नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नेतृ आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ पहिलो नम्बरमा आरजुसहित चारजनाको नाम जिल्ला समितिलाई मंगलबार सिफारिस गरेको हो।
कांग्रेस क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले प्रत्यक्षतर्फ नेताहरू नरनारायण शाह ‘मनु’, डिल्लीराज पन्त र नृपबहादुर वडको नाम पनि सिफारिस गरिएको जानकारी दिए। उम्मेदवारमा सिफारिस शाह कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री, पन्त यसै क्षेत्रबाट निर्वाचत विघठित प्रतिनिधिसभा सदस्य र वड कांग्रेस केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरका निवर्तमान प्रमुख हुन्।
पार्टीले उम्मेदवारमा तीनजनाको नाम सिफारिस गर्न भने पनि निवेदन परेका चारैजनाको नाम जिल्लामा सिफारिस गरिएको प्रवक्ता पाठकले बताए। क्षेत्रीय समितिले उम्मेदवारका आकांक्षीलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निवेदन दिन सूचना जारी गरेको थियो। कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम पडाल आफैँ नेतृ राणाको वारेस बनेर निवेदन दिएका थिए। शाह आफैँ उपस्थित भएका थिए भने अन्य दुई आकांक्षीले पनि वारेसनामामार्फत उम्मेदवारका लागि निवेदन दिएका हुन्।
कांग्रेस कैलालीका एक पदाधिकारीका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुकै चाहनामा उनको नाम उम्मेदवारमा सिफारिस गरिएको हो। उनी २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी थिइन्। त्यसवेला उनी एमालेका नारदमुनि रानासँग पराजित भइन्। पछि २०७९ सालको निर्वाचन उनी यहीँबाट पुनः चुनाव लड्ने चर्चा थियो। तर अन्तिममा उनले समानुपातिक रोजिन्।
क्षेत्र नम्बर ५ बाट समानुपातिकतर्फ ११ जना र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीनजनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता पाठकले जानकारी दिए। समानुपातिकमा जीवन राना, गौरीकुमारी लामा, मनिराम देवल, सुशीला मिश्र, सुनिता राना, पुष्पा जोशी भट्ट, निपा चोखाल, जागृती बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बमको नाम सिफारिस गरिएको छ। त्यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको प्रवक्ता पाठकले जानकारी दिए।