टेकु अस्पतालको क्यान्टिनमा पनि सरसफाइ कमजोरी

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले अस्पतालभित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ । नियमित अनुगमनका क्रममा मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्देकालिका एन्ड चमेनागृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ।

फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भोजन तयार गरिने संवेदनशील स्थानमा नै खाद्य स्वच्छतामा ध्यान दिइएको छैन ।  वडा नं. १२ मा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चमेनागृहमा गरिएको अनुगमनमा सरसफाइमा लापरबाही, खाद्य रंगको अव्यवस्थित प्रयोग, फ्रिजमा खाद्य सामग्रीको अव्यवस्थित भण्डारण, भाँडा माझ्ने स्थान शौचालयनजिक रहेको तथा म्याद गुज्रिएको सात प्याकेट दुध भेटिएको थियो।

त्यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा पनि पेस्ट कन्ट्रोल सन्तोषजनक नभएको, काँचो तथा पकाएको वस्तु एकै ठाउँ भण्डारण, खाना पकाउने र भाँडा माझ्ने स्थान नजिकनजिकै भएको, पकाइएका खाद्यवस्तु खुला राखिएको तथा फ्रिजको प्रयोग अव्यवस्थित पाइएको खाद्य निरीक्षण अधिकारी खगेन्द्रप्रसाद खतिवडा, आस्था अधिकारी र सरोज पौडेलले जानकारी दिए।

अनुगमनपछि टोलीले क्यान्टिन सञ्चालकलाई स्वच्छता र खाद्य सुरक्षा मापदण्डअनुसार सेवा सञ्चालन गर्न कडाइका साथ निर्देशन दिएको छ। खाद्यवस्तु ढाकेर राख्ने, प्रभावकारी पेस्ट कन्ट्रोल गर्ने, लेबलयुक्त तथा अनुमतिप्राप्त उद्योगका वस्तु मात्रै प्रयोग गर्ने, म्याद नाघेका पदार्थ बिक्री नगर्ने, भाँडा माझ्ने तथा शौचालय क्षेत्र छुट्याएर व्यवस्थित गर्ने, आगो सुरक्षाका उपकरण राख्ने र मूल्यसूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।

निर्देशन पालना नगरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ। महानगरले खाद्य व्यवसायलाई स्वच्छ, सुरक्षित र कानुनअनुसार सञ्चालन गराउन नियमित रूपमा अनुगमन जारी राखेको छ ।

सुझावित समाचार