सडक विस्तारका क्रममा डोजर चलाएर धराप बनाइएका संरचना सफाइ गर्ने क्रममा एक सातामै पाँच मजदुर घाइते

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

हेटौँडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालय हेटौँडाले डोजर प्रयोग गरी भत्काएका घर–टहराको उचित व्यवस्थापन नहुँदा गम्भीर सुरक्षा जोखिमको चपेटामा परेको छ । सडक विस्तारका क्रममा डोजर चलाएर धराप बनाइएका घर समयमै सुरक्षित नगर्दा र न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा दुर्घटनाको शृंखला बढेको छ । एक साताको अवधिमा धराप अवस्थामा छाडिएका घर सफाइ गर्ने क्रममा पाँचजना निर्माण मजदुर घाइते भएका छन् ।

आइतबार हेटौँडा उपमहानगरपालिका– १ उद्योग वाणिज्य संघअगाडि रहेको बिकी जैसवालको घर सफाइ गर्ने क्रममा तीनजना मजदुर घाइते भए । घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका– १, रानीसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका– ९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका– १, पुरन्दाका ३० वर्षीय अरुण चौधरी रहेका छन् । सन्तोष र दिनेशको मकवानपुर सहकारी अस्पतालमा तथा अरुणको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। तीनैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार हेटौँडा उपमहानगरपालिका– २ मा घर सफाइ गर्ने क्रममा पर्सा कालिकामाई गाउँपालिका– ९, जानकीटोलका १८ वर्षीय द्वारिका यादव घरबाट खसेर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यादवको ढाडको हड्डी फुस्किएको थियो र उनको हेटौँडा अस्पतालमा उपचार गरिएको छ । त्यसैगरी बुधबार हेटौँडा उपमहानगरपालिका– १ मै सडक डिभिजनले धराप पारेर छाडेको घर सफाइ गर्ने क्रममा दुईतले माथिल्लो ढलान खस्दा रौतहट माधवनारायण नगरपालिका– ७ का १९ वर्षीय जितेन्द्र माझी घाइते भएका थिए । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार सडक डिभिजन, स्थानीय प्रशासन र हेटौँडा उपमहानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दा दुर्घटना दोहोरिन थालेका छन् । निर्माण श्रमिक, व्यवसायी र पैदलयात्रीको सुरक्षाका लागि भत्काइएका संरचनाको तत्काल सुरक्षित व्यवस्थापन र स्पष्ट कार्ययोजना आवश्यक देखिएको छ ।
 

See More On

सुझावित समाचार