पार्टी पुनर्गठनको मुद्दा उठाउँदै केन्द्रीय समितिबाट आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय पनि उल्ट्याउने र नेतृत्वका लागि मैदानमा उत्रिने रणनीति तर, पार्टी उपाध्यक्ष, मन्त्री र दुईपटक राष्ट्रपति भइसकेकी विद्यालाई ‘ओलीको विकल्प म किन’ भन्ने औचित्य पुष्टि गर्न चुनौती
जेन–जी आन्दोलनपछि पार्टीभित्र र सार्वजनिक रूपमा एमाले अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठिरहेका वेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टी पुनर्गठन र रूपान्तरण गर्नुपर्ने भन्दै थप सक्रिय बनेकी छिन् । आन्दोलनमा गरिएको दमनसहित पार्टीभित्र भएका कमी–कमजोरीको आत्मसात् गर्दै ओलीले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा उनी छिन् ।
आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने रणनीतिसहित अघि बढिरहेका वेला अध्यक्ष ओलीले पार्टीबाट भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गराएर ‘झड्का’ दिएका थिए । बदलिएको परिस्थितिमा केन्द्रीय समितिबाट आफ्नो सदस्यतासम्बन्धी निर्णय गराएर नेतृत्व लिन मैदानमा उत्रिने भण्डारीको योजना छ ।
अध्यक्ष ओली आफैँले कमजोरी आत्मसात् गर्दै मार्गप्रशस्त गरेर बदलिएको परिस्थितिमा पार्टी पुनर्गठनको सन्देश दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष दिनुपर्ने भण्डारी समूहको माग छ । यसो हुँदा सदस्यता नवीकरण नगर्ने पार्टीको निर्णय उल्ट्याएर राजनीतिमा फर्किन सहज हुने भण्डारीको बुझाइ छ ।
भण्डारीनिकट नेता विनोद ढकालले अध्यक्षले जेन–जी आन्दोलनको मर्मअनुसार पुनर्गठनको प्रक्रियाका लागि योगदान नगरे पार्टीले सचिवालय र केन्द्रीय कमिटी बैठकमार्फत त्यो काम सम्पन्न गर्नुपर्ने बताए । ‘हामी पछिल्लो परिस्थितिलाई आत्मसात् गरेर पार्टी पुनर्गठनको पक्षमा उभिएका छौँ । त्यसैले अब अध्यक्षले स्वाभाविक प्रक्रियाबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिनुपर्छ । यस विषयमा अध्यक्षले सोच्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘नभए दसैँआसपास या दसैँलगत्तै सचिवालयको बैठकबाट छलफल गरेर पार्टीलाई पुनर्गठनको दिशातिर लैजानुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलबाट पनि तल आउने विकल्पमा सोचेर छलफल गर्दा सहमतिको सम्भावना नदेखिएको भण्डारी र उनीनिकट नेताहरूको बुझाइ छ । तर, पार्टी उपाध्यक्ष, मन्त्री र दुई–दुईपटक राष्ट्रपति भइसकेकी भण्डारीले ‘ओलीको विकल्प म किन हुँ’ भन्ने स्थापित भने गर्न सकेकी छैनन् । यो उनका लागि सबैभन्दा ठुलो चुनौती रहेको विश्लेषकहरू बताउँछन् ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भने जेन–जी आन्दोलनको भावना बुझेर अबका दिनमा पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई छोडाएर आफूले नेतृत्व लिनेभन्दा पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि अभिभावकीय भूमिका खेल्नुपर्ने बताए । ‘जेन–जी आन्दोलनको भावनालाई बुझेर उहाँ (विद्या भण्डारी)ले अब आफूले नेतृत्व लिनेभन्दा पनि जडतालाई चिर्नका लागि अभिभावकीय भूमिका खेलेर योगदान गर्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘उहाँले पार्टी र नेतृत्वलाई जडताबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा भूमिका खेल्न सक्नुपर्छ । अहिलेको सन्दर्भमा यी काम गर्न पार्टी सदस्यता लिएर पार्टीमै फर्किएर गर्ने कि बाहिर बसेर गर्ने त्यो उहाँको व्यक्तिगत निर्णयको कुरा भयो ।’
उता, अध्यक्ष ओली भने नेतृत्व नछाड्ने बरु केन्द्रीय कमिटी र पार्टी महाधिवेशन फेस गर्ने मनस्थितिमा छन् । आफूमाथि घेराबन्दी र षड्यन्त्र भएको भन्दै उनले निकटस्थहरूलाई पुनर्गठनको प्रतिवाद गर्न निर्देशन दिइसकेका छन् । गुण्डुस्थित नयाँ निवासमा नेताहरूसँग नियमित भेटघाट गरेर आफूअनुकूल स्थिति तयार भएपछि मात्रै बैठक बोलाउने पक्षमा उनी छन् । पार्टीमा पूर्ण कमान्ड रहेकोमा विश्वस्त रहेका ओलीले आत्मालोचना गर्नुपर्ने, हट्नुपर्ने कुनै कारण नभएको बताएर पार्टीको सबै संस्थागत प्रक्रिया फेस गरेर प्रतिनिधि र कार्यकर्ताको निर्णय स्विकार्न तयार रहको जनाउ दिँदै आएका छन् ।
