एभरेस्ट महिला भलिबल लिग कर्णालीले रक्षा गर्‍यो उपाधि

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

कर्णाली यसविस लगातार दोस्रोपटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा सुमित्रा रेग्मी मार्की रहेको कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । खेलमा कर्णाली २६–२४,२५–१७,१३–२५,१७–२५ र १५–८ ले विजयी भएको हो । पहिलो संस्करणमा पनि यी दुई क्लब नै फाइनलमा भेटेका थिए । यस प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पनि कर्णालीकै कप्तान सुमित्रा घोषित भइन् । 

कप्तान सुमित्रासहित नेबिका चौधरी र साफिया पुन चम्किएपछि कर्णालीले पहिलो सेट २६–२४ ले जित्यो । दोस्रो सेटमा पनि कर्णाली २५–१७ ले जित निकाल्दै २–० को जित निकाल्यो । तर, तेस्रो सेटमा कर्णालीलाई ललितपुरले २५–१३ ले रोकेको थियो । मार्की सलिना श्रेष्ठ, संगम महतो र सलिना मगरलगायत खेलाडी चम्किएपछि चौथो सेटमा पुन: ललितपुर विजयी हुँदै खेल २–२ को बराबरीमा पुग्यो । निर्णायक सेटमा कुमार राईको प्रशिक्षणमा रहेको कर्णाली १५–८ ले विजयी भएको हो । 

प्रतियोगितामा लगातार दोस्रोपटक टोलीलाई च्याम्पियन बनाएकी सुमित्रा सर्वाेत्कृष्ट हुँदा कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । उनीसँगै कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर, जसना महतो उत्कृष्ट सेटर घोषित भइन् । दोस्रो भएको ललितपुरकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, संगम महतो उत्कृष्ट ब्लकर, तेस्रो भएको काठमाडौं स्पाइकर्सकी उषा भण्डारी उत्कृष्ट स्ट्राइकर चिनिइन् ।

See More On

सुझावित समाचार