- विगतका कमजोरीका लागि जनतासँग आत्मालोचना गर्दै व्यापक रूपमा पार्टीको शुद्धीकरण गर्ने विषय एकता पक्षधर क्रान्तिकारीको तत्कालीन कार्यनीति बन्नुपर्छ
नेपालको कम्युनिस्ट आन्दोलन आज विभाजन र विघटनको लामो शृंखला पार गर्दै एक निर्णायक मोडमा उभिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) जस्ता शक्तिले बृहत् एकताको प्रक्रिया सुरु गर्नुले पुरानो पार्टी विघटन गरी नयाँ र सामूहिक नेतृत्व निर्माण गर्ने ऐतिहासिक संकल्पलाई उजागर गरेको छ । १६ कात्तिकमा भएको यो एकता प्रक्रियाले १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी १९ गते एकता घोषणा गर्ने निर्णय भएको छ । मार्क्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई क्रान्तिको कार्यक्रम बनाएको छ, जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक रहनेछन् । यस एकताको मूल आधार नै वैचारिक प्रश्न बनेको छ, जसको केन्द्रमा मार्क्सवादको रक्षा, प्रयोग र परिमार्जनसहितको विकास रहेको छ । एकातिर नयाँ ढंगले कम्युनिस्ट पार्टी पुनर्गठन गर्ने र अर्कातिर मार्क्सवादलाई युग सुहाउँदो ढंगले विकास गर्ने दोहोरो दायित्व कम्युनिस्टसामु छ । आठ दलबिच ‘पाँचकुने तारा’ चुनाव चिह्नमा सहमति जुटिसकेको भए पनि नयाँ पार्टीको नाम भने वैचारिक गन्तव्यलाई स्पष्ट पार्ने गरी टुंग्याउन बाँकी छ, जसले आगामी क्रान्तिकारी यात्रालाई दिशानिर्देश गर्नेछ । यो प्रक्रिया २०१९ देखि नै चलेको विभाजनको अन्त्यका रूपमा देखा परेको छ, जसले ०७५ मा नेकपाको विघटनपछिको घाउलाई निको पार्ने प्रयास गर्दै छ ।
वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको जटिल भूराजनीतिक अवस्था, आत्मगत अवस्था, समय र विज्ञान प्रविधिको विकासको अवस्थासँग मार्क्सवादलाई जोड्नु आजको प्राथमिक कार्यभार हो । आजसम्मको ज्ञान क्रान्तिकारीले सजिलै किताब वा सामाजिक सञ्जालबाट पाउन सक्छन्, तर नयाँ परिस्थितिमा अगाडि बढ्न आवश्यक नयाँ ज्ञान मार्क्सवादको इमानदार प्रयोगबाट मात्र प्राप्त हुन्छ । यो ज्ञान प्राप्तिका लागि इमानदारी अपरिहार्य छ, जसलाई आफैँभित्रबाट पैदा गर्नुपर्छ । त्यसका लागि मार्क्सवाद, वर्ग, उत्पीडित जाति र क्षेत्रप्रति इमानदार हुन सक्नुपर्छ । यो इमानदारी कायम गर्न ठुल्ठुला महाविपत्ति सामना गर्ने साहस कम्युनिस्टमा हुनुपर्छ । यही नै आजको निर्णायक वैचारिक प्रश्न हो । मार्क्सवादलाई नेपाली सन्दर्भमा लागू गर्दा लेनिनको राज्य र क्रान्ति सिद्धान्तलाई आधार बनाएर नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचनालाई सम्बोधन गर्नुपर्छ, जसमा उत्पीडित जातिको मुक्ति र क्षेत्रीय असमानताको अन्त्यलाई प्राथमिकता दिनुपर्छ । यसका लागि, माओको ‘जनयुद्ध’ अवधारणा र २१औँ शताब्दीको डिजिटल युगको प्रभावलाई समाहित गर्दै ‘डिजिटल जनवाद’जस्ता नयाँ अवधारणा विकास गर्न सकिन्छ, जसले सामाजिक सञ्जाल र एआईलाई क्रान्तिकारी औजारका रूपमा प्रयोग गर्छ ।
