इरानको अध्यागमन थुनामा रहेर हालै रिहा भएका पाँच नेपाली बिहीबार नेपाल आइपुगेका छन् । इजरायल–इरान युद्धअघि नै थुनामा रहेका उनीहरू युद्धपछि रिहा भएका थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू काठमाडौं आइपुगेको जानकारी दिएका छन् ।
स्वदेश फिर्ता भएकाहरूमा महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगी छन् । जेलमुक्त भएपछि उनीहरूलाई तेहरानको एउटा सेल्टरमा राखिएको थियो ।
दोहास्थित नेपाली दूतावासले उनीहरूलाई आवश्यक ट्राभल डकुमेन्टको बन्दोबस्त गरेको थियो । युद्धअघि इरानमा जम्मा १६ नेपाली नागरिक थिए । युद्धकै क्रममा इरानबाट भारतीय सहयोगमा नौ नेपाली स्वदेश फर्किसकेका छन् । परराष्ट्रले इरान र इजरायलमा हाल स्थिति सामान्य भएको पनि जनाएको छ ।