यद्यपि, सरकारको नेतृत्व गरेको मात्र होइन, जेन–जी आन्दोलनमा ७४ जना नागरिकको मारिएको मूल जिम्मेवारी प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले लिनुपर्ने भएकाले कमी–कमजोरीको आत्मालोचना गर्दै उनले नै पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गरिनुपर्ने मत एमालेभित्रै बढ्दै छ । बिहीबार मात्रै सचिव योगेश भट्टराईले अध्यक्ष ओली र उनको योगदानलाई सम्मान गर्दै पार्टी पुनर्गठन प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
१९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म झन्डै आधा पदाधिकारी पुनर्गठनको पक्षमा छन् भने स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीमा पनि यो मत बढिरहेको आकलन गरिएको छ । पूर्वराष्ट्रपति भण्डारी पनि पुनर्गठनको मुद्दा उठाएर पार्टीभित्र स्थापित बन्ने रणनीतिसहित अगाडि बढिरहेकी छिन् ।
तर, राष्ट्रिय रूपमै संकट बढिरहेका वेला बाहिर हल्ला गरेर, दबाब दिएरभन्दा पनि पार्टीभित्रै गम्भीर ढंगले परामर्श गरेर, धेरै बुद्धिजीवीहरूको पनि सुझाव सुनेर होसियारीपूर्वक ओलीको राम्रा कामको अपनत्व पार्टीले लिँदै उनले सम्मानजनक रूपमा बिदा लिँदा उत्तम विकल्प हुने बुझाइमा भण्डारी छिन् । त्यही भएर उनले सार्वजनिक मञ्चमा आन्तरिक विषयलाई बाहिर पुनर्गठनका रूपमा नचर्काउन नेताहरूलाई सचेत पनि गराएकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो परिस्थितिबारे आन्तरिक र बाह्य परामर्श पनि थालेकी छिन् । शुक्रबार उनले विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने अगुवा बुद्धिजीवीहरूसँग करिब तीन घण्टा लामो अन्तक्र्रिया गरेर अबको संकटको निकासबारे सुझाव लिएकी छिन् । छलफलमा कूटनीतिज्ञ, नागरिक समाजका अगुवा, संवैधानिक अंग र सुरक्षा निकायका पूर्वप्रमुखहरू, पत्रकार, विभिन्न विश्वविद्यालयका पूर्वपदाधिकारीहरूलगायत सहभागी थिए । यसअघि ३ असोजमा प्रहरी अस्पताल महाराजगन्ज पुगेर उनले आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
भण्डारीले आयोजना गरेको छलफलमा उपाध्यक्ष युवराज ज्ञवालीले अहिले पार्टीभन्दा माथि उठेर देश बचाउने वेला भएको भन्दै अन्तक्र्रिया धेरै महत्वपूर्ण भएको बताए । उनले पार्टी र देश बचाउन मुख्य नेताहरूले खेल्नुपर्ने भूमिकाबारे समय लिएर भेटेरै महत्वपूर्ण सुझाव दिनसमेत आग्रह गरे । ‘अहिले यो पार्टी, त्यो पार्टी, यो व्यक्ति, त्यो व्यक्ति भन्ने वेला होइन । किनभने देशमा अझै ठुलो संकट आउन सक्छ । बुद्धि नपुर्याउँदा युक्रेन, गाजा नहोला भन्न पनि सकिन्न । त्यसैले अहिलेको आवश्यकता पार्टीभन्दा माथि उठेर राष्ट्रिय एकता हो,’ ज्ञवालीले भने, ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रको आत्मसमीक्षा, आत्मालोचना हो । यो काम सबैले गर्नुपर्छ । यो अन्तक्र्रिया एकदमै राम्रो सुरुवात हो, सबै क्षेत्र समेटिने व्यक्तिको महत्वपूर्ण टिम बनाएर समय लिएर मुख्य नेताहरूलाई सुझाव दिनुस् ।’
पूर्वराष्ट्रपतिको सुविधा परित्याग गरेर एमालेमा फर्किएको घोषणा गरेकी भण्डारीलाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाट सदस्यता नवीकरणमै रोक लगाएर राजनीतिक पुनरागमनमै ब्रेक लगाएका छन् । तथापि, भण्डारीले सचिवालय, केन्द्रीय कमिटी र विधान महाधिवेशन हुँदै निर्णय उल्ट्याउने प्रयास जारी राखेकी छिन् ।
