सरकारी अस्पतालमै पाइँदैनन् स्वास्थ्य बिमाका साढे तीन सय प्रकारका औषधि

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण
  • महँगो औषधि अस्पतालमा नपाइने, पटक–पटक सर्भर तथा सफ्टवेयर बिग्रिने समस्याले सेवाग्राही मारमा

सरकारी अस्पतालहरूले उपचार गर्न आएका बिरामीलाई विभिन्न बहाना देखाएर बिमाका सबै औषधि दिने गरेका छैनन् । स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा यस्तो भेटिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमामा आबद्ध गराउँदा अस्पतालले एक हजार २९८ प्रकारका औषधि राखेकै हुनुपर्छ । तर, ढड्डामा लेखिएकामध्ये साढे तीन सय प्रकारका औषधि फेला परेनन् । मन्त्रालयका अनुसार सात सयदेखि ९५० प्रकारका औषधि मात्रै अस्पतालले राख्ने गरेका छन् ।

दैनिकजसो सफ्टवेयर बिग्रिँदा र बिमामा समेटिएका औषधि नपाउँदा सरकारी अस्पतालमा बिरामी र तिनका आफन्त भौँतारिरहेका हुन्छन् । बिमा सेवा लिँदा दुव्र्यवहार भएको, बिमामा औषधि नपाइएको, सफ्टवेयर नचलेकोलगायत गुनासा सेवाग्राहीले गर्ने गरेका छन् । मुख्यत: अस्पतालले बिमा सेवा सहज पार्न सफ्टवेयर मर्मत नगर्ने र तोकिएजति औषधि फार्मेसीमा नराख्दा बिरामीले हैरानी खेप्ने गरेका हुन् । 

बोर्डले बिमामा आबद्ध गराएपछि उपचार पाटो भने सम्बन्धित अस्पताल र औषधि व्यवस्था विभागसँग जोडिन्छ । विभागले अस्पतालहरूमा आवश्यक औषधि आपूर्ति गर्ने, अस्पतालहरूले बिमाको सेवालाई सहज पार्न व्यवस्थापकीय पक्ष चुस्त बनाउनुपर्ने हो । तर, पछिल्लो समय बिमाका कारण बिरामीहरू हैरान छन् । बिमा सेवा लिन कठिन भएको भन्दै कतिपयले बिमा नै गर्न खोज्दैनन् । बिमा लिएकाले पनि धेरै झन्झट बेहोर्नुपर्दा नवीकरण नगर्ने गरेको पाइन्छ । महँगो औषधि बिमामा अस्पतालमा नपाइने, पटक–पटक सर्भर तथा सफ्टवेयर बिग्रने, बिमाको सेवा लिन घण्टौँ लाइन लाग्नुपर्नेदेखि कर्मचारीको दुव्र्यवहारसमेत सहनुपर्ने बाध्यता सेवाग्राहीलाई छ । 

पाँच महिनाअघि स्वास्थ्य मन्त्रालयले देशभरका संघीय अस्पतालमा बिमा सेवा प्रवाहबारे अनुगमन गरेको थियो । त्यसक्रममा सबै अस्पतालमा बिमाबाट पाइने एक हजार २९८ प्रकारका औषधि भेटिएन । कतिपय अस्पतालले त बिमाको काउन्टरसमेत व्यवस्थित नगरेको पाइएको थियो । यस्तो भद्रगोल अवस्था पाइएपछि मन्त्रालयको टिमले काउन्टर व्यवस्थित गर्न र बिमाका सबै औषधि राख्न निर्देशन दिएको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पाँच महिनाअघि अनुगमन हुँदा बिमा सेवामा व्यापक समस्या देखिएको बताए । ‘हामीले सरकारी अस्पतालमा अनुगमन गर्दा धेरैमा बिमाका एक हजार २९८ मध्ये ९५० औषधि मात्रै भेट्यौं । कतिपय अस्पतालमा त सात सय प्रकारका मात्रै औषधि भेटियो,’ उनले भने । बिमाको औषधि बाहिरबाट बिरामीले ल्याउने गरेको देखिएपछि अनुगमन टोलीले बिमाको सबै औषधि राख्न कडा निर्देशन दिए पनि अझैसम्म त्यो समस्या ज्युका त्युँ छ ।

स्वास्थ्य मन्त्रालयले अनुगमन गर्दा वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, भक्तपुर क्यान्सर, सहिद गंगालाल हृदयरोग केन्द्रलगायतमा बिमाको औषधिसमेत पर्याप्त थिएन । यीमध्ये अधिकांश अस्पतालमा सात सयदेखि नौ सय प्रकारका मात्रै औषधि थिए । स्वास्थ्य बिमा बोर्डसँग भने अस्पतालहरूले एक हजार २९८ प्रकारकै औषधि दिने भनेर सम्झौता गर्छन्, तर व्यवहारमा भने लागू छैन । जेनेरिक नाममा समेत पर्ने ती औषधि नदिँदा बिरामी मारमा परेका छन् । ‘त्रिवि शिक्षण अस्पतालमा बुवाको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने थियो, तर आधाभन्दा बढी औषधि बाहिरी फार्मेसीबाट किन्नुपर्यो,’ स्याङ्जाका कुमार आचार्यले भने, ‘अस्पतालले बाहिरका फार्मेसीमा मात्रै पाइन्छ भनेपछि बाहिर गएर किन्नुपर्यो, सस्तो औषधि राख्ने, तर महँगो औषधि नराख्ने, यस्तो पनि हुन्छ ।’