अबको नेपाली आन्दोलनको दीर्घकालीन रणनीति वैज्ञानिक समाजवाद हो, न कि समाजवादउन्मुख यात्रा मात्र । यसको लक्ष्य हासिल गर्न अहिलेलाई पुरानो संसदीय व्यवस्थामा व्यापक सुधार तथा सुशासन, सामाजिक न्याय र समृद्धिलाई तत्कालीन कार्यनीति बनाइएको छ । जेन–जी विद्रोहले उठाएको प्रत्यक्ष कार्यकारी अब सडकबाट मुखरित भएको मुख्य माग बनेको छ । २३ र २४ भदौमा भएको यो विद्रोहमा भ्रष्टाचार, परिवारवाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध लाखौँ युवा सडकमा उत्रिएपछि सरकार नै ढल्यो । युवा विद्रोहले सरकार परिवर्तन हुने तेस्रो देश नेपाल बन्न पुग्यो । उनीहरूका माग पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न प्रत्यक्ष कार्यकारी प्रमुख (संघ), प्रदेशमा प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री, सानो आकारको मन्त्रिमण्डल र संसद् अपरिहार्य छ । राजनीतिक अस्थिरता अन्त्य गर्न अब क्रान्तिकारीसँग विकल्प छैन, तसर्थ सबैले यो माग पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । जेन–जी विद्रोहपछि नेपाल नयाँ चरणमा छ, क्रान्तिकारीले यसको नेतृत्व गर्न सक्ने गरी जनतामा आशा र विश्वास दिन सक्नुपर्छ ।
विश्वव्यापी रूपमा एकध्रुवीय विश्व व्यवस्था विघटनको संघारमा छ । शक्ति राष्ट्रले व्यापार युद्ध, प्रोक्सी युद्ध, जेन–जी विद्रोह, गृहयुद्ध, सरकार परिवर्तन, सैनिक कु तथा रणनीतिक परियोजनाद्वारा हस्तक्षेप गरी देश टुक्य्राउनेसम्मको खेलमार्फत नयाँ कठपुतली निर्माण गरी आफूलाई पुनर्संगठित गर्न खोजिरहेका छन् । नेपाल पनि शक्ति राष्ट्रको भूराजनीतिक संकट र अव्यवस्थाको चपेटामा छ । बाह्य हस्तक्षेपका रूपमा भ्रष्टाचारलगायत सामाजिक मुद्दा उठाइए पनि सारमा यो पुँजीवादी संकट टार्न विश्वव्यापी रूपमा फैलिएको आन्दोलन हो, जसले पुरानो शासकको मानसिकताबाट मुक्त हुन प्रेरित गर्छ । अब कम्युनिस्टले मानसिकता बदल्दै ‘पार्टीमा लागेर के पायौ ?’ बाट ‘पार्टीमा लागेर जनताको के सेवा गरियो ?’ तर्फ संक्रमण गर्नु आवश्यक छ । मिठा भाषण होइन, जनजीवन बदल्ने व्यवहार चाहिन्छ । जेन–जी विद्रोहले जनताले निर्णय गर्ने र प्रतिनिधिले लागू गर्ने प्रणालीलाई मुखरित गरेको छ । यो परिवर्तन पार्टी तथा नेतृत्वको कार्यशैलीमा आमूल परिवर्तनको माग गर्ने सांस्कृतिक क्रान्ति र ठुलो राजनीतिक सिफ्ट हो । यसलाई सम्बोधन गर्न क्रान्तिकारीले माओको सांस्कृतिक क्रान्तिको अवधारणालाई आधुनिक सन्दर्भमा पुनव्र्याख्या गर्दै युवा पुस्तालाई पार्टी संरचनामा समाहित गर्ने नीति अपनाउनुपर्छ, जसमा डिजिटल प्लेटफर्ममार्फत जनमत संकलन र निर्णय प्रक्रिया समावेशी बनाउन सकिन्छ ।
