जेन–जी आन्दोलनमा लुटिएका हतियार गिरोहको हातमा पुग्ने जोखिम

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण
  • स्वचालित मेसिनगनसहित तारकेश्वरबाट पक्राउ परेको समूहले तीनकुनेमा पनि हतियार लुकाएको भेटियो, अझै ५५० थान हतियार बाहिरै

जेन–जी आन्दोलनमा लुटिएका हतियारसहित पक्राउ परेका २३ वर्षीय शिवराज धमलाको समूहले तीनकुनेमा पनि हतियार लुकाएर राखेको खुलेको छ । प्रहरीले घटनास्थलबाट एउटा ग्यास गन र प्रोटेक्टिङका अन्य सुरक्षा सामग्रीसमेत बरामद गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बरामद ग्यास गन कैलालीका जनक चलाउनेले तीनकुनेस्थित साथीको डेरामा लुकाइराखेका थिए । उनलाई प्रहरीले कैलालीबाट बिहीबार पक्राउ गरेको हो । प्रहरीले बुधबार मात्रै धमलाले तारकेश्वर नगरपालिका– ११ हिलेटोल हाइटमा लुकाइराखेको स्वचालित मेसिन गनसहितका हतियार बरामद गरेको थियो । उनकै सूचनापछि चलाउनेलाई पक्राउ गरिएको प्रहरको भनाइ छ । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले धमला र चलाउने एउटै समूहको सदस्य रहेको बताए । ‘बुधबार दिउँसो स्वचालित गनसहित तारकेश्वरबाट धमला पक्राउ परे । सोधपुछका क्रममा यिनीहरूसँग अरू पनि हतियार रहेको खुल्यो । यही क्रममा चलाउनेको नाम आएपछि उनलाई पक्राउ गरियो । उनकै बयानका आधारमा तीनकुनेमा लुकाइराखिएको एउटा ग्यास गन फेला पर्यो,’ उनले भने ।

प्रहरीले बुधबार तारकेश्वर नगरपालिका– ११ हिलेटोल हाइटबाट टाइप –५४–५५०१०७२३ नं. को एउट पेस्तोल र त्यसमा लाग्ने तीनवटा म्यागजिन, ए१००५९ नं. को इन्सास एउटा राइफल र सोको एउटा म्यागजिन, ०११४०८९ नं. को सटगन र राइफलमा प्रयोग हुने १० थान रबर बुलेट बरामद गरेको थियो । उक्त हतियार धमलाले लुकाइराखेका थिए । स्थानीयको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो । खनतलासी लिँदा उक्त हतियार फेला परेको थियो । 

कैलाली टीकापुर नगरपालिका– १ एकतानगर शिविरका धमला होस्टेलमा बसी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान इपिएस कक्षाको तयारी गर्दै थिए । फुर्सदको समयमा उनले पठाओ चलाउने गर्थे । प्रहरीका अनुसार उनीहरू लुटिएका हतियार बिक्री गर्ने तयारीमा थिए । सोही प्रयोजनका लागि लुकाइएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी आचार्यले बताए । 

आन्दोलनका क्रममा लुटिएका हतियार यसअघि पनि बिक्री भएका थिए । घटनामा संलग्न भारत सीतामढीका २४ वर्षीय अकबर खान, काठमाडौंका २५ वर्षीय राजन देउला, धादिङ धुनीबेँसीका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं बिजेश्वरीका २६ वर्षीय सुमिन शाक्यलाई अनुसन्धान कार्यालयकै टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले लुटिएका हतियार नयाँ बानेश्वरका ३८ वर्षीय प्रभात मल्ललाई पाँच लाख रुपैयाँमा बेचेका थिए । खरिदमा संलग्न मल्ललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले आन्दोलनका क्रममा प्रहरीको पेस्तोल, त्यसको म्यागजिन र १५ राउन्ड गोली लुटेका थिए ।

५५० थान हतियार अझै फेला परेनन्
प्रहरीका अनुसार आन्दोलनका क्रममा लुटिएकामध्ये हालसम्म साढे सात सय थान हतियार मात्रै बरामद भएका छन् । बाँकी ५५० थान हतियार अझै फेला पर्न सकेका छैनन् । प्रदर्शनकारीले मुलुकभरबाट प्रहरीको झन्डै एक हजार पाँच सय थान हतियार लुटेका थिए । प्रहरीका अनुसार लुटिएकामध्ये दुई सय थान हतियार जलेको अवस्थामा फेला परेका छन् । 

लुटिएका हतियार प्रतिनिधिसभाको निर्वाचनअगावै बरामद गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष अप्रेसन सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसलगत्तै गृहमातहतको दुवै सुरक्षा निकायले हतियार खोजी कार्यलाई तीव्रता दिएका छन् । तर, लुटिएका हतियार अझै फेला पर्न सकेका छैनन् । 

लुटिएका हतियार अझै पनि संगठित गिरोहको हात नपरेको, तर लुटपाटमा संलग्न हुनेहरूको बिक्री गर्ने योजना भएको हुँदा त्यस्ता हतियार कुनै पनि वेला संगठित गिरोहको हात पुग्न सक्ने प्रहरीको विश्लेषण छ । यसलाई रोक्न प्रहरीले उपत्यकाभित्र विशेष सर्च अभियान चलाउने तयारी गरेको छ । ‘लुटिएका हतियार अहिलेसम्म संगठित गिरोहको हातमा पुगिसकेको छैन । लुटपाटमा संलग्न हुनेहरूले ग्राहक खोजिरहेका छन् । यी दुई पक्ष कुनै पनि वेला भेट हुन सक्छ । यदि त्यस्ता हतियार संगठित गिरोहको हात लाग्यो भने सुरक्षा चुनौती बढ्न सक्छ । त्यसो हुँदा प्रहरीले केही समयभित्रै विशेष सर्च अभियान चलाउने तयारी गरेको छ । चुनावअघिसम्म मुलुकभर यो अभियान सञ्चालन हुनेछ,’ प्रहरी स्रोतले भन्यो ।

See More On

सुझावित समाचार