बिमाको भुक्तानी नभएको बहानामा सेवा कमजोर
स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार सबैभन्दा बढी गुनासो बिमा सेवाबारे आउने गरेको छ । उनका अनुसार बिमाको भुक्तानी नभएको बहानामा अस्पतालहरूले बिमा सेवा कमजोर बनाउने गरेका छन् । ‘भुक्तानीमा केही ढिलो होला, तर भुक्तानी नै नहुने होइन । अस्पतालहरूले बिमाको औषधि नराख्ने र सेवामा दु:ख दिन पाइँदैन, हामीले यसअघि अनुगमन गरेर निर्देशनसमेत दिएका छौँ,’ उनले भने, ‘अधिकांश अस्पतालमा बिमाको सेवामा दु:ख पाएको बिरामीले गुनासो गरेका थिए ।’ बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले औषधि नपाउनु, अस्पतालको सर्भर बिग्रनु, बिरामीलाई राम्रो व्यवहार नगर्नु बोर्डसँग सम्बन्धित विषय नरहेको बताए । ‘बिमा बोर्डले त बिमामा आबद्ध पो गराउने हो, जसले सेवा दिन्छु भनेर सम्झौता गर्नुभएको छ, उहाँहरूले हो सहज बनाउने, तर अस्पतालहरूमा बिमाको औषधि नपाइने, सर्भर बिग्रने, कर्मचारीले राम्रो व्यवहार नगर्दाको दोष हामीले खेप्नुपरेको छ,’ उनले भने, ‘औषधि व्यवस्था विभागले आवश्यक औषधि उपलब्धता नगराउने, अस्पतालहरूले सर्भर बिगार्ने, सरकारले समयमा भुक्तानी नदिने दोष स्वास्थ्य बिमा बोर्डलाई मात्रै दिएर हुँदैन ।’ वीर अस्पतालका सहायक निर्देशक डा. मीनचन्द्र अधिकारीले बिमाको भुक्तानी समयमा नहुँदा सबै प्रकारका औषधि राख्न नसकिएको बताए । ‘बिमाको सबै औषधि पाइनुपर्ने हो, तर बिमामा गुनासो आउँछ, त्यो कुरा साँचो हो,’ उनले भने, ‘मुख्यत: समयमा अस्पताललाई स्वास्थ्य बिमाको भुक्तानी नहुँदा समस्या हुने गरेको छ, सेवामा असर परेको छ । बिमा सेवा प्रदान गर्दा स्टाफहरूको रिफरल लिनुपर्ने हुन्छ, त्यो पनि निकै झन्झटिलो छ ।’ वीरमा बिमामा हुनुपर्ने पिडियाट्रिक, गाइनो र आयुर्वेदिक औषधि नभएको उनले बताए ।

असारयताको नौ अर्ब २५ करोड भुक्तानी बाँकी 
बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार असारयताको नौ अर्ब २५ करोड सरकारबाट निकासा भएको छैन । जसमा असारदेखि असोजसम्मको सात अर्ब २५ करोड र कात्तिकको दुई अर्ब भुक्तानी बाँकी छ । स्वास्थ्य बिमाप्रदायक स्वास्थ्य संस्थाहरूले समयमै भुक्तानी नपाउँदा बिमाप्रति जिम्मेवारसमेत नभएको कार्यकारी निर्देशक काफ्लेले बताए । ‘हामीले हेर्ने भनेको बिमा गराउने, वित्तीय पाटो सहज पार्ने र अस्पतालहरूसँग समन्वय गर्ने हो, तर समन्वय गर्दा पनि कतिपय स्वास्थ्य संस्थाहरूले प्रभावकारी सेवा दिएका छैनन्, जसका कारण बिमामा व्यापक प्रश्न उठ्ने गरेको छ,’ उनले भने, ‘बिमाको सेवा राम्रो नहुनु वा सेवाग्राहीले प्रश्न उठाउनु भनेको बिमामा जनविश्वास घट्नु हो, त्यसकारण यसबारेमा ध्यान दिन जरुरी छ । 

हाल स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या ६५ लाख १० हजार पुगेको छ । यसमध्ये ३२ लाख ५० हजारहाराहारीले सेवा लिइरहेका छन् । सेवा लिनेको संख्या बढ्दै जाँदा सेवा प्रवाह भने कमजोर भएकाले बिरामीले दु:ख पाउने गरेका छन् । स्वास्थ्य बिमा बोर्डले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यालाई बिमामा आबद्ध गराउने लक्ष्य राखेको छ । बोर्डका अनुसार संघीय अस्पतालमा दैनिक एक हजार बिमामा आबद्ध भएका बिरामी उपचारका लागि पुग्छन् । तर, बिरामीअनुसार बिमा सेवा प्रवाह गर्ने जनशक्ति राखिएको छैन । कम जनशक्तिले सेवा दिँदा बिमामा आबद्ध बिरामीहरूले सेवा लिँदा निकै झन्झट खेप्ने गरेका छन् । 

स्वास्थ्य बिमाबारे स्वास्थ्य मन्त्रालयका गुनासोसमेत व्यापक आउने गरेको छ । मन्त्रालयले ०८१ मंसिरदेखि ०८२ असोजसम्म मन्त्रालयमा आउने गुनासोको रेकर्डसमेत अद्यावधिक गरेको थियो । जसमा सबैभन्दा बढी गुनासो बिमाबारे आएको आएको थियो । १० महिनाको अवधिमा मन्त्रालयमा २२५ वटा गुनासा आएका थिए । त्यसमध्ये १२५ वटा गुनासा स्वास्थ्य बिमाकेन्द्रित थिए । अधिकांश गुनासा बिमाको औषधि नपाइएको र सर्भर बिग्रँदा समस्या हुने गरेको आएको थियो । 

सुझावित समाचार