वाणिज्य बैंकको नाफामा १३.११ प्रतिशतको गिरावट

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको नाफा १३.११ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । चालू आवको पहिलो चार महिनामा बैंकहरूले १९ अर्ब ३७ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको कात्तिक मसान्तसम्म भने उनीहरूको नाफा २२ अर्ब २९ करोड ९० लाख रुपैयाँ थियो । यो लेखा परीक्षणअघिको नाफा हो । हाल नेपालमा सञ्चालित २० वाणिज्य बैंकले गत आवमा ७१ अर्ब ५१ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । 

जेन–जी आन्दोलनको असरका कारण बैंकहरूको नाफा प्रभावित भएको बताइएको छ । जेन–जी आन्दोलनका क्रममा व्यावसायिक संघ–संस्थामाथि तोडफोड तथा आक्रमण भयो । त्यसले व्यापार–व्यवसाय प्रभावित भयो । व्यापार–व्यवसाय नै नभएपछि ऋणको साँवा तथा ब्याजको किस्ता असुली हुन सकेको छैन । त्यसरी असुली नभएको ऋणमा प्रोभिजनिङ राख्नुपरेपछि नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् ।  

कुन बैंकको कति नाफा ? 
समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै दुई अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा नबिल बैंकले दुई अर्ब ४६ करोड ७१ लाख, तेस्रोमा प्राइम कमर्सियल बैंकले एक अर्ब ५८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, एभरेष्ट बैंकले एक अर्ब ५१ करोड ३४ लाख, एनएमबि बैंकले एक अर्ब २७ करोड ५७ लाख, कुमारी बैंकले एक अर्ब १८ करोड दुई लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १३ करोड ४४ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । 

यसैगरी, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमा बैंकले ७७ करोड ९२ लाख, प्रभु बैंकले ७३ करोड ७७ लाख, नेपाल एसबिआई बैंकले ६७ करोड २० लाख, सिद्धार्थ बैंकले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड नौ लाख र लक्ष्मी सन्राइज बैंकले ६२ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । माछापुच्छ«े बैंकले ६० करोड ९९ लाख, एनआइसी एसियाले ३४ करोड ३४ लाख, कृषि विकास बैंकले सात करोड ४९ लाख र सिटिजन्सले एक करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

सुझावित समाचार