राष्ट्रपति रामचन्द्र पौडेल अचानक अस्वस्थ भएपछि उनले बोलाएका जेन–जी प्रतिनिधिसँग प्रधानमन्त्री सुशीला कार्कीले शनिबार शीतलनिवासमा छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने सरकारको प्रमुख प्राथमिकता रहेको बताएकी छिन् ।
एक घण्टा लामो छलफलमा जेन–जी आन्दोलनको एक महिना, चुनावी तयारी, भ्रष्टाचारविरुद्धको काम र सुशासनका लागि सरकारी कदमलगायतमा छलफल भएको छ । राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा उपचार भएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूसमेत सम्मिलित छलफलमा २० जना जेन–जी प्रतिनिधि सहभागी थिए । छलफलमा सहभागी जेन–जी प्रतिनिधि रक्षा बमले सरकारका काम, निर्वाचन तयारी र सुशासनलगायत विषयमा छलफल भएको बताइन् । ‘राष्ट्रपति बिरामी हुनुभएकाले उहाँसँग भेट भएन । प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गर्यौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘सरकारले गरेका काम, प्रतिनिधिसभाको आसन्न निर्वाचन तयारी र सुशासनलगायत विषयमा छलफल भएको छ ।’
छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले जेन–जी आन्दोलनको मर्मअनुसार काम गरिरहेको प्रस्ट्याएकी छिन् । (जेन–जी) कै म्यान्डेड अनुसार सरकारले काम गरिरहेको छ । कानून र संविधानसँग नबाझिने प्रकारका माग सम्बोधन गरेर अघि बढ्न सकिन्छ । संविधान संशोधन लगायतका बिषयहरू चुनाबपछि प्रतिनिधिसभाको दुईतिहाईले मतले गर्न सक्छ’, छलफलमा प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘अन्तरिम सरकारको पहिलो म्यान्डेट चुनाब गराउने हो । संविधान संशोधनको म्यान्डेट अहिलेको सरकारको होइन ।’
राजनीतिक दलहरू जेन–जीको भावना अनुसार पुनर्गठित हुनुपर्ने र उनीहरू निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्री र जेन–जी प्रतिनिधिको एउटै स्वर थियो । ‘हामी अझै पनि आन्दोलनमा भएको दमनको पीडामा छौँ । तर, पार्टीहरूलाई समेटेर जानुपर्छ, उनीहरूलाई स्पेश दिएर जानुपर्छ, पार्टी सुधार हुनुपर्छ भनिरहेका छौँ, यो कुरा राख्याँै’ बमले भनिन्, ‘तपाईँ नै चुनाबमा जानुस्, जनताले जिताए पठाउँछन् भने स्वीकार गर्न तयार छौँ । तर, जेनजी बिद्रोहको भावनालाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । जेनजी पुस्ता दलहरूको विरुद्धमा छैन ।’
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुन सहभागी थिए । मन्त्रीहरूले सरकारले गरिरहेको कार्यबारे जानकारी दिएको बमले बताइन् । ‘नागरिक सरकारको एक महिनाको कार्य सन्तोषजनक छ भन्ने हामी सबैको निस्कर्ष रह्यो’ उनले भनिन्, ‘मन्त्रीहरूको विफ्रिङ पनि सुन्यौँ ।’
छलफलमा जेन–जी प्रतिनिधिहरूले सरकारमाथि लागेका आक्षेपबारे जिज्ञासा राखेका थिए । सरकार एनजीओबाट सञ्चालित भएको बिषयमा एकजनाले प्रश्न राखेका थिए । बमका अनुसार प्रधानमन्त्री कार्कीको जवाफ थियो, ‘हामी एनजीओबाट परिचालित भएको कहाँ देख्नुभयो ? यस्ता कुराको पछि नलाग्नुहोला ।’ बैठकमा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यवाही अघि बढाइरहेको बिषयमा पनि छलफल भएको थियो ।
यस अघि जेन–जी आन्दोलनको एक महिनाको अवसरमा प्रधानमन्त्री कार्कीले २३ असोजमा संयम राख्न र हिंसाको चक्र रोक्न सबैसँग अपिल गरेकी छिन् । एक भिडियो सन्देश जारी गर्दै उनले भविष्यको नेपाल निर्माणमा जेन–जीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता पनि जनाएकी छिन् । प्रधानमन्त्री कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी थिइइन् ।
‘हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ प्रधानमन्त्री काकीले भनेकी थिइन । आफ्नो सरकार मात्र नभई भविष्यमा निर्वाचनमार्फत आउने नयाँ सरकारले पनि युवाहरूको आवाज सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।