नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्नका लागि मात्र कम्युनिस्ट पार्टीबिच एकता नगरेको बताएका छन् । धनगढीमा शुक्रबार आयोजित नेकपा एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रसामु आएका चुनौती सामना गर्न र नागरिकको आत्मसम्मान जोगाउन वामपन्थी, प्रगतिशील शक्तिबिच एकता गरिएको बताए ।
कतिपयले आफू सुरक्षित हुन र चुनावमा दुई–चार सिट जित्न एकता गरिएको हो भन्ने गरेको उल्लेख गर्दै प्रचण्डले त्यो गलत भएको दाबी गरे । ‘गत २४ भदौमा जुन विध्वंस भयो, नेपालको राष्ट्रिय स्वाधीनता, भयानक संकटमा पुग्यो । केही घण्टा नेपाल राज्यविहीनजस्तो देखियो । कसको हातमा थियो छ– सात घण्टा नेपाल, कसले चलाएको थियो त्यतिवेला ? कोही नेता सुरक्षित थिएनन्, कसैका अफिस सुरक्षित भएनन्, इतिहासका सबै धरोहर जलाइए । कसले गर्यो त्यो काम ? निकै गम्भीर छ यो प्रश्न,’ प्रचण्डले भने, ‘त्यसकारण हामीले सोचेको के हो भने सबै नेपाली, वामपन्थी र देशभक्त एकता नगरी राष्ट्रका सामु आएको संकट सामना गर्न सकिँदैन ।’
नेपाली जनताको आत्मसम्मान र आफ्नोबारेमा निर्णय गर्ने अधिकारलाई सुरक्षित गर्न एकता अभियान सुरु गरिएको उनको भनाइ छ । सबै नेपाली, सबै वामपन्थी, प्रगतिशील र देशभक्तहरूलाई एकताबद्ध नगरी राष्ट्रका अगाडि आएको संकटको सामना गर्न नसकिने उनले बताए । लोकतन्त्रवादी शक्तिलाई पनि एउटै मोर्चामा ल्याउन आवश्यक रहेकाले गैरकम्युनिस्ट देशभक्त र लोकतन्त्रवादीसँग पनि कुरा सकारात्मक भइरहेको प्रचण्डको भनाइ थियो ।
‘हामीले स्वाधीनताको रक्षासँगै कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, आर्थिक, भौतिक विकासमा कायापलट गर्नु छ,’ प्रचण्डले भने, ‘त्यही गर्न नसकेकाले जेन–जी युवाले हामीलाई खबरदारी गरेका हुन् । हामीले आत्मालोचना गर्नुपर्छ, हामीले गरेका छौँ ।’
प्रचण्डले १५ वटाभन्दा बढी वामपन्थी घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको उल्लेख गर्दै यतिले पुग्यो भन्ने पक्षमा आफूहरू नरहेको बताए । एमालेभित्र रहेका देशभक्त वामपन्थीहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा गोलबद्ध हुन आह्वानसमेत उनले गरे । ‘यति भयो, पुग्यो भन्नेमा हामी छैनौँ । यो राष्ट्रको रक्षाको निम्ति, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिका निम्ति हामीले अन्य वामपन्थी शक्तिसँग पनि र हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ,’ उनले भने, ‘एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि नेपाली कम्युनिस्ट पार्टीमै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’
एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले हिजो आफैँ संसद् विघटन गर्नेहरूले अहिले चुनावलाई स्वीकार गरेर जानुको साटो संसद् पुनस्र्थापनाको उल्टो कुरा कुरा गरिरहेको टिप्पणी गरे । उल्टो बाटो हिँडेर नेपाली जनता र राष्ट्रलाई दु:ख दिनेलाई जनताले चुनावमा सबक सिकाउनुपर्ने उनले बताए । उनले अहिले निर्वाचनको विकल्प नभएको बताए ।
नेपाली विशेषताको समाजवाद निर्माण गर्ने संकल्प लिएर अघि बढेका छौँ : नेपाल
सभामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टी नेपाली विशेषताको समाजवाद निर्माणको संकल्प लिएर अघि बढेको बताए । समानता, न्याय, विकास, समृद्ध जीवनको भावना लिएर पार्टी अघि बढेको उनको भनाइ छ ।
जनतालाई केन्द्रमा राख्ने, सुशासनप्रति प्रतिबद्ध हुने, नैतिकता, मूल्य–मान्यताप्रति, सामाजिक न्याय र समावेशिताप्रति प्रतिबद्ध भएर, विविधतालाई स्वीकार गरेर पार्टी अगाडि बढेको नेपालले बताए । नयाँ क्रान्तिकारी पार्टी बनाउने संकल्प लिएर नेपाली कम्युनिस्ट पार्टी गठन गरेको उनको भनाइ छ ।
‘नेपाली कम्युनिस्ट पार्टी जनताको भरोसाको केन्द्र हो । राजनीतिमा हामी देखिरहेका छौँ, दलालीकरणको प्रवृत्ति, ठेकेदारीकरणको प्रवृत्ति, व्यापारीकरणको प्रवृत्ति, भष्टीकरणको प्रवृत्तिको अन्त्य गरेर नेपालको राजनीतिलाई स्वस्थ बनाउने कामको अगुवाइ नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ,’ नेपालले भने, ‘कुशासन र भ्रष्टाचार अन्त्यको कामलाई हाम्रो पार्टीले गर्नेछ ।’
देश–दुनियाँमा ख्याति कमाएका व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिँदै गएको उल्लेख गर्दै उनले नयाँ नेपाल बनाउने नेपाली कम्युनिस्ट पार्टीको संकल्पमा साथ दिन आह्वान गरे । एकताप्रति जनताले विश्वास देखाएको नेपालको भनाइ थियो ।
जनतालाई केन्द्रमा राख्ने, सुशासन कायम राख्ने, सामाजिक सद्भाव बढाउने कुरामा पार्टीले ध्यान दिने उनले बताए । ०७५ मै नेकपा गठन गरेर कम्युनिस्ट एकताको प्रयास गरिए पनि गलत पात्रका कारण पार्टी विखण्डनको अवस्थामा पुगेको उनले बताए । सहसंयोजक नेपालले नेकपा विखण्डनबाट पाठ सिकेर आफूहरू अगाडि बढेको दाबी गरे । सभामा एमाले अछामका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य भरत साउदसहित एमाले तथा अन्य पार्टीबाट थुप्रै नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।