- पुराना दलप्रतिको निराशाबिच नयाँ अनुहारले जनतामा आशा जगाए पनि संगठन र नीतिको स्पष्टताविना त्यो विकल्प कठिन छ
नेपालको राजनीतिक यात्राले परिवर्तनका अनेक चरण पार गरेको छ– ०४६ को बहुदलीय आन्दोलन, ०५२–०६२ को माओवादी युद्ध, ०६२/६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र घोषणा । तर, गणतन्त्र घोषणको २० वर्षपछि पनि देशले स्थायित्व र सुशासनको अनुभूति गर्न भने सकेको छैन । मुख्य धारका दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र नै तीन दशकदेखि सत्तामा आलोपालो घुमफिर गर्दै छन् । तर, जनताले चाहेको सुशासन, रोजगारी, पारदर्शिता र सेवामुखी राज्य अझै परिकल्पनाभित्र मात्रै सीमित छ ।
नेपालको राजनीतिक इतिहास हरेक दशकमा नयाँ प्रयोग र निराशाको चक्रभित्र घुमिरहेको छ । जनआन्दोलनको बलमा जन्मिएको लोकतन्त्रले नागरिकलाई अधिकार त दियो, तर शासन प्रणाली अझै पनि व्यक्तिनिर्भर, अस्थिर र अपारदर्शी नै रह्यो । तीन दशकदेखि देश चलाउँदै आएका मुख्य दल कांग्रेस, एमाले र माओवादीको कार्यशैलीप्रति जनताको मोहभंग स्पष्ट छ ।
यही असन्तुष्टिले पछिल्लो दशकमा वैकल्पिक राजनीतिक शक्ति खोज्ने लहर ल्यायो । तर, ती लहर उज्ज्वल थापादेखि बाबुराम भट्टराई, रवीन्द्र मिश्रदेखि रवि लामिछानेसम्म किन स्थायी हुन सकेनन् ? यसको जवाफ नेपालकै राजनीतिक संरचनाभित्र लुकेको छ ।
विवेकशील नेपालीदेखि रास्वपासम्मको वैकल्पिक यात्रा : २०६९ सालमा उज्ज्वल थापाले सुरु गरेको विवेकशील नेपाली दलले राजनीति सफा गर्न सकिने सम्भावनाको बिउ रोप्यो । ‘इमानदार नागरिकको राजनीति’ भन्ने नारा युवामा लोकप्रिय भयो । तर, संस्थापक थापाको असामयिक निधनपछि संगठन दिशाहीन बन्यो । त्यसपछि रवीन्द्र मिश्र र मिलन पाण्डेबिचको सहकार्यमा विवेकशील–साझा पार्टी जन्मियो । ‘साझा विकल्प’ भन्ने नारा गुञ्जियो । तर, नेतृत्व संघर्ष र व्यक्तिगत महत्वाकांक्षाले पार्टी फुट्यो ।
२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले फेरि जनताको ध्यान तानेको देखियो । रवि लामिछानेको ‘क्लिन इमेज’ र मिडियाकर्मी पृष्ठभूमिले युवालाई आकर्षित गर्यो । पहिलो निर्वाचनमै उननले उल्लेख्य मत ल्याए । धेरैले यसलाई नयाँ राजनीतिक लहर ठाने । तर, सरकारमा पुगेपछि पार्टीले पुरानै गल्ती दोहोर्यायो । आन्तरिक द्वन्द्व, पदलोलुपता र अस्पष्ट नीतिका कारण जनताको विश्वास फेरि खस्किँदो क्रममा रहेको देखिन्छ ।
डा. बाबुराम भट्टराईको वैकल्पिक प्रयोग : माओवादी आन्दोलनका प्रमुख विचारक डा. बाबुराम भट्टराईले २०७२ सालमा माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल बनाए । उनको उद्देश्य थियो– ‘विचारमा वैज्ञानिक, नेतृत्वमा नयाँ र प्रणालीमा इमानदार दल निर्माण ।’ तर, नयाँ शक्तिले वैकल्पिक ऊर्जा जुटाउन सकेन । पुराना कार्यकर्ता संरचना नभएको, कमजोर संगठन र नेतृत्वको आत्मकेन्द्रितताका कारण पार्टी जनस्तरमा फैलिन सकेन । पछि उनले नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग एकीकृत गरी जनता समाजवादी पार्टी (जसपा) बनाए । तर, जसपाभित्र पनि नेतृत्वबिचको स्वार्थ–संघर्षले उनको भूमिका कमजोर बनायो । ०७९ तिर उनले पुन: जसपाबाट अलग भएर अर्को ‘नयाँ दल निर्माण’को पहल गरे । तर, जनताले यसपटक उनलाई विकल्पका रूपमा हेरेनन् । डा. भट्टराईको यात्राले देखाउँछ कि विचारमा वैकल्पिक तर व्यवहारमा परम्परागत हुँदा कुनै पनि नयाँ शक्ति टिक्दैन ।