त्यस्तै, मदन भण्डारीको ७५औँ हीरकजयन्ती समारोह अभियानमार्फत पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनलक्षित समानान्तर गतिविधि बढाएर नेता–कार्यकर्तासँगको बाक्लो संवादमा जोड दिँदै आएकी छिन् । जेन–जी आन्दोलनबाट कांग्रेस–एमाले नेतृत्वको सत्ता विघटन भएर अन्तरिम सरकार बनेपछि पूर्वराष्ट्रपति भण्डारी पूर्वलक्ष्यअनुसार अगाडि बढ्न नयाँ रणनीति बनाउनेतिर अग्रसर छिन् । यही क्रममा उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सरकारबाट बाहिरिएका उपाध्यक्ष विष्णु पौडेलसहित केही पदाधिकारी तथा अन्य पार्टी नेताहरूसँग पनि एमालेको आन्तरिक पुनर्गठनबारे परामर्श लिएको जानकार नेताहरू बताउँछन् ।
पछिल्लो समय देशमा अशान्ति तथा अराजकता मच्चाउने गरी चलखेल अघि बढेकाले देश र लोकतन्त्रमाथि देखिएको संकट निवारणका लागि राष्ट्रिय एकता र पार्टीभित्र पनि आन्तरिक एकता बलियो हुनुपर्ने उनले बताउँदै आएकी छिन् । आन्दोलनका क्रममा बुढानीलकण्ठ भंगालस्थित भण्डारीको निजी निवास पनि आगजनी गरिएको थियो । अहिले उनी जेठी छोरी उषाकिरणको बालुवाटारस्थित घरमा बस्दै आएकी छिन् ।
मदन भण्डारी फाउन्डेसनको कार्यालयमा आयोजित बुद्धिजीवीहरूसँगको बृहत् अन्तक्र्रियामा भण्डारीले भनिन्– घटना रहस्यमय छ, सामूहिक सहकार्य र एकताको विकल्प छैन
नवपुस्ताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाललाई निरन्तरता दिनुपर्छ भन्ने माग राखेर आन्दोलन गरे । उनीहरूको माग राम्रो थियो । जेन–जी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए । तर, एकैदिन ठुलो संख्यामा युवाहरूले ज्यान गुमाए ।
भोलिपल्ट ठुलै विध्वंसकारी घटनाहरू भए । सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतलगायत थुप्रै व्यवसायी र निजी भवन, नेताहरूका घर एकैचोटि खरानी भएका छन् । वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ । एकैदिन पूर्वदेखि पश्चिमसम्म जेन–जीले कसरी गर्न सके होला ? के यसरी आफ्नो माग पूरा होला ? यो रहस्यमय घटनाजस्तो भएको छ । नेपाली नागरिकले गम्भीर समीक्षा, छलफल गरेर कसरी देशमा शान्ति, स्थिरता कायम गर्दै समयानुकूल विकास बढाउने भन्ने संगीन घडीमा छौँ । सामूहिक भावना, सहकार्य, सामूहिकता नभई समस्या कसरी समाधन गर्न सक्छौँ ?
ईश्वरलाई कार्यवाहक बनाएर पार्टीमा फर्किने या बहुमतबाट महाधिवेशन फेस गर्ने रणनीति
अध्यक्ष ओली आफैँले कमजोरी आत्मसात् गर्दै मार्गप्रशस्त गरेर बदलिएको परिस्थितिमा पार्टी पुनर्गठनको सन्देश दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष दिनुपर्ने भण्डारी समूहको मत छ । यसो हुँदा सदस्यता नवीकरण नगर्ने पार्टीको निर्णय उल्ट्याएर राजनीतिमा फर्किन सहज हुने भण्डारीको बुझाइ छ ।
भण्डारीनिकट नेता विनोद ढकालले अध्यक्षले जेन–जी आन्दोलनको मर्मअनुसार पुनर्गठनको प्रक्रियाका लागि योगदान नगरे पार्टीले सचिवालय र केन्द्रीय कमिटी बैठकमार्फत त्यो काम सम्पन्न गर्नुपर्ने बताए । ‘हामी पछिल्लो परिस्थितिलाई आत्मसात् गरेर पार्टी पुनर्गठनको पक्षमा उभिएका छौँ । त्यसैले अब अध्यक्षले स्वाभाविक प्रक्रियाबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिनुपर्छ । यस विषयमा अध्यक्षले सोच्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘नभए दसैँआसपास या दसैँलगत्तै सचिवालयको बैठकबाट छलफल गरेर पार्टीलाई पुनर्गठनको दिशातिर लैजानुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलबाट पनि तल आउने विकल्पमा सोचेर छलफल गर्दा सहमतिको सम्भावना नदेखिएको भण्डारी र उनीनिकट नेताहरूको बुझाइ छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्–भण्डारीले नेतृत्व लिने होइन, हस्तान्तरण र पुस्तान्तरणका लागि अभिभावकको भूमिका खेल्नुपर्छ
जेन–जी आन्दोलनको भावनालाई बुझेर उहाँ (विद्या भण्डारी)ले अब आफूले नेतृत्व लिनेभन्दा पनि जडतालाई चिर्नका लागि अभिभावकीय भूमिका खेलेर योगदान गर्नु उपयुक्त हुन्छ । उहाँले पार्टी र नेतृत्वलाई जडताबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा भूमिका खेल्न सक्नुपर्छ । अहिलेको सन्दर्भमा यी काम गर्न पार्टी सदस्यता लिएर पार्टीमै फर्किएर गर्ने कि बाहिर बसेर गर्ने त्यो उहाँको व्यक्तिगत निर्णयको कुरा भयो ।