भोजपुर–काठमाडौं उडान थप, बिरामीलाई भयो सहज

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं रुटमा थप दुई उडान थपेको छ । यससँगै जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ ।

सातामा दुईवटा उडान गर्दै आएको निगमले अहिले सातामा चारवटा उडान गर्न थालेको छ । यसअघि उडान कम हुँदा बाह्य अस्पतालमा बिरामी लैजान समस्या हुँदै आएको थियो ।

आकस्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठुलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका– १२ का स्थानीय पर्शुराम कार्कीले बताए । उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौंका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।

निगमले काठमाडौं–भोजपुर–काठमाडौं उडानतालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ । 

प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्न आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ । भोजपुरमा नेपाल वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौं, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ ।

See More On

सुझावित समाचार