त्यस्तै, माधवकुमार नेपाल र नेकपा एकीकृत समाजवादीको प्रयोग हेर्दा ०७८ सालमा नेकपा एमाले फुट्दा माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको थियो । उनले दाबी गरे– ‘हामी पार्टी होइन, नीति र नैतिकता पुनर्स्थापित गर्न आएका हौँ ।’ तर, दुई वर्षभित्रै पार्टी सत्ता–साझेदारको भूमिकामा सीमित भयो । सरकारमा भाग लिएर पनि आफ्नो वैकल्पिक चरित्र प्रमाणित गर्न असफल रह्यो । फुटेको एमाले र माओवादीबिचको भिन्नता अब जनताले बुझ्नै छाडेका छन् । त्यसैले, एकीकृत समाजवादी पनि जनताका दृष्टिमा अर्को ‘पदनिर्भर दल’ मात्र देखियो । र अहिले आएर माधवकुमार नेपाल, प्रचण्डलगायत अन्य नेताले फेरि आफ्नो शाख जोगाउन १० दलीय नयाँ गठबन्धन गरेका छन् ।
वैकल्पिक दलहरूको असफलताको कारण : नेपालमा वैकल्पिक दल बारम्बार जन्मिए, तर टिक्न सकेनन् । यसको मूल कारणका रूपमा विभिन्न राजनितिक विशलेषकको फरक–फरक मत आए पनि केही कारणलाई यसरी हेर्न सकिन्छ :
व्यक्ति–निर्भरता : नयाँ दलहरू नेता–केन्द्रित हुन्छन् । संस्थागत नेतृत्व प्रणाली विकास नहुँदा दलको अस्तित्व नेतासँगै हराउँछ ।
नीतिगत अस्पष्टता : भ्रष्टाचारको विरोध र परिवर्तनको नारा मात्र पर्याप्त हुँदैन । भरपर्दो आर्थिक नीति, संघीयता, शिक्षा, स्वास्थ्य र रोजगारीमा ठोस दृष्टिकोण नहुँदा वैकल्पिक भनिएका दलहरूले अल्पकालीन ताली त पाउँछन्, दीर्घकालीन समर्थन होइन ।
संगठनको अभाव : पुराना दलले गाउँ–गाउँमा संगठनसहित जरा गाडेका छन् । वैकल्पिक दल प्राय: सहर र सामाजिक सञ्जालमा सीमित छन् । जसले ग्रामीण जनतासँग दूरी बढाउँछ ।
विश्वका सफल वैकल्पिक शक्तिबाट सिक्नुपर्ने पाठ : भारतमा अरविन्द केजरिवालको आम आदमी पार्टी (आप) ले भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएर दिल्ली र पञ्जाबमा सशक्त सरकार सञ्चालन गर्यो । केजरिवालले शिक्षा, स्वास्थ्य र पारदर्शितामा केन्द्रित नीति ल्याएर सफलता पाए । फ्रान्समा इम्यानुएल माक्रोँले पुराना पार्टीबाट निराश नागरिकलाई एकत्रित गर्दै ‘ल’रेपुब्लिक एन मार्चे’ नामक दल स्थापना गरेर राष्ट्रपतिमा विजयी भए ।
इटलीमा बेप्पे ग्रिलको फाइभ स्टार मुभमेन्टले जनताको अनलाइन सहभागिता र पारदर्शी निर्णय प्रणालीका कारण उल्लेखनीय प्रभाव पारेको थियो । यी उदाहरणले स्पष्ट गर्छन्, वैकल्पिक राजनीति सफल हुन तीन आधार चाहिन्छ : १. स्पष्ट नीति, २. संगठनात्मक सुदृढता र ३. नैतिक नेतृत्व र पारदर्शिता ।
नेपालको वर्तमान राजनीतिक परिदृश्य : अहिले नेपालमा संसद् विघटित छ । यसअघिको सरकार गठबन्धनमा अडिएको थियो । प्रमुख दल भित्रभित्रै नेतृत्व–संघर्षमा थिए । गठबन्धनको सरकारले जनताका लागि चाहिने कामभन्दा पनि व्यक्तिगत स्वार्थ, नैतिकहीन चरित्र, पारिवारिक मोह तथा लुटतन्त्रमा लुप्त सरकार तथा नेताका कारणले देशमा जेन–जी आन्दोलनबाट जेन–जीको सहमतिमा नयाँ सरकार बन्यो । देशको अर्थतन्त्र कमजोर छ, बेरोजगारी बढ्दो छ र शिक्षाको निजीकरणले आमनागरिकलाई झन् टाढा पुर्याएको छ । यस्तो अवस्थामा जनतामा वैकल्पिक नेतृत्वको चाहना स्वाभाविक बनेको छ । तर, यो चाहनालाई मूर्त रूप दिन भावनात्मक विरोधभन्दा बढी व्यावहारिक दृष्टिकोण आवश्यक छ ।
