तमोर तर्न काठेपुल

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

फक्ताङलुङ गाउँपालिकाले हिउँद याममा यातायात सेवा सहज बनाउन तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ । पक्की मोटरेबल पुल नहुँदा वर्षौंदेखि यातायात सुविधाबाट वञ्चित स्थानीयलाई अस्थायी रूपमा राहत दिन पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर– ५, तापेथोक र वडा नम्बर– ६, लेलेप जोड्ने गरी तापेथोक बगरस्थित तमोर नदीमा काठको मोटरेबल पुल निर्माण गरिएको हो । हिउँद याममा नदीको बहाव कम हुने समयलाई उपयोग गर्दै गाउँ–गाउँसम्म सडक सञ्जाल जोड्ने उद्देश्यले पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए ।

उनका अनुसार फक्ताङलुङका धेरै बस्तीमा सडक पुगे पनि तमोर नदीमा पक्की पुल नहुँदा यातायात सेवा सञ्चालन हुन सकेको थिएन । त्यसैले गाउँपालिकाले करिब ९० हजार रुपैयाँ खर्च गरेर काठेपुल निर्माण गरेको हो ।

पुल निर्माणमा तमोर इनर्जी प्रालिले एक्स्काभेटर उपलब्ध गराएर सहयोग गरेको अध्यक्ष लिम्बूले जानकारी दिए । पुल सञ्चालनमा आएपछि तापेथोक बगरआसपासका बस्तीका नागरिकलाई दैनिक आवतजावत, कृषिउपज ओसारपसार तथा सेवा–सुविधामा पहुँच सहज भएको छ ।

यसैगरी, तमोर नदीकै छिरुवा खण्डमा पनि मोटर गुड्ने काठको अस्थायी पुल निर्माणको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । तमोर नदीको दुवै किनारामा गाउँपालिकाकै वडा तथा बस्ती रहेकाले हिउँदयाममा यातायात सेवा निरन्तर सञ्चालन गर्न यस्तो अस्थायी व्यवस्था अपनाइएको हो । 

सुझावित समाचार