको हो । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा करीब १ प्रतिशतले बढी भएको विभागले जनाएको छ ।
०८१/८२ को ६ महिना अर्थात पुस मसान्तसम्ममा आन्तरिक राजस्व १० प्रतिशतले वृद्धि भएर दुई खर्ब ७१ अर्ब ९१ करोड संकलन भएको थियो । ०८०/८१ मा दुई खर्ब ४६ अर्ब ७७ करोड उठेको थियो । चालू आवको पुस महिनामा सरकारले १ खर्ब ९ अर्ब ८० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ । लक्ष्य बराबर राजस्व संकलन भए पुस मसान्तसम्ममा आन्तरिक राजस्व २ खर्ब ९७ अर्ब ४७ करोड पुग्ने छ । तर, मंसिरसम्ममा लक्ष्यको ७९.८९ प्रतिशत मात्रै आन्तरिक राजस्व संकलन भएको थियो । पुसमा समेत लक्ष्यअनुसार राजस्व संकलन हुने सम्भावना नदेखिएको विभागकै अधिकारीहरु बताउँछन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले लक्ष्यको आसपास आन्तरिक राजस्व उठिरहेको बताए । ‘मंसिरमा लक्ष्यको ७८.९३ प्रतिशत र मंसिरसम्ममा लक्ष्यको ७९.८९ प्रतिशत राजस्व संकलन भएको थियो’ उनले भने, ‘पुसमा लक्ष्यअनुसारको राजस्व संकलनमा अझ सुधार हुने अपेक्षा गरेका छौं ।’
सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन । खासगरी पछिल्ला वर्षहरुमा आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको तथा उपभोग बढ्न नसकेका कारण राजस्वमा संकुचन आईरहेको जानकारहरु बताउँछन् ।
अर्थविद् केशव आचार्यले नेपालमा अहिले देखिएको राजस्व संकलनको संकुचन कुनै एक–दुई वर्षको समस्या नरहेको बताए । ‘यसको जरा पञ्चायतकालदेखि नै विकास हुँदै आएको आयात–आधारित आर्थिक संरचनामा छ । हामीले आर्थिक क्रियाकलाप विस्तार गर्ने, औद्योगिकीकरण र आधुनिक व्यवसायीकरण गर्ने काम नगरी लामो समयसम्म आयातमै निर्भर रहने नीति अपनायौँ,’ उनले भने ।
सरकारले पुँजीगत खर्च गर्न गर्न नसक्दा र निजी क्षेत्रको लगानी पनि सुस्त हुँदा आन्तरिक राजस्वमा प्रभाव पर्ने गरेको आचार्यले बताए । ‘काठमाडौं, चितवनलगायत ठाउँमा नयाँ घर निर्माणको गति स्पष्ट रूपमा घटेको देखिन्छ । यसले सिमेन्ट, निर्माण सामग्री उद्योगबाट आउने अन्तःशुल्क राजस्वसमेत प्रभावित भएको छ । नयाँ सरकार नबन्दासम्म, निर्वाचन नहुँदासम्म वा संसद् पुनर्सथापना नहुँदासम्म यो अवस्था कायमै रहन सक्छ भन्ने मेरो निस्कर्ष छ,’ उनले सुनाए ।
यस अवधिमा सरकारी स्वामित्वका संस्थानबाट उठ्ने आयकर एक अर्ब १८ करोड रुपैयाँ संकलन भएको विभागको तथ्यांक छ । त्यस्तै, पब्लिक लिमिटेड कम्पनीबाट संकलन हुने आयकर चार अर्ब नौ करोड रुपैयाँ पुगेको छ । निजी कम्पनीहरूबाट उठ्ने आयकर आठ अर्ब ४१ करोड रुपैयाँ, अन्य कम्पनीबाट उठ्ने आयकर पाँच अर्ब ३७ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । संस्थागततर्फको आकस्मिक लाभकर दुई करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।
यस अवधिमा व्यक्तिगत आयकर ११ अर्ब ११ करोड रुपैयाँमा, तलब–भत्ता तथा पारिश्रमिक शीर्षकअन्तर्गतको कर १३ अर्ब ६७ करोड रुपैयाँ, सामाजिक सुरक्षा कर दुई अर्ब ६८ करोड रुपैयाँ, व्यक्तिगत पुँजीगत लाभकर नौ अर्ब ७४ करोड रुपैयाँ संकलन भएको छ ।
लगानी आयकरअन्तर्गत भाडा तथा लिजबाट संकलन हुने कर ८३ करोड, ब्याज आम्दानीबाट उठ्ने कर १२ अर्ब ६७ करोड रुपैयाँ, लगानी क्षेत्रको संस्थागत पुँजीगत लाभकर एक अर्ब ९८ करोड रुपैयाँ, लाभांश कर दुई अर्ब ५३ करोड रुपैयाँ संकलन भएको छ । लगानी क्षेत्रको आकस्मिक लाभकर आठ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ ।
मूल्य अभिवृद्धि करतर्फ उत्पादनबाट प्राप्त हुने भ्याट चालू आर्थिक वर्षमा १७ अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ । बिक्री तथा वितरण शीर्षकअन्तर्गतको भ्याट १२ अर्ब ५८ करोड र ठेक्का तथा परामर्शबाट उठ्ने भ्याट नौ अर्ब ४० करोड रुपैयाँ संकलन भएको छ ।
अन्तःशुल्कतर्फ चुरोट तथा बिँडीमा आधारित कर ११ अर्ब ४९ करोड संकलन भएको छ । मदिराजन्य पदार्थबाट उठ्ने कर १२ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ । बियर उद्योगबाट उठ्ने अन्तःशुल्क १८ अर्ब ५६ करोड पुगेको छ । अन्य औद्योगिक उत्पादनबाट उठ्ने अन्तःशुल्कमा पनि सामान्य वृद्धि देखिएको छ ।
(यसअघि प्रकाशित सामाचारमा भुलबस तथ्यांक गलत पर्न गएकोमा सच्याइएको छ । स.)