नयाँ नेतृत्वको सम्भावना, एकता र दृष्टिकोण : आज नेपालमा केही अनुहार छन्, जसले जनस्तरमा आशा जगाएका छन् । बालेन साह, सुमना श्रेष्ठ, कुलमान घिसिङ, मिलन पाण्डे, सागर ढकाल, पुकार बम, गोपी हमाल, रन्जु दर्शना, हर्क सम्पाङलगायत यी सबैले आ–आफ्नो क्षेत्रमा इमानदारी, व्यावहारिकता र जनसेवामा तदारुकता देखाएका छन् । उनीहरू व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर देशलाई पहिलो प्राथमिकता दिँदै साझा प्लेटफर्ममा जुटे भने यो देशमा साँच्चै वैकल्पिक शक्ति निर्माण सम्भव छ । तर, यसका लागि तीन स्पष्ट काम गर्न जरुरी छ :
नीति निर्माणमा स्पष्ट दृष्टिकोण : राज्यको दायित्व शिक्षा, स्वास्थ्य, रोजगारी, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्ने नीति जनतासामु खुला गर्नुपर्छ ।
गाउँदेखि केन्द्रसम्म संगठन : वैकल्पिक राजनीति सहरका युवामा सीमित रह्यो भने विफल हुन्छ । ग्रामीण जनतासँग प्रत्यक्ष सम्पर्क र सहभागिता जरुरी छ ।
पारदर्शी र उत्तरदायी नेतृत्व : दलभित्रको आर्थिक पारदर्शिता र निर्णय प्रक्रिया खुला हुँदा मात्र विश्वास बढ्छ ।
आगामी निर्वाचन र निर्णायक मोड : ०८२ सालको प्रतिनिधिसभा निर्वाचन नेपालका लागि निर्णायक बन्न सक्छ । जनताले पुराना दलप्रतिको मोहभंगबिच नयाँ विकल्प खोजिरहेका छन् । नयाँ शक्ति संयम, तयारी र प्रस्ट दृष्टिकोणसाथ प्रस्तुत भयो भने जनमतले त्यसलाई स्विकार्ने सम्भावना उच्च छ । तर, इतिहासले सिकाउँछ, केवल राग, आक्रोश र लोकप्रियताले सत्ता जित्न सकिएला, तर दृष्टि, नीति र संगठनविना देश चलाउन सकिँदैन ।
अन्य देशको सन्देश : दक्षिण कोरियाले तानाशाहीपछि शिक्षा र प्राविधिक दक्षतामा लगानी गरेर आर्थिक क्रान्ति गर्यो । सिंगापुरले शून्य भ्रष्टाचार नीति र दक्ष ब्युरोक्रेसीद्वारा स्थायित्व ल्यायो । भूटानले सफा शासन र स्थानीय सशक्तीकरणमा जोड दियो । यी देशको अनुभवले बताउँछ– देश बदल्न नयाँ दलको संख्या होइन, इमानदार दृष्टि, दीर्घ रणनीति र संस्थागत अनुशासन चाहिन्छ ।
निष्कर्ष : नेपालमा जनताले विकल्प खोज्न छाडेका छैनन्, केवल विश्वास गुमाएका छन् । यो विश्वास फिर्ता ल्याउन नयाँ शक्ति आवश्यक छ । तर, त्यो शक्ति सफा छवि मात्र होइन, दृढ दृष्टिकोण र नीति–स्पष्टतासहित आउनुपर्छ । यदि बालेनको व्यावहारिकता, कुलमानको समर्पण, सुमना श्रेष्ठको प्राविधिक ज्ञान, रन्जु दर्शना र सागर ढकालको युवाशक्ति, मिलन पाण्डे र पुकार बमको नीति–अनुभव एकै ठाउँमा जोडिए भने त्यो दल मात्र होइन, नयाँ युगको सुरुवात हुनेछ । देशलाई अहिले दलभन्दा बढी दिशा, सत्ताभन्दा बढी सेवा र भाषणभन्दा बढी व्यवहार चाहिएको छ । वैकल्पिक राजनीति कठिन यात्रा हो, तर असम्भव छैन । नेपाल फेरि पनि उठ्न सक्छ, तर त्यसका लागि नयाँ पुस्ताले ‘देश पहिले, स्वार्थ पछि’ भन्ने प्रतिज्ञा लिन सक्नुपर्छ ।
(शर्मा शिक्षा, सामाजिक न्याय र युवा नेतृत्वका विषयमा कलम चलाउँछन्)