बुधबारदेखिको वर्षाले संखुवासभामा पाकेको धानबालीमा क्षति पुगेको छ । बिहीबार वर्षा र हुरीले खाँदबारी नगरपालिका–४, सेकाहा क्षेत्रमा पहेँलपुर भएर पाक्न लागेको धान ढलाएको किसान मानबहादुर गुरुङले बताए ।
‘धानको बोट लडेपछि धान सबै भुइँमा झर्छ, पछि परालसमेत कालो हुन्छ, गाईवस्तुले खाँदैनन् । जताबाट पनि किसानलाई घाटा छ,’ उनले दु:खेसो पोखे । संखुवासभाको भोटखोलाको तल्लो भाग र मकालु, चिचिला र सिलिचोङ गाउँपालिकालगायतका पहाडी क्षेत्रमा धान पाक्न थालेको छ ।
औल क्षेत्रमा रोपाइँसमेत ढिलो हुने हुँदा मंसिर दोस्रो सातातिर मात्रै धान पाक्छ । कृषि ज्ञान केन्द्र संखुवासभाका अनुसार यहाँ ३१ हजार ५९६ हेक्टरमा धानखेती हुन्छ ।