यो नयाँ परिस्थितिमा सबैले त्याग गर्दै कम्युनिस्ट एकता गरी व्यापक कम्युनिस्ट केन्द्र निर्माण गर्नु मात्र पर्याप्त छैन, लोकतन्त्रवादी र लोकप्रियतावादीलाई समेत समेटेर राष्ट्रिय सहमतिमा शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रमुखलगायत सुधार गर्नुपर्छ । कर्मचारीतन्त्रभित्र मौलाउँदै गएको बेथिति, भ्रष्टाचार, जनताको दैनिक कार्यमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न व्यापक नीतिगत परिवर्तन गर्न, राष्ट्रिय आर्थिक नीति निर्माण गर्न र उत्पादन, उत्पादन र फेरि पनि उत्पादनको नीतिद्वारा औद्योगिक क्रान्ति गर्न आवश्यक छ । समुदायले उत्पादनको नेतृत्व गर्ने र समुदायले नै उपभोग गर्ने नीतिद्वारा दलाल पुँजीवादलाई परास्त गर्ने, अन्तर्राष्ट्रिय व्यापार नीतिको व्यापक सुधार गर्ने र जनताको सहभागितामा राज्यका संस्था तथा सामाजिक संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नुपर्छ । शिक्षामा आमूल परिवर्तन गरी विश्वमा प्रचलित मोडेलको राम्रो पक्षलाई जोड्दै नेपालको मौलिकतामा आधारित वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षा नीति अपनाउनुपर्छ ।
जेन–जी विद्रोहपछि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको ठुलो चलखेल बढेको छ, जसले आन्तरिक र बाह्य राष्ट्रियतामाथिको संकटलाई अकल्पनीय रूपमा बढाएको छ । यसलाई सचेत ढंगले परास्त गर्न विभिन्न जातजातिका आफ्नै भाषा, धर्म, संस्कृतिसहितको बहु–सभ्यतालाई एकीकृत गर्दै आन्तरीक राष्ट्रिय एकता कायम गर्ने, साथै बाह्य रूपमा राष्ट्रवादको अराजकताबाट बच्दै विदेशी प्रयोगशालाबाट देश जोगाउन, वास्तविक तटस्थता, असंलग्नता, सन्तुलित र संयमित परराष्ट्र नीति अपनाई विश्वमै नेपाललाई शान्तिको पक्षमा दृढतापूर्वक उभ्याउनुको विकल्प छैन । कुनै पनि शक्तिराष्ट्रको झुक्किएर पनि गोटी बन्नुहुँदैन । सबै उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्रको मुक्तिका लागि साझा धारणा बनाउन संविधान संशोधन गरी मार्ग प्रशस्त गर्नुपर्छ । आजको ग्लोबल युगमा नेपाली श्रमिकको मूल्य विश्व मापदण्डअनुसार १०औँ गुणाले नबढाउँदासम्म र दक्ष जनशक्तिमा रुपान्तरण नगरुन्जेल सेवा र श्रमका लागि मान्छे विश्वभरि नै गतिशील हुन्छ । राज्यले ती नेपाली श्रमिकलाई दक्ष जनशक्तिमा रुपान्तरण गरी सुरक्षा र श्रमको मूल्यको ग्यारेन्टी गर्नुपर्छ । र, विदेशी नागरिकता लिएका नेपालीलाई सचेत ढंगले नेपाल फर्काउन वंशजको दोहोरो नागरिकता दिने र तिनलाई नेपालमा फर्काई लगानी गर्ने वातावरण मिलाउनुपर्छ । यसका लागि, भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्दै नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने अन्तर्राष्ट्रिय अभियान चलाउन सकिन्छ, जसले पर्यटन र लगानीलाई बढावा दिन्छ ।
माओवादीले अगाडि सारेको २१औँ शताब्दीको जनवादको विकाससम्बन्धी विचारलाई जीवन व्यवहारमा लागू गर्दै २१औँ शताब्दीको वैज्ञानिक समाजवादको वैज्ञानिक खाका तय गर्नुपर्छ । जहाँ पार्टीका मुख्य नेता सरकारमा नजाने, जनता र पार्टी परिचालनमा रहने विधि आजको दलाल पुँजीवाद हाबी हुँदै गएको समाजमा अपरिहार्य छ । जनतासँग आत्मालोचना गर्दै व्यापक रूपमा पार्टीको शुद्धीकरण गर्ने विषय क्रान्तिकारीको तत्कालीन कार्यनीति बन्नुपर्छ । अर्कातिर, वैज्ञानिक समाजवाद ‘सुशासन, सामाजिक न्याय र समृद्धि’लाई आधार बनाएर अर्थतन्त्रमा व्यापक संरचनात्मक सुधार गरेर अगाडि बढ्नुपर्छ । नेपालले विज्ञान र प्रविधिको अधिकतम उपयोग गरेर पुँजीवादी अर्थतन्त्र, साम्यवादी अर्थतन्त्र, बहिर्मुखी अर्थतन्त्र र व्यवहारवादी आर्थतन्त्रको राम्रो पक्षलाई समेटेर दलाल र वित्तीय पुँजीवादको घेराबन्दीलाई परास्त गर्दै नेपालको मौलिकतासहितको जनताको सहभागितामा मिश्रित र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्छ । ‘केवल योजनाबद्ध अर्थतन्त्र र बलियो लोकतन्त्रले मात्र व्यक्तिका अधिकारको रक्षा गर्न सक्छ’ भन्ने अल्बर्ट आइन्स्टाइनको भनाइले लोकतन्त्रको विकल्प झनै उन्नत लोकतन्त्रलाई पुष्टि गर्छ । आज पुँजीवादको विकल्प ‘नयाँ वैज्ञानिक समाजवाद’ (उन्नत लोकतन्त्र) बन्दै गएको छ । राज्य र निजी क्षेत्रलाई भन्दा समुदायलाई बलियो बनाउने ‘म र हामी’ अर्थात् ‘निजी र सामूहिक सम्पत्ति’ समायोजन गर्दै समाजवादको नयाँ र उन्नत विकल्पको प्रतिस्पर्धा गर्ने व्यावहारिक बाटो नै आजको वैज्ञानिक समाजवादमा जाने बाटो हो । समाजवाद नै मानव सभ्यताको मूल विषय हो ।
सबै दु:ख, उत्पीडनको अन्त्य, विज्ञान र पर्यावरणमैत्री समाजले स्वतन्त्रता, समानता र भ्रातृत्व जन्माउँछ, जसले विश्वको एकतालाई मजबुत बनाउँदै मानवीय खुसी पैदा गर्छ । नयाँ वैज्ञानिक समाजवादको भूमण्डलीकरणले मानवजातिको पृथ्वीको रक्षा गर्दै अन्तरिक्ष र त्योभन्दा परको न्यायोचित प्रवेशमा तीव्रता आउनेछ । मार्क्सले भनेझैँ साम्यवाद भनेको स्वतन्त्रता, समानता र भ्रातृत्वसहितको मानव समाज हो । त्यहाँ देश र विश्व रहन्छ, शोषण, शासन र सिमाना रहँदैन, त्यहाँ व्यक्ति र सामुदायिक अनुशासन रहन्छ, कानुन रहँदैन, त्यहाँ मानव समाज रहन्छ, वर्ग रहँदैन, त्यहाँ पर्यावरण र जीवजन्तु रहन्छन् । अन्तत: त्यहाँ उत्पादन, गाँस, वास, कपास, यौन, शिक्षा, स्वास्थ्य, सुरक्षा, अनुशासन, मनोरञ्जन, सेवा, आविष्कार र खुसी नियमित जीवनशैली बनेको हुन्छ । त्यसैले, वैज्ञानिक समाजवादलाई केन्द्र बनाएर बृहत् कम्युनिस्ट केन्द्र निर्माण गर्दै अगाडि बढ्नुको विकल्प छैन । दलाल पुँजीवादलाई समाजवादी आन्दोलनको प्रधान दुस्मनका रूपमा किटान गरी, संसद्, सडक, सरकार, विज्ञान/प्रविधि/मिडिया/सोसल प्लेटफर्ममार्फत चुनाव, जनआन्दोलन र विद्रोहलाई वैकल्पिक तयारीका रूपमा राखेर यो एकताले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्याउनेछ । यस प्रक्रियामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग समन्वय गर्दै ब्रिक्सजस्ता बहुपक्षीय मञ्चमार्फत नेपालको आवाजलाई बलियो बनाउन सकिन्छ, जसले वैश्विक समाजवादको यात्रालाई गति दिन्छ ।