उपत्यकाबाहेक बागमतीका कारागारबाट भागेकामध्ये ४३९ कैदी अझै फरार

फरारमध्ये हालसम्म एक हजार ३७९ जनालाई नियन्त्रणमा लिएर पुन: कारागार पठाइयो

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

गत २३ र २४ असोजमा जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका उपत्यकाबाहेकका पाँच जिल्लाका कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ४३९ जना फरार छन् । बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मकवानपुर, धादिङ, चितवन, रसुवा र सिन्धुलीका कारागारबाट एक हजार ८१८ जना कैदीबन्दी फरार भएका थिए ।

तीमध्ये हालसम्म एक हजार ३७९ जनालाई नियन्त्रणमा लिएर पुन: कारागार पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा आएकामध्ये केही आफैँ फर्किएका हुन् भने धेरैलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी पुन: कारागार पठाएको हो ।

प्रदेश प्रहरी कार्यलय हेटौँडाको तथ्यांकअनुसार मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट ४४० जना कैदी फरार भएका थिए । तीमध्ये २६८ जनालाई नियन्त्रणमा लिइए पनि १७२ जना अझै फरार छन् । उनीहरूको खोजीकार्य भइरहेको बस्नेतले बताए । यस्तै, हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङस्थित बाल सुधारगृहबाट फरार भएका ७२ मध्ये ६२ जनालाई नियन्त्रणमा लिइए पनि १० जना अझै बेपत्ता छन् । फरार रहेका बालकको खोजीका लागि प्रहरीले परिवार र सम्बन्धित निकायसँग पनि समन्वय गरिरहेको उनको भनाइ छ ।

चितवन कारागारबाट आन्दोलनकै क्रममा फरार भएका ७३८ जना कैदीमध्ये हालसम्म ६०३ जनालाई नियन्त्रणमा लिइएको छ । १३५ जना अझै फरार छन् । फरारमध्ये केहीले भारत सीमावर्ती क्षेत्र हुँदै बाहिरिने प्रयास गरेकाले प्रहरीले विशेष खोजी टोली खटाएको प्रवक्ता बस्नेतले जानकारी दिए । 

आन्दोलनको फाइदा उठाउँदै रसुवा कारागारबाट ९७ जना फरार भएकामध्ये ९४ जनालाई पुन: नियन्त्रणमा लिइएको छ भने बाँकी तीनजनाको खोजी भइरहेको छ । सिन्धुली कारागारबाट ४७१ जना फरार भएकामध्ये ३५२ जनालाई पुन: कारागारमा ल्याइएको छ । ११९ जना अझै फरार रहेको प्रवक्ता बस्नेतले बताए ।

प्रहरीका अनुसार फरार रहेका कैदीबन्दीमध्ये अधिकांश जघन्य अपराधमा संलग्न छन् । वन्यजन्तुका सिकारी, बलात्कार, लागुऔषध कारोबार, अपहरण र कर्तव्य ज्यानजस्ता गम्भीर अपराधका अभियुक्त फरार भएपछि विभिन्न जिल्लामा त्रास फैलिएको प्रहरीले जनाएको छ । फरार कैदीबन्दीले सामाजिक सुरक्षामा असर पुर्याउने जोखिम बढेको भन्दै प्रदेश प्रहरीले उच्च सतर्कता अपनाएको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

उनका अनुसार सम्पूर्ण फरार कैदीहरूको विवरण जिल्ला–जिल्लामा पठाइसकिएको र भारतीय सीमाक्षेत्रमा समेत निगरानी कडा पारिएको छ । उनले फरार कैदीबन्दीबारे जानकारी पाए तुरुन्त नजिकको प्रहरी कार्यलयमा खबर गरिदिन नागरिकहरूलाई पनि सूचित गरेको बताए । ‘हामीले प्रदेशका सबै जिल्लाका प्रहरी इकाइलाई खोजी र नियन्त्रणका लागि सक्रिय बनाएका छौँ,’ बस्नेतले भने, ‘नागरिकको सहयोगविना फरार कैदीबन्दीको खोजी कठिन हुन्छ, त्यसैले जोसुकैले फरार कैदीबारे जानकारी पाए पनि तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेका छौँ ।’

सुझावित समाचार