नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी–व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी–व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानका लागि निरन्तर लागिपरेको बताए ।
‘हामी (महासंघ)ले उद्यमी–व्यवसायीका हरेक अप्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस् वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस् वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी–व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, संवाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,’ उनले बताए ।
उनले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाका लागि ठुलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताउँदै त्यसका लागि मुलुक तथा मुलुकबाहिर छरिएर रहेको सानो–सानो पुँजी संकलन गरी ठुला र बहुआयामिक आयोजनामा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध संघ–संस्था र त्यसका सदस्यहरूको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए ।