मकवानपुरगढी गाउँपालिकाले चालू आर्थिक वर्ष ०८२/८३ का लागि ६ प्रकारका रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । यसअघि चार प्रकारका बालीमा मात्रै समर्थन मूल्य तोक्दै आएको पालिकाले यस वर्ष कोसेबालीअन्तर्गत सेतो सिमी र कालो सिमी थप गरेपछि समर्थन मूल्य पाउने बालीको संख्या ६ पुगेको हो ।
गाउँपालिकाका अनुसार कोदो र धानकोदो प्रतिकिलो ६० रुपैयाँ, तितेफापर ९० रुपैयाँ, मिठेफापर एक सय पाँच रुपैयाँ र जुनेलो प्रतिकिलो ८४ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । यस्तै, सेतो सिमीको प्रतिकिलो एक सय २० रुपैयाँ र कालो सिमीको प्रतिकिलो एक सय ३० रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको कृषि शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिए ।
यस वर्ष पनि गत आर्थिक वर्षकै दररेटलाई निरन्तरता दिइएको उनले बताए । रैथाने बालीको उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि पालिकाले कृषक तथा सहकारीलाई अनुदान पनि निरन्तर दिइरहेको कृषि शाखा प्रमुख लम्सालले बताए ।
‘कोदो र फापर सहकारीमार्फत बिक्री गर्ने किसानलाई प्रतिकिलो ६ रुपैयाँ र बजार व्यवस्थापन गर्ने सहकारीलाई प्रतिकिलो चार रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने । लम्सालका अनुसार रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रमअन्तर्गत गत वर्ष करिब दुई सय घरधुरी किसान लाभान्वित भएका थिए । यस वर्ष भने किसान संख्या थपिएको उनले जानकारी दिए ।
पालिकाले वडा नम्बर ४ स्थित अपांग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडमार्फत किसानले उत्पादन गरेका कोदोलगायतका रैथाने बाली संकलन गर्दै आएको छ । संकलित कोदोबाट पिठो उत्पादन गरी ‘कालीखोला’ ब्रान्डमा लेबलिङ तथा प्याकेजिङ गरी बजारमा वितरण गरिँदै आएको छ । कालीखोला ब्रान्डका एक, दुई र पाँच किलोका पिठोका प्याकेट हाल बजारमा उपलब्ध छन् । उचित मूल्य नपाएर निराश भएका किसान समर्थन मूल्य पाएपछि उत्साहित भएको पालिकाले जनाएको छ ।
कोदोपछि फापर, कागुनोजस्ता अन्य रैथाने खाद्यवस्तुलाई पनि ब्रान्डिङ गरी बजारमा ल्याउने तयारी भइरहेको छ । आगामी वर्ष कागुनोको पनि समर्थन मूल्य निर्धारण गर्ने योजना पालिकाले बनाएको कृषि शाखा प्रमुख लम्सालले जानकारी दिए ।रैथाने बालीलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा हप्तामा एक दिन रैथाने खाजाको व्यवस्था गरिएको उनको भनाइ छ । साथै, कोदोबाट व्यावसायिक रूपमा वाइन उत्पादन गर्ने सम्भावनाका विषयमा अध्ययन भइरहेको पनि उनले बताए ।
गत आर्थिक वर्षमा गाउँपालिकामा सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा एक हजार एक सय २५ मेट्रिकटन उत्पादन भएको थियो । यस्तै, ६० हेक्टर क्षेत्रफलमा फापर खेती गर्दा ७८ मेट्रिकटन उत्पादन भएको छ । वडा नम्बर १, २, ४, ७ र ८ मा रैथाने बालीको उत्पादन बढी हुने गरेको कृषि शाखा प्रमुख लम्सालले जानकारी दिए ।
गाउँपालिकाले तोकेको समर्थन मूल्य (प्रतिकिलो)
कोदो : ६०
धानकोदो : ६०
तितेफापर : ९०
मिठेफापर : १०५
जुनेलो : ८४
सेतो सिमी : १२०
कालो सिमी : १३०
सहकारीमा बिक्री गर्ने किसानलाई ६ रुपैयाँ र खरिद गर्ने सहकारीलाई चार रुपैयाँ प्रतिकिलो अनुदान