कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढेको छ। उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले यी दुई पदमा आवेदन माग गरेको छ।
१५ दिनको समय दिएर आवेदन माग गरेको समितिले आवेदकमध्ये विश्वविद्यालयको सोचपत्र र रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा बढी अंक पाउने तीनजनाको नाम विश्वविद्यालय सभासमक्ष पेस गर्नेछ।
गत २८ मा बसेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। डा. दीपक महरा र प्राध्यापक भारती जोशी समितिको सदस्य छन्। सभाले सिफारिस भएर आएका नाममध्येबाट उपकुलपति र रजिस्ट्रार नियुक्त गर्नेछ।
पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढेपछि गेटामा विश्वविद्यालय सञ्चालन हुनेमा स्थानीय आशावादी देखिएका छन्। यसअघि गत ४ असारमै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसम्बन्धी ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि तत्कालीन सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाएको थिएन।
‘जेन–जी आन्दोलनपछिको परिस्थितिमा विश्वविद्यालय सञ्चालनको प्रक्रिया थप अन्योलमा पर्छ भन्ने लागेको थियो,’ विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले भने, ‘तर सरकारले पदाधिकारी नियुक्तिको काम अगाडि बढाएको छ। अब विश्वविद्यालय चाँडै सुरु हुन्छ भन्ने आशा जागेको छ।’
उनले गेटामा ५० शड्ढयामा सीमित अस्पताललाई यसै वर्ष स्तरोन्नति गरेर विश्वविद्यालयअन्तर्गत कम्तीमा तीन सय शड्ढयामा सञ्चालन गर्नुपर्ने र आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु हुनुपर्ने जनताको माग गरेको बताए। गेटा विश्वविद्यालय सभामा सुदूरपश्चिमका प्राज्ञिक व्यक्तिहरूको सहभागिता बढी भएकाले पनि विश्वविद्यालय चाँडै सञ्चालन हुनेमा आफूहरू आशावादी रहेको पाण्डेयले बताए।
विश्वविद्यालयका भौतिक संरचना पाँच वर्षदेखि अलपत्र
सरकारले गेटामा मेडिकल कलेज सञ्चालनका लागि पौने सात अर्बको लागतमा बनाएका भवनलगायत संरचना पाँच वर्षदेखि अलपत्र छन्। ६ सय शड्ढयाको अस्पताल र चिकित्सा शिक्षाको पठनपाठनका लागि निर्माण गरिएका ती संरचना लामो समय प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेका छन्। सरकारले पछि विश्वविद्यालय बनाउने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको छ।
६ सय शड्ढयाको अस्पतालका लागि निर्मित पूर्वाधारमा ५० शड्ढयामा सीमित अस्पताल छ। त्यसमा पनि आवश्यक उपकरण र जनशक्तिको कमी छ। यहाँका स्थानीय र नागरिक अगुवाले अहिले सुरुवातमा कम्तीमा तीन सय शड्ढयाको अस्पताल सुरु गरेर उपचार सेवा दिन सरकारसँग माग गर्दै आएका छन्।
संघर्ष समितिमा संलग्न सुरेन्द्र चन्दले सुदूरपश्चिममा स्तरीय उपचार सेवा भएको अस्पताल नभएकाले यहाँका नागरिकलाई सर्वसुलभ उपचार सेवा दिन गेटामा स्तरीय अस्पताल सञ्चालनलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताए। कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुखसमेत रहेका उनले उपकुलपति र रजिष्ट्रार नियुक्तिको प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिए।
‘योग्य र दक्ष व्यक्ति आए मात्र विश्वविद्यालय सही ढंगले अगाडि बढ्नसक्छ,’ चन्दले भने, ‘राजनीतिक रङ लागेको व्यक्ति विश्वविद्यालयको नेतृत्वमा आउन नदिन समिति सजग हुनुपर्छ।’ गेटामा तत्काल कम्तीमा तीन सय शड्ढयाको अस्पताल सञ्चालनको माग गर्दै यहाँका स्थानीय र सरोकारवालाले विगतदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा गत २८ असोजमा बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले सिफारिस समिति गठनसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त तथा प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, प्रा.डा. संगीता राजभण्डारी, सहप्राध्यापक अनुराधा रोकाया, डम्बरबहादुर पाललाई सभाको सदस्य मनोनीत गरेको थियो। शिक्षामन्त्री सभाको अध्यक्ष रहने विश्वविद्यालयको ऐनमा व्यवस्था छ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाका पदेन सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालय सभामा योग्य व्यक्तिहरू नियुक्त भएकाले विश्वविद्यालयले गति लिने आशा बढेको बताए। चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तीन सय शड्ढयाको अस्पताल सञ्चालन भएको हुनुपर्ने व्यवस्थाबारे सभा बैठकमा पनि कुरा उठेको उनले बताए।
‘त्यस्तो अवस्थामा सेती र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयमातहत राखेर चिकित्सा शिक्षाको पठनपाठन चाँडो सुरु गर्नुपर्छ। त्यसमा प्रदेश सरकारको सहयोग रहन्छ भनेका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘तर पहिलो प्राथमिकता र आवश्यकता गेटामा स्वास्थ्य सेवा विस्तार हो। कम्तीमा दुई सय शड्ढयाको अस्पताल तत्कालै सुरु गर्नुपर्छ भनेर सभामा पनि कुरा राखेको छु।’ पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढेसँगै गेटामा अस्पतालको स्तरोन्नति र चिकित्सा शिक्षा पठनपाठनको काम चाँडो सुरु हुनेमा आपूm आशावादी रहेको उनले बताए।