६ जनालाई स्थानहद : उच्चपदस्थको बयान लिने तयारीमा जाँचबुझ आयोग

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौको घटनामा भएको क्षतिको विषयमा गठित जाँचबुझ आयोगले उच्चपदस्थको बयान लिने तयारी गरेको छ। आयोगले आन्दोलन दमनमा संलग्न ६ जनालाई स्थानहद तोकेर विदेश भ्रमणसमेत रोक लगाएको छ। 

बिहीबार निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाउनुका साथै अनुमतिबेगर उपत्यकासमेत नछाड्न निर्देशन दिएको छ। २३ भदौको आन्दोलन दमनबारे तत्कालीन आइजिपी खापुङसँग बयान लिने आयोगको तयारी छ । खापुङले यसअघि आयोगलाई छानबिनमा समेत असहयोग गरेपछि स्पष्टीकरण सोधिएको थियो। 

आयोगले एक महिनाअघि नै पाँजनालाई विदेश जान रोक लगाउँदै स्थानहद तोकेको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, गुप्तचर प्रमुख हुतराज थापा र तत्कालीन काठमाडाैंका सिडिओ छवि रिजाललाई स्थानहद तोकिएको थियो । जेन–जी आन्दोलनमाथि बल प्रयोगमा मुख्य भूमिका देखिएकाले उनीहरूलाई स्थानहद तोकिएको आयोगका एक सदस्य बताउँछन् । 

एक सातायता आयोगले बयान लिन सुरु गरेको छ। हाल फिल्डमा खटिएका प्रहरीको बयान लिइरहेको छ। उनीहरूको बयान सकिएपछि तत्कालीन आइजिपी खापुङ हुँदै तत्कालीन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको बयान लिइने आयोगले जनाएको छ। ओली र लेखकलाई छानबिनको दायरामा ल्याउन ढिलाइ गरिएकोमा जेन–जी अगुवाहरूले असन्तुष्टि जनाउँदै आएका छन्। 

आयोगको म्याद ५ पुसम्म रहेको छ। सो अवधिभित्रै प्रतिवेदन तयार गर्ने गरी आयोगले छानबिनलाई तीव्रता दिएको छ। 
 

सुझावित समाचार